जेनजी अगुवा माजिद अन्सारीको प्रश्न- जबरालाई कुन जेन–जीबाट सुरक्षा थ्रेट ?

११ असोज ८३, आइतबार
Share this
761shares

काठमाडौं । जेन–जी अगुवा तथा कानुनका विद्यार्थी माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा खतरा रहेको भन्दै नियन्त्रणमा लिइएको घटनामाथि प्रश्न उठाएका छन्।अन्सारीले जेन–जी पुस्ताका व्यक्ति नै गृह मन्त्रालयको नेतृत्वमा रहेको र जेन–जीबाटै सांसद तथा मन्त्री बनेको अवस्थामा जबरालाई कुन जेन–जीबाट, कसरी र किन सुरक्षा खतरा भयो भन्ने प्रश्न गरेका हुन्।

Advertisement

‘जेन–जीका दादाहरूले गृह मन्त्रालय चलाइरहेको र थुप्रै जेन–जीहरू नै सांसद तथा मन्त्री भएको देशमा पूर्वप्रधानमन्त्री केपी ओलीलाई त जेन–जीहरूबाट कुनै थ्रेट नभएको अवस्थामा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कुन जेन–जीबाट कसरी र किन सुरक्षा थ्रेट भयो ?’ उनले प्रश्न गरेका छन्।अन्सारीले जबरालाई सुरक्षा खतरा दिने भनिएका व्यक्ति वा समूहको पहिचान गरी उनीहरूलाई पक्राउ गर्नुपर्ने बताए। नेपाल सरकारले उपलब्ध गराएका दर्जनौँ सुरक्षाकर्मीको सुरक्षा घेरामा रहेका पूर्वप्रधानन्यायाधीशलाई सुरक्षा खतरा दिन सक्ने व्यक्ति अहिलेसम्म किन पक्राउ परेनन् भन्ने उनको प्रश्न छ।

उनले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएका व्यक्तिहरूको नाममा सत्तामा पुगेपछि त्यही आन्दोलन र जेन–जी पुस्तालाई बदनाम गर्ने काम नगर्नसमेत आग्रह गरेका छन्।‘आफू जेन–जीको दादा र जेन–जीको नेता भएकोले राम्रो मन्त्रालय चाहिन्छ भनेर जेन–जी शहीद परिवार र घाइतेहरूको सिँढी चढेर सरकारमा जाने, अहिले उही जेन–जीलाई बदनाम गर्ने ?’ अन्सारीले प्रश्न गरेका छन्।जबरालाई सुरक्षा खतरा दिने भनिएका व्यक्ति पक्राउ पर्न नसकेको विषयमा पनि उनले प्रश्न उठाएका छन्। ‘आफ्नो असक्षमता लुकाउन कहिलेसम्म जेन–जीलाई बदनाम गर्नुहुन्छ ?’ उनले भनेका छन्।

Advertisement

अन्सारीले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई पनि भविष्यमा जेन–जी वा जेन–जीका नाममा रहेका समूहबाट सुरक्षा खतरा हुन सक्ने भन्दै त्यस्तो अवस्थामा सुरक्षा खतरा दिने व्यक्तिलाई पक्राउ गर्ने कि सुरक्षा खतरा भएको व्यक्तिलाई नियन्त्रणमा लिने भन्ने प्रश्न गरेका छन्।उनले जबरालाई प्रहरीले पक्राउ गरेको हो वा सुरक्षा दिएको मात्रै हो भन्ने विषयमा समेत सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्। ‘पक्राउ गरिएको हो भने प्रहरीको तर्फबाट हामीले पक्राउ गरेका होइनौँ किन भनिएको हो ? पक्राउ गरिएको हो भने जरुरी पक्राउ पुर्जी कहाँ छ ?’ उनले प्रश्न गरेका छन्।

जबरालाई पक्राउ नगरी सुरक्षा मात्रै दिइएको हो भने उनको इच्छाविपरीत अदालतको अनुमति बिना प्रहरी नियन्त्रणमा कुन कानुन, प्रक्रिया वा अदालतको आदेशका आधारमा राखिएको हो भन्नेबारे पनि सरकारले स्पष्ट पार्नुपर्ने अन्सारीको भनाइ छ।कसको आदेशमा जबरालाई नियन्त्रणमा लिइएको हो, त्यसमा गृहमन्त्री र प्रहरी प्रमुखको सहमति थियो कि थिएन तथा पक्राउ पुर्जी वा जरुरी पक्राउ पुर्जीबिना नियन्त्रणमा लिनु कानुनसम्मत हो भन्ने विषयमा सुरक्षाकर्मी जानकार थिए कि थिएनन् भन्ने प्रश्नसमेत उनले उठाएका छन्।‘यो देशमा पूर्वप्रधानन्यायाधीशलाई त पक्राउ पुर्जीबिना नियन्त्रणमा लिन सकिने रहेछ भने आम नागरिकको ज्यू–ज्यानमाथि गैरकानुनी नियन्त्रण हुँदैन भन्ने ग्यारेन्टी कसले दिने ?’ अन्सारीले प्रश्न गरेका छन्।उनले अन्त्यमा नेपालमा कानूनको राज्य कायम छ कि सत्तामा रहेका व्यक्तिको हठअनुसार शासन चलिरहेको छ भन्ने प्रश्नसमेत गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top