२६ असोज , काठमाण्डौ ।
दशैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो गाउँघर फर्किने यात्रुको चाप बढ्न थालेको छ। तर, यात्रा सुरु गरेका र गाउँ फर्किने तयारीमा रहेका सर्वसाधारणलाई बाटोमा बाढीपहिरो जाने हो कि, वर्षाका कारण सडक अवरुद्ध भएर बीच बाटोमै अलपत्र पर्नुपर्ने हो कि भन्ने चिन्तामा छन ।
केही दिनयता विभिन्न स्थानमा देखिएका वर्षाजन्य घटनाले यात्रुहरूमा त्रास बढिरहेका बेला सोमबार जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भने देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने र भारी वर्षाको सम्भावना नरहेको जनाएको छ ।

हिजो मात्रै बुढीगंगामा बाढी आएको घटनाले वर्षा र नदीको बहावप्रति सर्वसाधारणको चासो बढिरहेका बेला महाशाखाको पछिल्लो पूर्वानुमानले दसैँका लागि घर फर्किने यात्रुलाई केही राहत दिने संकेत गरेको छ।घटस्थापनासँगै दसैँ मनाउन घर फर्किने क्रम सुरु भइसकेको छ।
काठमाडौंमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा व्यवसायका लागि बसोबास गर्दै आएका नागरिक सार्वजनिक यातायातमार्फत आफ्नो गृहजिल्लातर्फ लाग्न थालेका छन्। यससँगै लामो दूरीका सडकमा यात्रुको चाप बढ्ने क्रम जारी छ।

यात्रुहरूका लागि सडकको अवस्था जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्वपूर्ण मौसमको अवस्था पनि हो। विशेषगरी पहाडी तथा हिमाली जिल्लातर्फ जाने सडकमा वर्षाका कारण पहिरो खस्ने, नदी तथा खोलामा पानीको सतह बढ्ने र सडक अवरुद्ध हुने जोखिमले यात्रुलाई चिन्तित बनाएको छ।
यहीबीच मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमबारे सार्वजनिक गरेको विवरणमा देशभर भारी वर्षा हुने सम्भावना नरहेको उल्लेख गरेको छ। महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार हाल देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहेको छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भूभागमा भने सामान्य बादल लागेको छ। हुम्लाको हिल्सा आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको भए पनि अन्य अधिकांश स्थानमा घाम लागेको विभागले जनाएको छ।महाशाखाको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा देशका धेरैजसो भूभागमा उल्लेख्य वर्षा भएको छैन।
सिन्धुपाल्चोक, प्युठान र रोल्पा आसपासका एक–दुई स्थानमा मध्यम वर्षा मापन भएको छ। यसबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा भएको छ। तराईका कुनै पनि भूभागमा वर्षा नभएको मौसमविद्ले बताएका छन्।
विभागका अनुसार सोमबार दिउँसो देशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहे पनि अधिकांश क्षेत्रमा मौसम सफा रहनेछ। अनुमानअनुसार हिमाली र पहाडी क्षेत्रका करिब १० प्रतिशत स्थानमा मात्रै हल्का वर्षा हुन सक्नेछ।
बाँकी अधिकांश पहाडी भूभाग र तराईका सबैजसो क्षेत्रमा वर्षाको सम्भावना नरहेको विभागको भनाइ छ। सोमबार रातिको मौसम पनि मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा देशका अधिकांश पहाडी तथा तराई क्षेत्रमा वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
हिमाली भूभागका केही स्थानमा भने आंशिक बादल देखिन सक्नेछ । यद्यपि, लगातार झरी पर्ने वा ठूलो परिमाणमा वर्षा हुने प्रणाली सक्रिय नरहेको विभागको आकलन छ।आगामी मंगलबार र बुधबारको मौसम पनि सोमबारकै आसपास रहने पूर्वानुमान गरिएको छ।
ती दिनमा समेत हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि देशव्यापी रूपमा भारी वर्षा हुने सम्भावना नरहेको महाशाखाले स्पष्ट पारेको छ । विशेषगरी तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
यससँगै दशैँका लागि लामो दूरीको यात्रा गर्ने नागरिकले केही सहज मौसमको अपेक्षा गर्न सक्ने अवस्था बनेको छ । महाशाखाले वर्षाको सम्भावना न्यून रहेकाले मौसम चेतावनीको स्तरलाई हरियो रङमा राखेको जनाएको छ।
मौसमविद् ढकालका अनुसार हरियो रङको संकेतको अर्थ हालको पूर्वानुमानअनुसार विशेष मौसम चेतावनी जारी गर्नुपर्ने अवस्था नरहेको भन्ने हो। हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव कायम रहेको मौसमसम्बन्धी विवरणमा उल्लेख छ ।
यी प्रणालीको प्रभावका कारण केही स्थानमा बादल लाग्ने र छिटपुट वर्षा हुने अवस्था रहन सक्छ। तर, पछिल्लो पूर्वानुमानअनुसार ती प्रणालीका कारण तत्काल देशका अधिकांश भागमा व्यापक वर्षा हुने संकेत देखिएको छैन ।
दशैँको समयमा सडकमा सवारीसाधनको चाप सामान्य दिनको तुलनामा बढी हुने गर्छ । काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरूमा यात्रुको आवागमन बढ्दै जाँदा लामो दूरीका सवारीसाधनमा चाप पर्न सक्छ। यात्रुहरूलाई मौसम पूर्वानुमान महाशाखा, सडक विभाग, ट्राफिक प्रहरी तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट जारी हुने सूचनामा ध्यान दिन सुझाव दिइएको छ ।
लामो दूरीमा निस्कँदा यात्रा गर्नुअघि सडकको अवस्था बुझ्ने, सम्भव भएसम्म दिनको समयमा यात्रा गर्ने, सवारीसाधनमा आवश्यक इन्धन तथा आपत्कालीन सामग्री राख्ने र अवरुद्ध सडकमा जबर्जस्ती अघि नबढ्ने जस्ता सावधानी अपनाउन भनिएको छ ।
दशैँको मुखमा देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने र आगामी तीन दिन भारी वर्षाको सम्भावना नरहेको महाशाखाको पूर्वानुमानले घर फर्किने यात्रुलाई केही राहत दिएको छ। यद्यपि, छिटपुट वर्षा हुन सक्ने स्थान, नदीको बहाव र पहिरोको जोखिमलाई पूर्ण रूपमा बेवास्ता गर्न मिल्दैन।
मौसम अनुकूल देखिए पनि सडकको वास्तविक अवस्था बुझेर, आवश्यक सावधानी अपनाएर र आधिकारिक सूचनाको नियमित निगरानी गर्दै यात्रा गर्नु नै सुरक्षित हुने देखिएको छ।



