९ असोज , काठमाण्डौ।
शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको अग्रणी व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका एक्स–५०००ई ६×४ विद्युतीय ट्र्याक्टर र एक्स–५०००ई ६×४ विद्युतीय डम्प ट्रक नेपालमा भित्र्याउने भएको छ ।
यी दुई मोडलमार्फत कम्पनीले नेपालको भारी तथा व्यावसायिक सवारीसाधन क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग विस्तार गर्ने लक्ष्य राखेको छ ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएसँगै यसको विस्तार यात्रुवाहक तथा हलुका व्यावसायिक सवारीसाधनबाट भारी सवारीसाधनतर्फ पनि हुन थालेको छ ।
यही क्रममा जगदम्बा मोटर्सले ढुवानी, निर्माण, खानी तथा अन्य भारी सामान ओसारपसार हुने क्षेत्रमा विद्युतीय सवारीसाधनको विकल्प उपलब्ध गराउन लागेको हो ।


एक्स–५०००ई विद्युतीय ट्र्याक्टर भारी सामान ढुवानी तथा व्यावसायिक यातायातका लागि तयार गरिएको हो ।
त्यस्तै, एक्स–५०००ई विद्युतीय डम्प ट्रक निर्माण, खानी तथा कठिन भौगोलिक क्षेत्रमा हुने कामका लागि डिजाइन गरिएको छ ।
दुवै सवारीसाधनमा स्याक्म्यानको विद्युतीय शक्ति प्रणाली प्रयोग गरिएको छ ।
दुवै मोडलमा छिटो चार्ज गर्न सकिने सुविधा रहेको छ ।
यसले व्यावसायिक प्रयोगकर्तालाई सवारीसाधन सञ्चालनको समय व्यवस्थापन गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।
साथै, सवारीसाधनमा स्मार्ट नियन्त्रण तथा ब्याट्री व्यवस्थापन प्रणाली रहेको छ, जसले विभिन्न कार्य वातावरणमा प्रभावकारी र भरपर्दो सञ्चालनमा सहयोग गर्नेछ ।
यी दुई मोडलको आगमनसँगै जगदम्बा मोटर्स नेपालमा भारी विद्युतीय व्यावसायिक सवारीसाधनको क्षेत्रमा प्रवेश गर्ने भएको छ ।
व्यावसायिक तथा औद्योगिक यातायातका लागि विद्युतीय विकल्पको खोजी भइरहेको अवस्थामा यी सवारीसाधनले नेपाली बजारमा नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ ।
एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प ट्रकको सार्वजनिक, उपलब्धता तथा मूल्यसम्बन्धी थप विवरण जगदम्बा मोटर्सले आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ ।



