९ असोज , काठमाण्डौ।
मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि ११ गतेसम्म भारी वर्षा हुनसक्ने र त्यसको असर देशैभर पर्नसक्ने चेतावनी दिएपछि तिनै तहका सरकारले जोखिम र क्षति कम गर्ने पूर्वतयारी गरिरहेका छन् ।
आम नागरिक पनि चनाखो बनेका छन् । महाशाखाका अनुसार देशभर वर्षाको संभावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको जोखिम छ। मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा रातो संकेत गरिएको छ। ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ र मुस्ताङलाई उच्च जोखिममा राखिएको छ।
अन्य धेरै जिल्लामा पनि भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ। असोज १० गते भने जोखिम पश्चिमतर्फ सर्ने देखिएको छ। कर्णाली र सुदूरपश्चिमका डोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालिकोट, बाजुरा, बझाङ, हुम्ला र दार्चुलालाई रातो संकेत गरिएको छ।

लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा र बैतडीमा पनि सतर्क रहन भनिएको छ।
असोज ११ गते भने अघिल्ला तीन दिनको तुलनामा वर्षा केही कम हुने सम्भावना छ। त्यस दिन बागमतीभन्दा पश्चिमका जिल्लालाई पहेँलो संकेत गरिएको छ। बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण विगत दुई दिनदेखि नेपालका धेरैजसो भूभागमा वर्षा भइरहेको छ भने यो प्रणाली क्रमिक रूपमा पश्चिमतर्फ सर्दै जाने क्रममा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा रहेको यो प्रणालीका कारण नेपालका धेरैजसो स्थानमा वर्षा भइरहेको छ र आगामी दिनमा यसको प्रभाव विशेष गरी देशका पश्चिमी भूभागहरूमा बढी पर्नेछ ।
विगत २४ घण्टाको विवरण अनुसार देशका अधिकांश स्थानहरू, विशेष गरी कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ । लुम्बिनी र गण्डकी प्रदेशका क्षेत्रहरूमा तुलनात्मक रूपमा अलि बढी वर्षा मापन गरिएको छ ।
त्यसैगरी पाल्पाको अर्चली मौसम मापन केन्द्रमा १४० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ भने अन्य धेरै भूभागहरूमा भारी वर्षा भएको छ । निरन्तरको झरी र भारी वर्षाका कारण पहाडी क्षेत्रहरूमा पहिरो जान सक्ने तथा नदीहरूमा बाढी आउन सक्ने उच्च जोखिम रहेकाले सर्वसाधारण र सम्बद्ध निकायहरूलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन विभागले आग्रह गरेको छ ।
मौसम पूर्वानुमान अनुसार आज असोज ९ गते तथा भोलि र पर्सि बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको प्रभाव बढी रहनेछ । असोज १० गते शनिबारदेखि पूर्वी क्षेत्रहरू कोशी, मधेश र बाग्मती प्रदेशमा क्रमिक रूपमा वर्षा कम हुँदै मौसममा सुधार आउनेछ भने सोही दिन रातिदेखि पश्चिमी भूभागहरूमा वर्षाको प्रभाव अझ बढ्दै जानेछ ।
असोज ११ गते आइतबार पूर्वी नेपालको मौसममा उल्लेख्य सुधार आउनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षा कायमै रहनेछ । त्यसैगरी असोज १२ गते सोमबार सुदूरपश्चिमका केही भूभागमा बिहान सामान्य वर्षा भए पनि दिउँसोदेखि मौसममा सुधार आउनेछ र असोज १३ गतेदेखि देशैभरिको मौसम सामान्य बन्दै जाने अनुमान गरिएको छ ।
हाल देशभर धान भित्र्याउने समय भएकाले मौसम विज्ञान विभागले विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका किसानहरूलाई आगामी एक–दुई दिन धान नकाट्न र मौसममा सुधार आएपछि मात्र कटानीको योजना बनाउन विशेष अनुरोध गरेको छ ।
आगामी दुई–तीन दिनसम्म बाढी र पहिरोको जोखिम रहने हुनाले उच्च सतर्कता अपनाउन अपिल गर्दै विभागले थप मौसमी सूचनाका लागि आफ्नो आधिकारिक वेबसाइट, फेसबुक पेज ‘नेपाल वेदर फोरकास्ट वा टोल–फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिने जनाएको छ ।
यता काठमाडौं उपत्यकाभित्रका नदीमा बाढीको सतह बढ्न थालेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आह्वान गरेको छ । ललितपुरको च्यासलमा अवस्थित पुल बाढीले छोएको छ । बाढीले पुल छोएपछि ट्राफिक प्रहरीले पुलबाट आउजाउ गर्न रोक लगाएको छ ।
उपत्यकाभित्रका नदीहरूमा बाढीको सहत बढेपछ प्रहरीले माइकिङ गर्दै करिडोरमा यात्रा नगर्न आह्वान समेत गरेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता नरेशराज सुवेदीले भने, ‘काठमाडौंका खोला–नदीहरूमा जलसतह बढेपछि तटीय क्षेत्रहरूमा पनि निगरानी बढाइएको छ ।
करिडोरमा यात्रा नगर्न भन्दै माइकिङ गरिएको छ ।’ उनले खोला तथा नदी किनारका सडकमा पार्किङ गरिएका सडकहरूलाई पनि हटाउन भनिएको जानकारी दिए । च्यासल पुल लगायतका जोखिमयुक्त स्थानमा प्रहरीहरू पनि खटाइएको उनले बताए ।
नेपाल मौसम विज्ञान विभागका मौसमविदहरुका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा वर्षा भइरहेको छ । यो प्रणाली पूर्वबाट क्रमशः पश्चिमतिर सर्दै गएको छ । त्यसैले भोलिबाट पूर्वको तुलनामा बागमतीदेखि पश्चिमतर्फका जिल्लामा बढी पानी पर्ने सम्भावना रहेको मौसमविद रोजन लामिछानेले जानकारी दिए ।
निरन्तरको वर्षाका कारण काठमाडौंसहित देशभरि प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार आज कतिपय विमानस्थलमा भिजिविलिटीको समस्या छ । जसले गर्दा तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थलका उडानहरू प्रभावित भएका छन् ।
तुम्लिङटारमा बुद्ध एयरको निर्धारित उडान रद्द भएको छ । भरतपुरका लागि बुद्ध एयरका मात्र तीन उडान रद्द भइसकेका छन् । पोखराको समेत अनुकूल मौसम पर्खाइमा उडानहरू डिले भएका छन् । अन्य गन्तब्यमा भने उडान भइरहेको छ । अन्तर्राष्ट्रिय उडानहरू भने अहिले सामान्य भइरहेका छन्।
विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएका हुन् । देशका विभिन्न भागबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने राजमार्ग बन्द हुँदा जनजीवनमा भने समस्या बढ्दै गएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाडौँ जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक बस काठमाडौँमै रोकिएको जानकारी दिए । उनका अनुसार हाल पृथ्वी राजमार्ग र बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
काठमाडौँबाट हेटौँडा जाने फर्पिङको बाटो भने सञ्चालन भएकाले साना सवारीसाधन आवतजावत भइरहेको प्रवक्ता सुवेदीले बताए । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले बिहीबार साँझदेखि गोङ्गबुस्थित नयाँबसपार्कमा सार्वजनिक यातायात रोकिएको जानकारी दिए ।
यस्तै, बिहीबार बिहानैदेखि मुलुकको सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा अविरल वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौँ उपत्यका भित्रका नदी क्रमशः बढ्न थालेका छन् । नदी बढेसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नदीका करिडोरमा सवारी नरोक्न तथा पार्किङ नगर्न भन्दै माइकिङ गरेको छ ।
यसैगरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पनि भारी वर्षा हुने र राजमार्गमा पहिरो जानसक्ने भन्दै आवश्यक ध्यान दिन सवारी चालकलाई आग्रह गरेको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरका १८ सडकखण्ड अवरुद्ध भएका छन् ।
गृह मन्त्रालयअन्तर्गतको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखाका अनुसार, ती सडकहरू बाढी र पहिरोका कारण अवरुद्ध भएका हुन् । सिद्धिचरण लोकमार्गकस्थित ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६, भँडारे खोलामा आएको बाढीका कारण उक्त सडक अवरुद्ध भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१, गुप्तबराहमा पहिरो जाँदा चतरा–बराहक्षेत्र सडक अवरुद्ध भएको छ । पाँचथरको याङवरक गाउँपालिका–२, दोभानेमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । रसुवाको बारा घुम्तीदेखि रसुवागढीसम्म बाढीका कारण पासाङल्यामु राजमार्ग अवरुद्ध भएको शाखाले जनाएको छ । रसुवाको त्रिशूली–बेत्रावती–खाल्टे–मैलुङ–स्याफ्रुबेसी टिमुरे–रसुवागढीका सडकहरू पनि बाढीका कारण अवरुद्ध छन् । नुवाकोटको त्रिशूलीबाट बेत्रावतीसम्मको मैलुङ–स्याप्रुबेसी सडक बाढीले गर्दा अवरुद्ध छ ।
धादिङको गजुरी गाउँपालिका–२, फुर्केखोलामा सडक अवरुद्ध छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७, कृष्णभीर र वडा नं. १० तिङराङखानीमा आएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको शाखाले जनाएको छ । ललितपुरको गोदावरी नगरपालिका–६, बिर्खेधारामा पहिरो गएका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । ललितपुरको वाग्मती गाउँपालिका–३, भट्टेडाँडा हुँदै जाने पाङदुरडोल र टाकुर्चेमा पहिरो जाँदा कान्ति लोकपथ अवरुद्ध छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८, खहरे खोल्सामा लेदो आउँदा कान्ति लोकपथ अवरुद्ध भएको छ ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२, सिमखोलामा पहिरो खस्दा कुलेकानी–सिस्नेरी सडक अवरुद्ध भएको छ । काभ्रेको रोसी गाउँपालिका–७, चारसयबेसी र वडा नं.८ गिम्दीबेसीमा पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध भएको शाखाले जनाएको छ ।
नवलपरासी पूर्वको त्रिवेणी गाउँपालिका–२, चौसठ्ठी मोडमा पहिरो जाँदा पूर्व–पश्चिम राजमार्ग सडक अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२, राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध छ ।
रोल्पाको माडी गाउँपालिका–२, ब्याङखोलामा पहिरा खस्दा घोराही–थवाङ सहिदमार्ग सडक अवरुद्ध छ । पाल्पाको तिनाउ गाउँपालिका–५, चरचरेमा पहिलो जाँदा सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको शाखाले जनाएको छ ।
अविरल वर्षाका कारण काठमाडौं आउजाउ गर्ने मुख्य राजमार्गहरू अवरुद्ध छन् । काठमाडौं आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथ बन्द छन् । यी राजमार्गहरूमा ठाउँठाउँमा पहिरो खसेका कारण बिहानैदेखि सवारीसाधनहरू गुड्न सकेका छैनन् ।
वर्षा नरोकिएका कारण सम्बन्धित जिल्लाका प्रशासन कार्यालयहरूले सवारी सञ्चालनमा रोक लगाएका छन् । काठमाडौंको लाइफलाइन मानिने त्रिभुवन राजपथ (हेटौँडा–नौबिसे–काठमाडौं) सडक एकतर्फी मात्रै सन्चालनमा छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता नरेशराज सुवेदीले अत्यावश्यक सामग्री काठमाडौं ल्याउनका लागि त्रिभुवन राजपथ एकतर्फी खुला राखिएको बताए । ‘काठमाडौं हुँदै जाने गाडीहरुलाई त्रिभुवन राजपथ प्रयोग गर्न दिइएको छैन, मकवानपुरतिरबाट आउनमात्र दिइएको छ,’ उनले भने, ‘काठमाडौंमा अत्यावश्यक सामग्रीहरु ल्याउन सहज होस् भनेर त्रिभुवन राजपथ एकतर्फी गरिएको हो ।’
ट्राफिक प्रहरीका अनुसार साना गाडीहरुका लागि टोखा छहरे र साँखु हुँदै आउजाउ गर्ने बाटो पनि खुला छ । तर काठमाडौंका लागि अत्यावश्यक खाद्यान्न र इन्धन ढुवानीका लागि त्रिभुवन राजपथ मात्र एकतर्फी खुला राखिएको छ । लगातार भइरहेको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन नागढुंगामा होल्ड गरिएको छ।
बिहीबार साँझ ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक सवारीसाधन, मोटरसाइकललगायत सम्पूर्ण सवारीसाधन नागढुंगा क्षेत्रमा रोकिएको हो। वर्षाका कारण सडकमा हुनसक्ने पहिरो, ढुंगा खस्ने तथा सडक अवरुद्ध हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कताका रूपमा सवारीसाधन रोकिएको जनाइएको छ ।
नागढुंगा–नौबिसे सडकखण्ड हुँदै धादिङ, चितवन, पोखरा, गोरखालगायत विभिन्न जिल्लातर्फ जाने सवारीसाधनलाई नागढुंगामै रोकेर राखिएको छ। लामो दूरीका यात्रुवाहक बस तथा मालवाहक सवारीसाधनसमेत होल्डमा परेपछि यात्रु तथा चालकहरू प्रभावित भएका छन् ।
अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ४ः३० बजे बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच, जल तथा मौसम विभागको प्रक्षेपणलाई मध्यनजर गर्दै बिहीबारदेखि रातको समयमा बिपी राजमार्गअन्तर्गत काभ्रे सडकखण्डलाई बन्द गराइएको छ । जिल्ला प्रशासन कार्यालयले बाढीपहिरोको अवस्था हेरी दिउँसो पनि बन्द गर्नसक्ने जनाएको छ भने हाललाई आइतबारसम्म रातको समयमा सवारी आवागमनमा रोक लगाएको हो ।
कार्यालयको बैठकको निर्णयअनुसार बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइने भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । बिहीबारदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा खसेको पहिरो र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सडक बन्द गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहीबार राति ८ बजेदेखि आज बिहान ५ बजेसम्म ती राजमार्गमा सवारी आवागमन रोकिएकामा निरन्तर वर्षा भएपछि अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो ।
पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेकाले चितवन खण्डमा सवारी आवागमन रोकिएको उनले जानकारी दिए । नारायणगढ–मुग्लिन सडक हुँदै दैनिक रुपमा १० हजारभन्दा बढी र पृथ्वी राजमार्ग हुँदै १४ हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुने गरेका छन् ।
अविरल वर्षाका कारण ल्याण्डफिल साइटतर्फ जाने सडक प्रभावित भएपछि काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले नगरवासीहरूलाई घरको फोहोर बाहिर ननिकाल्न अनुरोध गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै महानगरले निरन्तरको वर्षाका कारण फोहोर ढुवानी गर्ने सडक तथा ल्याण्डफिल साइटमा माथिबाट लेदोसहितको माटो खसिरहेकाले विसर्जन कार्यमा गम्भीर असहजता उत्पन्न भएको जनाएको हो ।
सूचनामा केही समयका लागि फोहोर संकलन तथा ढुवानी प्रभावित हुन सक्ने भएकाले महानगरवासी, घरधनी, व्यवसायी र सम्बन्धित सबैलाई आफ्नो घर, पसल तथा कम्पाउण्डबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थल वा खोला–नाला जस्ता खुला स्थानमा नफाल्न आग्रह गरिएको छ ।
बागमती नदीको प्रवाह बढेपछी बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा पुगेको छ । अविरल वर्षाका कारण शुक्रबार सबा १२ बजेसम्म बागमती नदीको सतह बढेर बल्खुको तरकारी बजारको सडकमा प्रवेश गरेको हो । नदीमा पानीको मात्रा थप वृद्धि भएमा तरकारी बजारमा क्षति पुग्न सक्ने देखिएको छ ।
चितवन प्रशासनले नारायणगढ–पोखरा सवारी आवागमन खुला गरेको छ ।नारायणगढ–मुग्लिन सडखण्डमा झरेको पहिरो हटाएर पोखरातर्फको यात्रा खुला गरिएको हो । आज मध्याह्नदेखि नारायणगढबाट पोखराका लागि सवारी साधनहरु जान थालेका छन् ।
तर नारायणगढ–काठमाडौंको यात्रा भने बन्द नै गरिएको छ । पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न ठाउँमा पहिरो झरेकाले नारायणगढबाट मुग्लिन हुँदै काठमाडौंतर्फ आउ–जाउ गर्न रोक लगाइएको छ ।वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो झरेको प्रहरीले जनाएको छ ।
कतिपयप ठाउँमा पहिरो पन्छाइसकिएको र कतिपय ठाउँमा पन्छाउने काम जारी रहेको धादिङ प्रहरीले जनाएको छ । तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडकखण्डमा पहिरोका कारण यातायात प्रभावित भएको छ ।
तिनाउ नदीमा बाढी आएको छ । शुक्रबार बिहान ११ः३० बजे बुटवल जलमापन केन्द्रमा तिनाउको जलसतह सतर्कता तह पार भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढी बढ्दो क्रममा छ । आइतबार बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
“असोज ०९, बिहान ११ः३० बजे । तिनाउं नदी बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार रहेको र बाढी बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले पर्सि बिहानसम्म उच्च सतर्कता अपनाइराखौँ,” महाशाखाले भनेको छ । मौसमविद्हरुले सामान्यदेखि भारी र अतिभारीसम्म देशका विभिन्न स्थानमा वर्षा भइरहेको बताएका छन् ।



