संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनः कसले के भने ?

९ असोज ८३, शुक्रबार
Share this
705shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा शुक्रबार बिहान गरेको सम्बोधनलाई लिएर विभिन्न प्रतिक्रिया सार्वजनिक भइरहेका छन्। पूर्वप्रधानमन्त्री, राजनीतिज्ञ, पत्रकार, कवि तथा लेखकदेखि सर्वसाधारणसम्मले सम्बोधनबारे आ–आफ्ना धारणा सार्वजनिक गरेका छन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बालेनको सम्बोधनको समग्र अन्तरवस्तु र प्रस्तुति ठीक रहेको बताएका छन्। शैली र आस्था सबैको फरक हुने उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बधाइ छ।’

Advertisement

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री शाहको सम्बोधन यात्राको सुरुआत मात्रै भएको बताएकी छन्। जलवायु विपत् र मानवीय संकटका विषय विश्वमञ्चमा उठाउने प्रयास सफल भएको उल्लेख गर्दै उनले अब निरन्तर छलफल, बैठक र समन्वय आवश्यक रहेको बताएकी छन्। हतियार सहजै सीमा पार गर्ने तर किसानले आवश्यक पर्दा मल र इन्धनसमेत किन्न नपाउने विषय प्रधानमन्त्रीले उठाएको भन्दै उनले त्यसलाई पनि महत्त्वपूर्ण विषयका रूपमा उल्लेख गरेकी छन्।

कवि मनु मञ्जिलले प्रधानमन्त्री शाहको सम्बोधन आफूलाई गम्भीर र प्रभावशाली लागेको बताएका छन्। सम्बोधन दुईपटक ध्यानपूर्वक सुनेको उल्लेख गर्दै उनले नेपालले भोगिरहेको जनधनको क्षति, बाढीको हिलोमा आफन्त खोजिरहेका नागरिकका पीडा, पग्लिँदै गएका हिमाल तथा बगेका विद्यालय, पुल र सडकका विषय प्रधानमन्त्रीले विश्वमञ्चमा उठाएको बताएका छन्।

Advertisement

करिब तीन वर्षअघि नेपाल भ्रमण गरेका संयुक्त राष्ट्रसंघका महासचिवले ‘संसारको छानो खस्तै छ’ भनेको प्रसंग स्मरण गर्दै शाहले वातावरणविद्, वैज्ञानिक र आम नागरिकले उठाउँदै आएको विषय विश्वका राजनीतिक नेतृत्वसमक्ष राखेको मञ्जिलले बताएका छन्।पत्रकार सुधीर शर्माले प्रधानमन्त्री शाहको सम्बोधनको अन्तरवस्तु समग्रमा ठीक र सन्तुलित रहेको बताएका छन्। उनका अनुसार नेपालको भावना, भोगाइ र प्रस्तावहरू शालीन ढंगले प्रस्तुत भएका छन्। सम्बोधनको अन्त्यमा नेपाली भाषाको प्रयोग पनि राम्रो भएको उनले बताएका छन्। यद्यपि, केही अभ्यास गरेर गएको भए हाउभाउ र आत्मविश्वास पनि विषयवस्तुजत्तिकै प्रभावशाली देखिन सक्ने उनको टिप्पणी छ।

लेखक, पत्रकार एवं वातावरण विज्ञानका जानकार रमेश भुसालले भने प्रधानमन्त्रीको सम्बोधन अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको बताएका छन्। भाषणको डेलिभरी र कन्टेन्ट दुवै कमजोर रहेको भन्दै उनले तयारी, आत्मविश्वास र विषयवस्तुमा सुधार आवश्यक रहेको बताएका छन्। समस्या अंग्रेजी भाषाको नभई प्रस्तुति, आवाज, आत्मविश्वास र कन्टेन्टको भएको उनको भनाइ छ।

Advertisement

एमाले नेता गोकुल बाँस्कोटाले भने प्रधानमन्त्री शाहको सम्बोधन आफूलाई मन परेको बताएका छन्। ‘बालेनको राष्ट्रसंघमा गरेको सम्बोधन दृढ, सार्थक र जोडदार लाग्यो,’ सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘तर म रास्वपा होइन, उनले देशको भावना बोले। मैले खुसी मनले समर्थन गरेँ।’

पूर्वपत्रकार एवं राजनीतिज्ञ रवीन्द्र मिश्रले पनि प्रधानमन्त्री शाहको सम्बोधन आफूलाई राम्रो लागेको बताएका छन्। विषयवस्तु र प्रस्तुति अझ राम्रो हुन सक्ने भए पनि प्रधानमन्त्रीको पृष्ठभूमि, स्वभाव, छोटो भाषण गर्ने बानी, विश्वमञ्चमा पहिलो अनुभव र टेलिप्रम्प्टरको प्रयोगलगायत पक्षलाई हेर्दा उनले राम्रो ढंगले सम्बोधन गरेको मिश्रको भनाइ छ।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले ‘भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्, यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्’ भनेको प्रसंग पनि मिश्रले उल्लेख गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top