१५ असोज , काठमाण्डौ ।
प्रधानमन्त्री कार्यलयले प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार तथा स्वकीय सचिवालयमा कार्यरत पदाधिकारी र कर्मचारीको विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्री कार्यालयले सात महिनापछि आफ्नो आधिकारिक वेवसाइटमा प्रधानमन्त्री बालेनको टोलीमा संलग्न २५ जना पदाधिकारी र कर्मचारीको विवरण सार्वजनिक गरेको हो ।
प्रधानमन्त्रीको सल्लाहकार समूह तथा विज्ञ टिममा मन्त्री र राज्यमन्त्री सरहका विशिष्ट व्यक्तिहरू पनि समेटिएका छन् । जसमा कुमार ब्यञ्जनकार अवैतानिक मुख्य राजनीतिक सल्लाहकार रहेका उल्लेख छ । त्यसैगरी बालेनको राजनीतिक सल्लाहकारमा असिम शाह छन्।

यसैगरी, अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्राडा जगदिश प्रसाद अग्रवाल छन् । त्यसैगरी नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र छन् । उनीहरूलाई राज्यमन्त्री सरहको सुविधा दिइएको विवरणमा उल्लेख छ ।
त्यसैगरी बालेनको प्रमुख स्वकीय सचिव (रा.प. विशिष्ट सरह) सुवाष शर्मा छन् । यस्तै, स्वकीय सचिवमा नविन भण्डारी (रा.प. प्रथम सरह) छन् । त्यसैगरी सहसचिव (रा.प. प्रथम) सरहका पदहरूमा सञ्जिव पाण्डे (विकास परियोजना), दिपा दाहाल (प्रेस तथा अनुसन्धान विज्ञ), सन्तोष गिरी (कार्यक्रम तथा भ्रमण संयोजक), र विश्व राई (विज्ञ– सामाजिक विकास) रहेका छन्।

उपसचिव (रा.प. द्वितीय) सरहको जिम्मेवारी प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्यलाई दिइएको छ भने सहायक विज्ञका रूपमा सुमन गौतम (नागरिक उड्डयन) र रवि किरण अधिकारी (भाषा तथा मस्यौदा) नियुक्त भएका छन् ।
त्यस्तै, शाखा अधिकृत तथा अन्य प्राविधिक तथा प्रशासनिक तह (रा.प. तृतीय र अनंकित) मा सुरेन्द्र बजगाई (प्रेस सहजकर्ता), रोशन तामाङ्ग (ग्राफिक्स डिजाइन), बेदानन्द जोशी, हेम नारायणदास चौधरी (अनुसन्धान अधिकृत), अनुप थापा मगर, ऋषी थापा, अमृत पाण्डे (भिडियोग्राफर), राज कुमार गौतम र बेनिस कार्की कार्यरत छन् ।
यसअघि प्रधानमन्त्रीको सल्लाहकारहरुको विवरण सार्वजनिक नगरिएको भन्दै आलोचना हुँदै आएको थियो । यस्तै खर्च कटौतिको ध्येय राखेको सरकारमा प्रधानमन्त्रीकै सल्लाहकार वा सचिवालयमा जम्बो टोली राखिएको भन्दै उनकै मन्त्री तथा रास्वपाकै सांसदहरुलेसमेत आलोचना गरेका थिए ।
यता प्रधानमन्त्रीको संसदप्रतिको व्यवहार र शासनशैलीमाथि पनि रास्वपाका सांसदहरु रुष्ट देखिएका छन् । उनीहरुले सामाजिक संजाल र संसदमै पनि बालेनमाथि कटाक्ष र चेतावनीसमेत दिदै आएका छन् । सांसद अमरेशकुमार सिंह यो सुचिमा पहिलो नम्बरमा आउँछन् ।
अहिले थप नयाँ विषयले रास्वपाका केही सांसदहरुलाई आफ्ना प्रधानमन्त्रीप्रति रुष्ट बनाएको छ । केही दिनअघि उनले इन्जिनियर पृष्ठभूमिका सांसदहरुसंग भेट गरेका थिए । जसलाई उनले एक्ट्रा अर्डिनरी र अन्यलाई त्योभन्दा मुनिको श्रेणीका सांसदहरुको आशय व्यक्त गरेका थिए । तर यसमा रास्वपाकै सांसदहरुले चित्त दुखाएका छन् ।
यो विषय संसदमा समेत प्रवेश गरेको छ । जनमतबाट निर्वाचित सांसदलाई आफैँले चुनेका प्रधानमन्त्रीले अवमूल्यन गरेको उनीहरू बताउँछन्। यसबारे राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्रीले पनि असन्तुष्टि जनाएका छन्। अन्य दलका सांसदले पनि प्रधानमन्त्रीको भनाइप्रति कटाक्षा गरेका छन् ।
बिहीबारको संसद् बैठकको शून्य समयमा बोल्दै महामन्त्री विपिन आचार्यले आफू ‘एक्स्ट्राअर्डिनरी’ बन्न कोसिस गरिरहेको भन्दै प्रधानमन्त्रीलाई व्यंग्य गरेका थिए । रास्वपाका सचिवालय सदस्य एवं कञ्चनपुर २ बाट निर्वाचित सांसद दीपक बोहोराले आफ्नो स्थानबारे सोध्नुपर्ने बताए ।
‘मेरो स्थान कहाँ प¥यो पीएमलाई सोध्नुपर्छ,’ उनले भने, ‘म आफैँलाई थाहा छैन।’ अर्का सांसद यज्ञमणि न्यौपाने पनि प्रधानमन्त्रीले गरेको वर्गीकरणमा आफू कहाँ परेको थाहा नभएको बताउँछन् ।
यस्तै विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले रास्वपाका सभापति कुन वर्गमा परेको भन्दै प्रश्न गरे । यस्तै कुरा गर्दा प्रधानमन्त्री फस्दै जाने खतरा रहेको रास्वपा सांसदहरु बताउँछन्।
यसअघि संसदमा सीमाका विषयमा बोलेको कुराले बालेनलाई अहिलेसम्म पनि पछ्याइरहेको छ ।



