काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ। आयोगका अनुसार घटनाको अनुगमनका लागि आयोगका एक सदस्यको नेतृत्वमा उच्चस्तरीय टोली आइतबार टेकुस्थित प्रहरी परिसर पुगेको थियो। तर, प्रहरीबाट आयोगको टोलीलाई जबरासँग भेट गरी घटनाबारे जानकारी लिन रोक लगाइएको आयोगले जनाएको छ।
अनुगमनका लागि प्रहरीको उच्च नेतृत्वसँग कुराकानी गर्दा आयोगको टोलीलाई अनुगमन गर्न नदिइनुको कारणसमेत स्पष्ट रूपमा जानकारी नगराइएको आयोगको भनाइ छ। राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४(क) मा आवश्यकता अनुसार सार्वजनिक तथा निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्ने र मानव अधिकार संरक्षणका लागि आवश्यक सुधारबारे सम्बन्धित निकायलाई सुझाव तथा निर्देशन दिन सक्ने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ।
आफूलाई प्राप्त संवैधानिक तथा कानुनी अधिकार विपरीत प्रहरीले गरेको व्यवहारप्रति आयोगले खेद व्यक्त गरेको छ। आयोगले घटनाको निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ। साथै, आयोगलाई प्राप्त संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्नसमेत आग्रह गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उक्त आग्रह गरिएको हो।




