१४ असोज , काठमाण्डौ।
विदेशको सपना देख्ने धेरैको सपनाको देश हो,अस्ट्रेलिया। राम्रो कमाइ, सुरक्षित भविष्य, आधुनिक जीवनशैली र घरजग्गामा लगानी गर्न सकिने अवसरका कारण अस्ट्रेलिया नेपालीसहित विश्वका धेरै मानिसका लागि आकर्षणको केन्द्र बनेको छ।तर अहिले यही अस्ट्रेलियाको अर्थतन्त्रसँग जोडिएको घरको मूल्य घट्न थालेपछि चिन्ताको विषय बनेको छ।
घरको मूल्यमा आएको गिरावटले अस्ट्रेलियाली परिवारको कुल सम्पत्तिमा एक ट्रिलियन अस्ट्रेलियन डलरभन्दा बढीको असर पर्न सक्ने अनुमान गरिएको छ। यो रकम सुन्दा निकै ठूलो लाग्छ। तर यसको अर्थ अस्ट्रेलियाली परिवारको बैंक खाताबाट एकैपटक एक ट्रिलियन डलर गायब हुने भन्ने होइन।

यो घरजग्गाको बजार मूल्य घट्दा कागजी रूपमा सम्पत्तिको मूल्यमा आउने कमी हो। तर घरको मूल्यमा आएको यस्तो गिरावटलाई सामान्य घटनाका रूपमा मात्र हेर्न सकिँदैन। किनभने अस्ट्रेलियाली परिवारको सम्पत्तिको ठूलो हिस्सा घरजग्गामै जोडिएको छ।
विगत डेढ दशकलाई फर्केर हेर्ने हो भने अस्ट्रेलियामा घरको मूल्य कति तीव्र गतिमा बढेको थियो भन्ने पनि बुझ्न सकिन्छ। सन् २०११ को सेप्टेम्बर त्रैमासिकमा अस्ट्रेलियाको औसत आवासीय सम्पत्तिको मूल्य करिब ४ लाख ९१ हजार अस्ट्रेलियन डलर थियो।

तर सन् २०२६ को जुन त्रैमासिकसम्म आइपुग्दा यही औसत मूल्य ११ लाख अस्ट्रेलियन डलरभन्दा केही माथि पुगेको छ। अर्थात् करिब १५ वर्षमा औसत घरको मूल्य दोब्बरभन्दा बढी भएको छ।घरको मूल्यमा भएको यही वृद्धिले अस्ट्रेलियाली परिवारको सम्पत्ति बढाउन ठूलो भूमिका खेलेको थियो।
घरको मूल्य बढ्दै जाँदा घरधनीको कुल सम्पत्ति पनि बढ्यो। घरलाई धितो राखेर ऋण लिन सक्ने क्षमता बढ्यो। र, धेरै परिवारका लागि घर केवल बस्ने ठाउँ मात्र नभएर सम्पत्तिको सबैभन्दा ठूलो आधार बन्यो। तर अहिले तस्वीर विस्तारै बदलिन थालेको छ।
देशका पाँच ठूला सहरको आवासीय बजारमा घरको मूल्य यसअघि पुगेको उच्चतम स्तरबाट औसतमा करिब ६ प्रतिशतले घटिसकेको विश्लेषण गरिएको छ। म्याक्रो बिजनेसको विश्लेषणमा उल्लेख गरिएअनुसार, बहुराष्ट्रिय बैंक एचएसबीसीले अस्ट्रेलियाका संयुक्त राजधानी सहरमा घरको मूल्य उच्चतम बिन्दुबाट करिब १३ प्रतिशतसम्म घट्न सक्ने प्रक्षेपण गरेको छ।
यही १३ प्रतिशत गिरावटलाई आधार मान्ने हो भने प्रभाव निकै ठूलो देखिन्छ। सन् २०२६ को मार्च त्रैमासिकमा अस्ट्रेलियाको कुल आवासीय सम्पत्तिको मूल्य करिब १२.२ ट्रिलियन अस्ट्रेलियन डलर पुगेको थियो।
अब यही सम्पत्तिको मूल्यमा १३ प्रतिशत गिरावट आयो भने, घरको संख्या बढिरहेको अवस्थामा पनि कुल आवासीय सम्पत्तिको बजार मूल्यमा एक ट्रिलियन डलरभन्दा बढीको कमी आउन सक्छ। तर यहाँ एउटा कुरा बुझ्न आवश्यक छ। यो एक परिदृश्यमा आधारित अनुमान हो, निश्चित रूपमा हुने क्षतिको घोषणा होइन।
घरको मूल्य १३ प्रतिशतले घट्यो भन्दैमा घरधनीको हातबाट त्यति नै रकम बाहिरिँदैन। उदाहरणका लागि, कुनै घरको बजार मूल्य १० लाख डलरबाट घटेर ८ लाख ७० हजार डलर भयो भने घरधनीको बैंक खाताबाट १ लाख ३० हजार डलर काटिँदैन। तर उनको घरको बजार मूल्य भने त्यति घटेको हुन्छ।
यही कारणले यस्तो अवस्थालाई ‘सम्पत्तिको मूल्यमा आएको गिरावट’ भनेर बुझ्नुपर्छ। तर यसको असर केवल कागजमा सीमित रहँदैन। घरको मूल्य घट्दा परिवारले आफूलाई पहिलेभन्दा कम धनी महसुस गर्न सक्छ। घरलाई धितो राखेर थप ऋण लिने क्षमता घट्न सक्छ।
नयाँ घर खरिद गर्ने वा ठूलो खर्च गर्ने निर्णयमा परिवार बढी सतर्क हुन सक्छ। यसको असर उपभोक्ता खर्चमा पर्न सक्छ। र अन्ततः त्यसले समग्र अर्थतन्त्रको गतिलाई पनि प्रभावित गर्न सक्छ। अस्ट्रेलियाको अर्थतन्त्रका लागि अहिले अर्को चुनौती पनि थपिएको छ ,महँगी।
बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार, अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर अगस्टमा बढेर ४ प्रतिशत पुगेको छ। जुलाईमा यो दर ३.५ प्रतिशत थियो। अर्थात् एक महिनामै मुद्रास्फीतिको वार्षिक दर उल्लेख्य रूपमा बढेको देखिएको छ।
अर्थशास्त्रीहरूले भने अगस्टमा मुद्रास्फीति ४.१ प्रतिशत पुग्ने अनुमान गरेका थिए। त्यसैले वास्तविक तथ्यांक उनीहरूको अनुमानभन्दा केही कम भए पनि मूल्यवृद्धिको दबाब भने कायमै रहेको देखिन्छ। अझ महत्वपूर्ण कुरा, मुद्रास्फीतिको अन्तर्निहित अवस्था मापन गर्ने वार्षिक औसत दर लगातार तेस्रो महिनामा ३.६ प्रतिशतमा स्थिर रहेको छ।
महँगी बढ्नुको पछाडि आवास र यातायातको लागतले ठूलो भूमिका खेलेको छ। अगस्टसम्मको एक वर्षमा आवाससम्बन्धी मूल्य ५.७ प्रतिशतले बढेको छ। त्यस्तै, इन्धनको मूल्य बढ्दा यातायातसम्बन्धी मूल्य ५.६ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।
अब यहीँबाट अस्ट्रेलियाली अर्थतन्त्रको अर्को महत्वपूर्ण पक्ष जोडिन्छ ,ब्याजदर। अस्ट्रेलियाको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ अस्ट्रेलिया अर्थात् आरबीएले नगद ब्याजदर ४.३५ प्रतिशतबाट बढाएर ४.६० प्रतिशत पु¥याएको छ। यो सन् २०११ को नोभेम्बरयताकै उच्च दर हो ।
ब्याजदर बढ्नुको सीधा असर घर कर्जामा पर्न सक्छ । घर किनेका परिवारले तिर्नुपर्ने ऋणको लागत बढ्न सक्छ। नयाँ घर किन्न चाहने व्यक्तिले पनि महँगो ऋणका कारण आफ्नो निर्णय परिवर्तन गर्न सक्छन् । यसले घरको मागमा दबाब पार्न सक्छ।
अर्थात् एकातिर घरको मूल्य घटिरहेको छ भने अर्कोतिर ब्याजदर उच्च छ। त्यसमाथि महँगी पनि बढिरहेको छ। यही तीनवटा दबाब—घरको मूल्यमा गिरावट, उच्च ब्याजदर र बढ्दो मुद्रास्फीति—अस्ट्रेलियाली परिवारका लागि अहिलेको आर्थिक अवस्थालाई महत्वपूर्ण बनाउने कारण हुन्।
आरबीएले ब्याजदर बढाउनुको कारणका रूपमा कृत्रिम बुद्धिमत्ताको तीव्र विस्तार र मध्यपूर्वमा जारी द्वन्द्वका कारण उत्पन्न मुद्रास्फीतिजन्य दबाबलाई पनि उल्लेख गरेको छ। अब यसको अर्को अन्तर्राष्ट्रिय प्रभाव पनि हुन सक्छ। अस्ट्रेलिया विश्वका उच्च औसत घरायसी सम्पत्ति भएका मुलुकमध्ये एक हो।
यूबीएस ग्लोबल वेल्थ रिपोर्ट २०२६ अनुसार, अस्ट्रेलियाको वयस्क प्रतिव्यक्ति औसत सम्पत्ति विश्वमै तेस्रो उच्च रहेको छ। अस्ट्रेलियाभन्दा अगाडि लक्जेम्बर्ग र बेल्जियम छन्। तर अस्ट्रेलियाको विशेषता के हो भने त्यहाँको घरायसी सम्पत्तिको ठूलो हिस्सा वित्तीय सम्पत्तिभन्दा आवासीय सम्पत्तिमा केन्द्रित छ।
२०२६ को जुन त्रैमासिकमा अस्ट्रेलियामा प्रतिव्यक्ति खुद घरेलु सम्पत्ति करिब ६ लाख ९१ हजार ६०० डलर पुगेको थियो। त्यसमध्ये आवासीय सम्पत्तिको हिस्सा मात्रै करिब ५७ प्रतिशत थियो। त्यसैले घरको मूल्यमा आउने परिवर्तनले अस्ट्रेलियाली परिवारको सम्पत्तिको तस्वीरमा ठूलो प्रभाव पार्न सक्छ।
यद्यपि अन्तिम प्रभाव कति हुन्छ भन्ने कुरा अहिले नै निश्चित भन्न सकिँदैन। वर्षौंसम्म घरको मूल्य बढ्दा परिवारको सम्पत्ति बढ्यो। अब त्यही घरको मूल्य घट्न थालेपछि सम्पत्ति, ऋण, उपभोग र आर्थिक मनोविज्ञानमा कस्तो असर पर्छ भन्ने कुरा अस्ट्रेलियाली अर्थतन्त्रका लागि महत्वपूर्ण प्रश्न बनेको छ।
अष्ट्रेलियामा घरजग्गाको भाउ घट्दा नेपाली समेत प्रभावित हुनेछन् । अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीको लगानी उच्च स्थानमा पर्दछ । एक प्रतिवेदनअनुसार अष्ट्रेलियाको घरजग्गा व्यवसायमा लगानी गर्ने विदेशी मुलुकका नागरिकहरूको सूचीमा नेपाल समेत समेटिएको छ ।
प्रतिवेदनअनुसार अष्ट्रेलियाले आफ्नो रियल स्टेट व्यवसायमा लगानी गर्ने मुख्य १० देशको सूचीमा नेपाल ८औँ स्थानमा परेको छ । प्रतिवेदनअनुसार अष्ट्रेलियाको रियलस्टेटमा सबैभन्दा धेरै लगानी गर्ने देशहरूको सूचीमा चीन पहिलो नम्बरमा छ ।
नेपालपछि इण्डोनेसिया र मलेसिया समेत सबैभन्दा धेरै लगानीकर्ता १० देशहरूको सूचीमा परेका छन् । पछिल्लो प्रतिवेदनका आधारमा अष्ट्रेलियामा भएको लगानीमध्ये सबैभन्दा धेरै रियल स्टेटमा थियो ।



