अब रुस नेटोसँग भिड्ने दाउमा, विच्छायो जाल, ट्रम्पले छाडे साथ

३० असोज ८३, शुक्रबार
Share this
773shares

३० असोज , काठमाण्डौ ।

Advertisement

लामो दूरीका हतियारबाट रुसलाई सुरक्षा रणनीति बदल्न बाध्य बनाएको युक्रेनसँग अमेरिकी प्याट्रियट वायु रक्षा प्रणालीका लागि प्रयोग हुने इन्टरसेप्टर मिसाइलको मौज्दात सकिएको खबर बाहिरिएको छ । यसले रुसी ब्यलिस्टिक मिसाइल आक्रमण रोक्ने युक्रेनको क्षमतामा गम्भीर असर पार्न क्ने बताइएको छ ।

यो अवस्था अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच सार्वजनिक रूपमा बढिरहेको मतभेदका बीच आएको हो । पछिल्ला दिनमा ट्रम्प प्रशासनले रुसी डिजेल आयातसम्बन्धी सम्झौताका कारण आलोचना खेपेको छ भने युक्रेनलाई रुसी तेल पूर्वाधारमाथिका आक्रमण रोक्न दबाब दिइरहेको छ ।

Advertisement

जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पले गरेको सम्झौताबाट आफूले धोका पाएको महसुस गरेको बताएका छन् । उनले रुसी तेल प्रशोधन केन्द्रमाथि युक्रेनका आक्रमण जारी रहने पनि स्पष्ट पारेका छन् । जेलेन्स्कीले महिनौँदेखि ब्यालिस्टिक मिसाइललाई आकाशमै नष्ट गर्न सक्ने प्याट्रियट इन्टरसेप्टरको अभावबारे चेतावनी दिँदै आएका छन् ।

यी मिसाइल महँगा हुनुका साथै विश्वभर सीमित मात्रामा उपलब्ध छन् । इरानमा जारी युद्धका कारण केही देशले आफ्ना मौज्दात प्रयोग गरेका छन् भने अन्यले आफ्नै सुरक्षा आवश्यकताका लागि मिसाइल सञ्चित गरिरहेका छन् ।

Advertisement

मंंगलबार रातिदेखि बुधबार बिहानसम्म भएको आक्रमणमा रुसी बलिस्टिक मिसाइलले किभका तीनवटा ऊर्जा केन्द्र ध्वस्त पारेका थिए भने खार्किभको ऊर्जा पूर्वाधारलाई पनि निशाना बनाएका थिए । आक्रमणमा किभमा चार जनाको मृत्यु भएको र २५ जना घाइते भएको बताइएको छ ।

युक्रेनी वायुसेनाले पछिल्लो आक्रमणका क्रममा चारवटा रुसी ब्यालिस्टिक मिसाइल निष्क्रिय पारेको जनाएको थियो । तर, यसले युक्रेनसँग बाँकी रहेका प्याट्रियट मिसाइलसमेत प्रयोग भइसकेको संकेत गर्ने स्रोतको भनाइ छ । युक्रेनको प्याट्रियट मिसाइल मौज्दात सकिएको यो पहिलो घटना भने होइन ।

जेलेन्स्कीले थप मिसाइल प्राप्त गर्न आफूले निरन्तर प्रयास गरिरहेको सार्वजनिक रूपमा बताउँदै आएका छन् । गत अगस्टको मध्यमा प्याट्रियट प्रणालीसम्म पहुँच पाउने सीएनएन पहिलो सञ्चारमाध्यम बनेको थियो । त्यसबेला युक्रेनी अधिकारीहरूले पनि देशसँग इन्टरसेप्टर मिसाइलको मौज्दात लगभग सकिएको बताएका थिए ।

ता रुस भने अब नेटोलाई उत्तेजित बनाउने योजनामा रहेको विश्लेषण गर्न थालिएको छ। यस महिना नेटो सदस्य राष्ट्र रोमानिया र बुल्गेरियाको तटीय क्षेत्रनजिकै कालो सागरमा कम्तीमा सातवटा मालवाहक जहाजमाथि ड्रोन आक्रमण भएका छन्।

यी घटनापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई दिइँदै आएको समर्थनको परीक्षण गर्न युद्धको तनाव बढाउन खोजेका हुन् कि भन्ने आशंका नेटो गठबन्धनका केही सदस्यले गर्न थालेका छन्।
दुवै देशको विशेष आर्थिक क्षेत्रमा भएका यी आक्रमणले विश्वव्यापी समुद्री व्यापार मार्गलाई जोखिममा पारेका छन्।

घटनामा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा २५ जना बेपत्ता छन्। यसले युक्रेन युद्धमा अन्य देशहरू पनि प्रत्यक्ष रूपमा तानिन सक्ने जोखिम बढाएको छ। युद्धका क्रममा रुसले युक्रेनका कालो सागर तथा ड्यान्युब नदी किनारका बन्दरगाहमा बारम्बार आक्रमण गर्दै आएको छ ।

त्यसका कारण युक्रेनले अफ्रिका र मध्यपूर्वका बजारमा खाद्यान्न निर्यात गर्न वैकल्पिक मार्गहरू प्रयोग गर्नुपरेको छ। युक्रेनका ड्यान्युब क्षेत्रका बन्दरगाहनजिकै रुसी ड्रोनले रोमानियाको हवाई क्षेत्रसमेत पटक–पटक उल्लंघन गरेका छन्।

पछिल्ला घटनामा बुधबार र बिहीबार ड्रोन आक्रमणमा परेका दुईवटा जहाजमा आगलागी भएको थियो। तीमध्ये एउटा जहाज रोमानियाको प्रादेशिक जलक्षेत्रभित्रै आक्रमणमा परेको थियो। रोमानियाका राष्ट्रपति निकुसोर दानले बिहीबार ब्रसेल्समा दुईवटा ड्रोनले जहाजमा आक्रमण गरेको बताए।

तर, ती ड्रोन कसका थिए भन्नेबारे उनले खुलाएनन्। बुल्गेरियाका प्रधानमन्त्री रुमेन रादेवले युक्रेनले आफ्नै जहाज र चालक दलमाथि आक्रमण गर्नुको कुनै तर्क नरहेको बताए। उनका अनुसार यी आक्रमणबाट रुसलाई फाइदा पुग्ने देखिएकाले घटनाक्रमले रुसी संलग्नतातर्फ संकेत गर्छ।

यद्यपि, उनले त्यसलाई प्रमाणित गर्न नसकिएको स्वीकार गरे। ट्युनिसियाबाट रोमानिया जाँदै गरेको सान मारिनोको झण्डावाहक रासायनिक पदार्थ बोक्ने ट्यांकरमाथि बिहीबार ड्रोन आक्रमण भएको थियो। आक्रमणपछि जहाजमा आगलागी भयो।

चालक दलका पाँच सदस्यलाई उद्धार गरिए पनि अन्य सात जना बेपत्ता छन्। यस्तै बुधबार टर्कीएबाट रोमानिया जाँदै गरेको कोमोरोसको झण्डावाहक रासायनिक पदार्थ तथा तेल बोक्ने ट्यांकरमाथि ड्रोन आक्रमण भएको र त्यसमा आगलागी भएको खबर सार्वजनिक भएको थियो।

रोमानियाका कार्यवाहक रक्षामन्त्री रादु मिरुताले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। मङ्गलबार बुल्गेरियाको तटबाट टाढा दुईवटा जहाजमाथि ड्रोन आक्रमण भएको थियो। माल्टाको झण्डावाहक तथा युक्रेनद्वारा सञ्चालित चेल्सी थ्रीका सबै १५ जना चालक दलका सदस्यलाई उद्धार गरिएको थियो।

चालक दलका अनुसार जहाजको डेक र बाहिरी भागमा तीनवटा हवाई ड्रोनले प्रहार गरेका थिए। गिनी–बिसाउको झण्डावाहक एचएस डिग्निटीका भने ११ जना चालक दलका सदस्य अझै बेपत्ता छन्।
यस महिनाको सुरुतिर बुल्गेरियाको विशेष आर्थिक क्षेत्रमा समुद्री तथा हवाई ड्रोनले थप दुईवटा व्यापारिक जहाजमाथि आक्रमण गरेका थिए। टोगोको झण्डावाहक एउटा जहाज डुबेको थियो, जसमा सवार रहेको बताइएका १२ जना नाविकको कुनै पत्तो लागेको छैन।

त्यस्तै, क्षतिग्रस्त पलाउको झण्डावाहक जहाजबाट बुल्गेरियाको एउटा पानीजहाजले १८ जना चालक दलका सदस्यलाई उद्धार गरेको थियो। यसअघि रोमानियाको तटनजिकै मकै बोकेर गइरहेको टर्कीएको स्वामित्वमा रहेको एउटा मालवाहक जहाज ड्रोन आक्रमणपछि आगलागी भएर डुबेको थियो।

घटनामा दुई जनाको मृत्यु भएको थियो भने ११ जना चालक दलका सदस्यलाई उद्धार गरिएको थियो। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले उक्त घटनालाई तटस्थ जलक्षेत्रमा रुसी ड्रोनले नागरिक जहाजमाथि गरेको भयानक आक्रमण बताएका थिए।

उता बुल्गेरियाको राजधानी सोफियास्थित रुसी राजदूतले रुसी रक्षा मन्त्रालयबाट घटनाबारे कुनै जानकारी प्राप्त नभएको बताएकी छन्। नेटोका महासचिव मार्क रुटेले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत बुल्गेरियाका प्रधानमन्त्री रादेव र रोमानियाका राष्ट्रपति दानसँग भेट गरी कालो सागरको सुरक्षा तथा व्यापारिक जहाजमाथि भएका पछिल्ला आक्रमणबारे छलफल गरेको जानकारी दिएका छन्।

रुटेका अनुसार नेटोले आफ्नो पूर्वी सीमाक्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउँदै ड्रोन प्रतिरोधी क्षमता विस्तार गरिरहेको छ। कालो सागर क्षेत्रका सदस्य राष्ट्रहरूसँग सहकार्य जारी राख्दै आवश्यकताअनुसार प्रतिरोध तथा रक्षा व्यवस्था समायोजन गरिने उनले बताएका छन्।

नेटोको बडापत्रको धारा ५ अनुसार कुनै सदस्य राष्ट्रमाथि सशस्त्र आक्रमण भए त्यसलाई सबै सदस्य राष्ट्रमाथिको आक्रमण मानिने व्यवस्था छ। तर, रोमानियाका रक्षा विश्लेषकका अनुसार हालसम्मका धेरै ड्रोन आक्रमण सदस्य राष्ट्रहरूको विशेष आर्थिक क्षेत्रमा भएका कारण ती घटनामा धारा ५ लागू हुन्छ कि हुँदैन भन्ने विषय स्पष्ट छैन।

रक्षा विश्लेषक रादु ट्युडरका अनुसार कालो सागर क्षेत्रमा भएका घटनाप्रति प्रतिक्रिया जनाउन नेटोले निकै ढिलाइ गरेको छ। “दर्जनौँ घटना भइरहेका छन् र रुस नेटोको सीमातर्फ झन् नजिकिँदै छ। केवल आश्वासन र अभिव्यक्तिले पुग्दैन,” उनले भने।

अक्टोबरमा कालो सागरमा भएका ड्रोन आक्रमणहरू युक्रेनमाथि रुसले पूर्णस्तरको आक्रमण सुरु गरेयता रोमानिया र अन्य नेटो सदस्य राष्ट्रहरूको हवाई क्षेत्रमा ड्रोन प्रवेश गरेका घटनाकै पछिल्लो शृङ्खला हुन्। यस्ता अधिकांश घटना रुसी ड्रोनसँग सम्बन्धित भए पनि युक्रेनी ड्रोनले समेत सीमापार गरेका छन्।

अगस्टमा रोमानियाले विस्फोटक पदार्थ बोकेको आशंका गरिएको एउटा समुद्री ड्रोनलाई नष्ट गर्न दुईवटा एफ–१६ लडाकु विमान परिचालन गरेको थियो। उक्त ड्रोन कालो सागरमा रहेको प्रमुख ग्यास परियोजनानजिकै देखिएको थियो।

रोमानियाका कार्यवाहक रक्षामन्त्री रादु मिरुताका अनुसार ग्यास प्लेटफर्ममा काम गरिरहेका सयौँ मानिसको जीवन रक्षा गर्न उक्त निर्णय लिइएको थियो। जुलाईमा रोमानिया, बुल्गेरिया र टर्कीएले कालो सागरमा समुद्री सुरुङ तथा विस्फोटक पदार्थ निष्क्रिय पार्न गठन गरिएको संयुक्त नौसैनिक सहकार्यलाई विस्तार गरेका थिए।

रोमानियाको रक्षा मन्त्रालयका अनुसार नयाँ व्यवस्थामा महत्त्वपूर्ण समुद्री जलमुनिका पूर्वाधारको सुरक्षा गर्ने जिम्मेवारीसमेत थपिएको छ। यसअन्तर्गत रोमानियाको विशेष आर्थिक क्षेत्रमा स्थायी नौसैनिक उपस्थिति कायम गर्ने योजना छ। तर, व्यापारिक जहाजको सुरक्षा गर्नु सहज छैन।

धेरै जहाज एउटा देशको झण्डामुनि सञ्चालन भए पनि तिनको स्वामित्व अर्को देशको कम्पनीसँग हुन्छ। बुल्गेरियाका रक्षामन्त्री दिमितार स्टोयानोभले बुधबार आफ्नो देश अक्टोबरको अन्त्यसम्ममा नेटोको ‘ड्रोन एज’ परियोजनामा सहभागी हुने योजना रहेको बताएका छन्।

जुलाईमा सुरु भएको उक्त परियोजनामा रोमानिया पनि सहभागी छ। आगामी पाँच वर्षमा ड्रोन प्रतिरोधी क्षमता विकास गर्न ४० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने यसको लक्ष्य छ। अन्नसम्बन्धी परामर्शदाता कम्पनी एग्रिकोलमका संस्थापक सेजार घेर्गेका अनुसार ड्रोन आक्रमणका घटनाले रोमानियाको कालो सागरस्थित कन्स्टान्टा बन्दरगाहको व्यापारमा अहिलेसम्म नकारात्मक प्रभाव पारेको छैन।

तर, कालो सागर क्षेत्रभरि जहाजको बीमा लागत बढ्नु मुख्य चिन्ताको विषय बनेको उनले बताएका छन् । उनका अनुसार सबैभन्दा ठूलो चिन्ता कन्स्टान्टा बन्दरगाहमा वा त्यसको आसपास कुनै गम्भीर दुर्घटना हुन सक्ने जोखिम हो।

जुन महिनामा युक्रेनको एउटा समुद्री ड्रोन रोमानियाको बन्दरगाहमा विस्फोट भएको थियो। त्यसैगरी, नजिकै रहेका अन्य तीनवटा ड्रोन पनि घटनामा संलग्न भएको उल्लेख गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top