क्रिकेट विश्वकपको खेलतालिका सार्वजनिक, नेपालले खेल्न पाउँला ?

१६ असोज ८३, शुक्रबार
Share this
750shares

१५ असोज , काठमाण्डौ ।

Advertisement

आगामी वर्ष सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेलतालिका सार्वजनिक भएको छ । दक्षिण अफ्रिकाको केप टाउनमा हिजो बिहीबार आयोजित एक कार्यक्रमका बीच समूह विभाजनसँगै खेलतालिका सार्वजनिक गरिएको हो ।

समूह विभाजन अनुसार समूह ‘ए’ मा अफगानिस्तान, अस्ट्रेलिया, भारत, पाकिस्तान, जिम्बाबे र क्वालिफायरबाट आउने एक टोली रहेका छन् । समूह ‘बी’ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र छनोटबाट आउने अर्को टोली परेका छन् ।

Advertisement

समूह चरणको पहिलो खेलमै भारत र अस्ट्रेलिया खेल्ने छन् । सन् २०२३ विश्वकपको फाइनलमा अस्ट्रेलियाले भारतलाई नै हराउँदै छैटौंपटक उपाधि जितेको थियो । नयाँ विश्वकप ढाँचाअनुसार ओडीआई वरियताका शीर्ष ८ टोलीसँगै सहआयोजक दक्षिण अफ्रिका र जिम्बाबेले सिधै मुख्य समूह चरणमा स्थान बनाएका छन् ।

Advertisement

त्यसमा छनोट प्रतियोगिताको विजेता थपिँदा मुख्य चरणमा ११ टोली निश्चित हुनेछन् । छनोट प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो हुने टोलीले भने विश्वकपको पहिलो चरण ‘सुपर सिरिज’ खेल्नुपर्नेछ । यस चरणमा तीन टोलीबीच दुई–दुई खेलको प्रतिस्पर्धा हुनेछ र त्यसको विजेताले मात्र मुख्य समूह चरणमा स्थान बनाउनेछ। बाँकी टोली दुई खेलमै विश्वकपबाट बाहिरिनेछन् ।

मुख्य चरणमा १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहका शीर्ष तीन टोलीसँगै दुवै समूहमध्ये उत्कृष्ट अर्को एक टोली ‘सुपर ७’ चरणमा पुग्नेछन् । राउन्ड रोबिन फम्र्याटमा हुने सुपर ७ बाट शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । विश्वकप छनोटमा १० टोली रहनेछन् ।

यसमा सहआयोजकबाहेकका ओडीआई वरियताका दुई पूर्ण सदस्य राष्ट्र, लिग–२ क्रिकेटका शीर्ष चार टोली तथा विश्वकप छनोट प्लेअफबाट आउने चार टोली सहभागी हुनेछन् । विश्वकप छनोट प्लेअफमा लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिगका चार टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

त्यहाँबाट शीर्ष चार टोलीले विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । यसमा नेपाली क्रिकेट टोलीले विश्वकप छनोटका लागि प्लेअफ खेल्ने प्रबल सम्भावना छ । प्लेअफबाट छनोटमा स्थान बनाएर त्यो पार गरेमा नेपालले मुख्य समूह चरणमा स्थान बनाउन सक्छ ।

विश्वकप छनोट विजेताले सोझै समूह चरणमा इन्ट्री पाउनेछ भने छनोट जित्न नसके पनि चौथो स्थान सम्मका टोलीले अर्को मौकाबाट समूह चरणमा स्थान बनाउन सक्छन् । यस्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्रिकेटका नियमहरू (प्लेइङ कन्डिसन्स) मा महत्त्वपूर्ण परिवर्तन गरेको छ ।

नयाँ नियमअनुसार अब खेलको समय खेर फाल्ने ब्याटरको टोलीलाई ५ रनको जरिवाना (पेनाल्टी) लाग्ने भएको छ । खेलको गति बढाउनका लागि ब्याटरहरूमाथि कडाइ गरिएको हो । बलर बलिङ रन–अपको सुरुमा पुगिसक्दा स्ट्राइकिङ ब्याटर बलको सामना गर्न तयार भइसक्नुपर्नेछ ।

यदि ब्याटर निर्धारित समयमा तयार नभएर खेलमा ढिलाइ गरेमा बलर इन्डका अम्पायरले पहिलोपटक ढिलाइ गर्दा ब्याटरलाई पहिलो चेतावनी दिनेछन् ।यस्तै दोस्रो पटक ढिलाइ गर्दा ब्याटरलाई अन्तिम चेतावनी दिइनेछ। तेस्रो र त्यसपछिका हरेक पटकः विपक्षी (फिल्डिङ) टोलीलाई पेनाल्टी स्वरूप ५ रन प्रदान गरिनेछ ।

यस्तै टेस्ट तथा बहु–दिवसीय (मल्टी–डे) खेलहरूमा यो नियम हरेक ८० ओभरको ब्लकमा लागू हुनेछ र ८० ओभर समाप्त भएपछि चेतावनीको गणना पुनः शून्यबाट (रि–सेट) सुरु हुनेछ । यद्यपि, कुनै खेलाडी आउट भएपछि नयाँ ब्याटर क्रिजमा आउन पाउने २ मिनेटको समय भने यथावत राखिएको छ ।

आईसीसीले महिला क्रिकेटका लागि पनि छुट्टै मापदण्डको बल प्रयोग गर्ने नियम ल्याएको छ । यसअघि महिला र जुनियर क्रिकेटका लागि प्रायः एउटै आकार र तौलको बल उत्पादन तथा प्रयोग गरिँदै आइएको थियो । अब भने पुरुष, महिला र जुनियर क्रिकेटका लागि तीन छुट्टाछुट्टै आकार र तौलका बलहरूको मापदण्ड निर्धारण गरिएको छ ।

यसैगरी अब दिउँसो खेलिने टेस्ट खेलहरूमा पनि आवश्यकताअनुसार ‘पिंक बल’ (गुलाबी बल) प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । बहु–दिवसीय खेलहरूमा दिनको अन्तिम ओभरमा विकेट खस्दैमा स्वतः दिनको खेल समाप्त (स्टम्प्स) हुने छैन, बाँकी बलहरू खेलाइनेछ ।

खेलको अन्तिम बल वा अन्य संवेदनशील अवस्थामा बल रोकिएको (सेटल भएको) निर्णय गर्ने अधिकार अम्पायरलाई थप स्पष्ट बनाइएको छ । यसका लागि बल अनिवार्य रूपमा बलर वा किपरकै हातमा हुनुपर्ने बाध्यता हटाइएको छ ।

यसैगरी ब्याटरलाई रन–आउट वा स्टम्पिङ गर्नका लागि फिल्डर वा विकेटकिपरको बलमा पूर्ण नियन्त्रण हुनुपर्नेछ । बलले मात्र छोएर स्टम्पको गिल्ली (बेल्स) खस्दैमा रन–आउट वा स्टम्पिङ मानिने छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top