काठमाडौंका नदी–खोलामा सीडीओ र एसपीको निगरानी, च्यासल पुल र टेकु दोभानमा जोखिम

९ असोज ८३, शुक्रबार
Share this
714shares

काठमाडौं । निरन्तरको वर्षाका कारण काठमाडौंका नदी तथा खोलामा पानीको बहाव बढेपछि सुरक्षा निकायले निगरानी बढाएका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौड्यालको नेतृत्वमा सुरक्षा अधिकारीको टोलीले राजधानीका विभिन्न नदी तथा खोलाका पुल र जोखिम क्षेत्रको निरीक्षण गरेको छ।

Advertisement

प्रजिअ पौड्यालले समग्र उपत्यकाका नदी–खोलाको अवस्था सामान्य रहे पनि सम्भावित जोखिमको मूल्यांकन भइरहेको र सबै सुरक्षा निकाय उच्च सतर्कताका साथ परिचालन गरिएको नेपाल टाइम्सलाई जानकारी दिए। उनका अनुसार निरीक्षणका क्रममा दुई स्थानमा पानीको बहाव जोखिमको तहभन्दा माथि जान सक्ने देखिएको छ। तीमध्ये एक एमालेको पार्टी कार्यालयनजिकैको च्यासल पुल क्षेत्र हो। त्यहाँ नदीको बहाव बढेर पुलको सतहसम्म पुग्न थालेको उनले बताए।

मनोहरा, हनुमन्तेलगायतका खोलाको पानी बागमतीमा मिसिने भएकाले च्यासल क्षेत्रमा बहाव थप बढ्न सक्ने पौड्यालको आकलन छ। वर्षा नरोकिए जोखिम बढ्न सक्ने भन्दै उनले उक्त पुलको संरचनात्मक डिजाइनबारे पनि प्रश्न उठाएका छन्।‘सरसर्ती हेर्दा यो पुलको स्ट्रक्चरल डिजाइनमै डिफल्ट आएको हो कि भन्ने लागेको छ,’ पौड्यालले भने, ‘पानीको बहाव कतिसम्म हुन सक्छ भन्ने अनुमान नै नगरी पुल बनाइएको देखियो।’

Advertisement

उनका अनुसार अर्को जोखिम क्षेत्र टेकु दोभान हो, जहाँ विष्णुमती र बागमती नदीको संगम हुन्छ। उक्त क्षेत्रमा बागमतीको बहाव बढिरहेको भन्दै नदी आसपासका नागरिकलाई सतर्क रहन र खोलाबाट टाढा जान आग्रह गरिएको उनले बताए।

पौड्यालले यसअघि जोखिमपूर्ण अवस्थामा रहेका नदी–खोला किनारका सुकुम्बासी बस्ती हटाइसकिएकाले मानवीय जोखिम कम भएको बताए। पुल तथा अन्य जोखिमयुक्त क्षेत्रमा निरन्तर निगरानी भइरहेको र सुरक्षाकर्मीलाई चौबीसै घण्टा परिचालन गरिएको उनको भनाइ छ।‘बल्खु खोला क्षेत्रमा पोहोर सालको भन्दा अहिले नदी करिब ६ देखि ७ फिट तल छ। पोहोर तरकारी बजारसमेत डुबेको थियो। अहिले त्यस्तो नहोला भन्ने छ,’ पौड्यालले भने, ‘यद्यपि, हामीले उच्च सतर्कता अपनाउनुपर्छ र क्षति रोक्न सकिन्छ भनिरहेका छौँ।’

Advertisement

मानवीय जोखिम हुन नदिन उच्च सतर्कता अपनाइएको भन्दै उनले टोल–टोलमा माइकिङ गरेर नागरिकलाई सचेत गराइरहेको बताए। ‘नागरिक अलर्ट हुनेबित्तिकै ९० प्रतिशत उपलब्धि हासिल भइहाल्छ,’ उनले भने।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top