१५ असोज , काठमाण्डौ ।
आज देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भाना रहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रमा तथा देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।
देशका तराई भू–भागका थोरै ठाउँमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू–भागमा र देशका तराई भू–भागमा आंशिक बदली रहनेछ ।

कोशी र बागमती प्रदेशको हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यम तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।
राति कोशी र बागमती प्रदेशको हिमाली तथा पहाडी भू–भागका साथै गण्डकी प्रदेशको पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । गण्डकी प्रदेशको हिमाली भू–भागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
देशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली तथा पहाडी भू–भागका एकदुई स्थानमा र बागमती प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ । हाल कुनै मौसमी चेतावनी जारी गरिएको छैन ।
तथापि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ । यसैबीच नेपालबाट यस वर्षको मनसुन बाहिरिने तरखरमा रहेको मौसमविद्ले बताएका छन् ।
मौसम विज्ञान विभागका मौसमविदहरूका अनुसार यस वर्षको दशैंसम्ममा मनसुन बाहिरिने सम्भावना देखिएको छ । यस वर्षको मनसुन गत ५ असारमा पूर्वी नेपालबाट भित्रिएको थियो । मौसमविद् बिनु महर्जनका अनुसार अहिले नेपालमा ठूलो वर्षा गराउने उल्लेखनीय प्रणाली छैन ।
छिमेकी मुलुक भारतका अधिकांश भू–भागबाट मनसुन बाहिरिसकेको छ । नेपालमा पनि अब पश्चिमी भू–भागबाट मनसुन बाहिरिने तरखर छ । ‘अहिलेसम्मको संकेत हेर्दा दशैंसम्ममा मनसुन बाहिरिन सक्ने सम्भावना छ,’ मौसमविद महर्जनले भनिन् ।
यस वर्षको दशैंको घटस्थापना असोज २५ र टीका कात्तिक ४ गते परेको छ । सामान्यतया नेपालमा मनसुन जुन १३ देखि सुरु भई अक्टोबर २ मा बाहिरन्छ । यो औसत मितिमा कहिलेकाहीँ सामान्य तलमाथि पनि हुने गरेको छ ।
यद्यपि मनसुन बाहिरिए पनि सामान्य खालको वर्षा भने दशैंका बेला पनि हुनसक्ने सम्भावना रहेको मौसमविदहरू बताउँछन् । मौसमविद् विनोद पोखरेलले दशैंमा सिमसिमे खालको पानी पर्ने र त्यसले जाडो महसुस हुने सम्भावना रहेको सामाजिक सञ्जालमा लेखेका छन् ।
उता हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका छन् । हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएको अध्यागमन अधिकृत विमल पौडेलले बताए ।
उनका अनुसार अलपत्र पर्नेमा नाम्खा गाउँपालिका–१, २ र ३ का नागरिक हुन् । उनीहरूमध्ये अधिकांश ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका छन् । गत शुक्रबार हिल्सा पुगेका उनीहरू हिमपात सुरु भएपछि नाकामा रोकिएको उनले बताए ।
हिमपातका कारण कैलाश मानसरोवर दर्शनका लागि चिनियाँ पक्षले आवतजावत बन्द गरेको छ । हिल्सामा कार्यरत अध्यागमन कर्मचारी पेमा लामाका अनुसार अक्टोबर ४ अर्थात् असोज १८ गतेदेखि नाका खुल्ने बताइएको छ ।
चीनतर्फको सडक खुलाउने काम भइरहेको भए पनि नेपालतर्फ अझै केही समय लाग्ने बताइएको छ । हुम्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं ४४ गुल्मका प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदका अनुसार हिल्सामा करिब दुईदेखि अढाइ फिटसम्म हिउँ जमेको छ ।
हिल्सा पुग्न नारा लेक पार गर्नुपर्ने भएकाले त्यहाँ जमेको हिउँ पन्छाउन थप समय लाग्ने उनले बताए । हिल्सामा एउटामात्रै स्काभेटर रहेकाले सडक खुलाउने काममा कठिनाइ भएको र इन्धनको समस्या रहेको उनको भनाइ छ ।
स्थानीयबासी र सुरक्षाकर्मीले हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास जारी राखेका छन् । यस वर्ष हालसम्म हिल्सानाका हुँदै छ हजार १० जना पर्यटकले कैलाश मानसरोवर दर्शन गरेका छन् ।
यता मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएका १६ जनामध्ये थप ८ जनाको शव फेला परेको छ।
पछिल्लो खोजीका क्रममा बिहीबार ८ जनाको शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार यसअघि सात जनाको शव फेला परिसकेको थियो। थप आठ जनाको शव भेटिएसँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या १५ पुगेको छ।
फेला परेका शवमध्ये अधिकांशको पहिचान हुन बाँकी रहेको जनाइएको छ। गत असोज ११ गते हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा हिमपहिरो खस्दा १६ जना सम्पर्कविहीन भएका थिए। त्यसयता निरन्तर भइरहेको खोजी तथा उद्धार अभियानबाट क्रमशः शवहरू फेला पर्दै आएका छन्।
अब एक जना मात्रै बेपत्ता रहेको र उनको खोजी जारी रहेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। बेपत्ताको खोजीका लागि नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको टोली हिमलुङ क्षेत्रमा परिचालन गरिएको छ।
पासाङ काजी शेर्पाको नेतृत्वमा रहेको अनुभवी पर्वतारोहण गाइडको टोलीले हिमपहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेको छ। यसअघि बुधबार तीन जनाको शव फेला परेको थियो। त्यस क्रममा गोरखाका आश गुरुङ, खोटाङका सुरज राई र रुकुमका कलम बुढाको शव भेटिएको थियो।
त्यसअघि आइतबार र सोमबार गरी वीरेन्द्र गुरुङ, घनश्याम राई, छेबी भोटे र पासाङ भोटेको शव फेला परेको थियो। अहिले एक जना मात्रै सम्पर्कविहीन रहेकाले खोजी टोलीले सम्भावित स्थानमा केन्द्रित भएर खोजी गरिरहेको छ। फेला परेका शवलाई आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं ल्याउने तयारी गरिएको छ।



