काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति र अनुशासनविपरीत जाने तथा अराजकता फैलाउने नेता–कार्यकर्तामाथि अब कडा कारबाही गरिने बताएका छन्। मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले हालै सम्पन्न तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई पार्टीभित्रको सन्देह अन्त्य गर्ने ‘कट-अफ डेट’का रूपमा लिएको बताए।
उनले ‘लोकतन्त्रको पुनर्वहाली’ र आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारीलाई पार्टीको मुख्य कार्यभारका रूपमा अघि सारिएको बताए। निर्वाचनमा केन्द्रित हुनुपर्ने भन्दै उनले अहिले पार्टीभित्र गुटबन्दी र विवाद गर्ने समय नभएको बताए। ओलीले पार्टी संगठन पुनर्गठन, डिजिटल अभिलेख व्यवस्थापन र नयाँ सदस्यता वितरणलाई तीव्रता दिन निर्देशन दिए। नेता–कार्यकर्ताको मूल्यांकन ज्येष्ठताका आधारमा नभई काम र योगदानका आधारमा गरिने उनको भनाइ थियो।
फागुनको निर्वाचनमा पार्टीले बेहोरेको क्षति बाह्य आक्रमण, योजनाबद्ध विध्वंस र आन्तरिक कमजोरीका कारण भएको दाबी गर्दै ओलीले तथ्य र प्रमाणका आधारमा भ्रम चिर्न डिजिटल अभियान सञ्चालन गरिने बताए। अन्य दलसँग पार्टी एकताको चर्चा अनावश्यक रहेको बताउँदै उनले चुनावी तालमेल वा विषयगत कार्यगत एकता भने हुन सक्ने उल्लेख गरे। नेताहरूलाई कार्यक्षेत्रमै खटिएर संगठन निर्माणमा जुट्नसमेत उनले निर्देशन दिए।




