६ कार्तिक , काठमाण्डौ ।
विश्वकै सबैभन्दा रहस्यमय र शक्तिशालस् शासकका रुपमा चर्चित उत्तर कोरियाली नेता किम जोङ उनको मृत्युको हल्ला फैलिएको छ । यस्तो अफवाहका बीच सरकारी सञ्चारमाध्यममा नेता किम जोङ उनकी नयाँ तस्वीरहरू सार्वजनिक भएका छन्।
मस्तिष्कमा रक्तस्राव (ब्रेन ह्यामरेज) भएर उनको मृत्यु भएको हल्ला फैलिएको थियो। तर सार्वजनिक तस्वीरमा उनी आफ्नो स्वास्थ्य अवस्थालाई लिएर फैलिएको हल्लाभन्दा निकै स्वस्थ देखिएका छन्।

उत्तर कोरियाको सरकारी अखबार ‘रोदोङ सिनमुन’ ले यी तस्वीरहरू प्रकाशित गरेको हो। तस्वीरमा ४२ वर्षीय शासक किम जोङ उन आफ्नी छोरीसँगै कपडा तथा जुत्ताको प्रदर्शनी अवलोकन गरिरहेको देखिन्छन्।
अमेरिकामा बसोबास गर्ने चीनका एक असन्तुष्ट कार्यकर्ताले कुनै प्रमाणबिना किमको मृत्यु भएको दाबी गरेको केही घण्टापछि यी तस्वीरहरू सार्वजनिक भएका हुन्। ती कार्यकर्ताले किम कोमामा गएको, उपचारका लागि बेइजिङको एक अस्पतालमा भर्ना गरिएको र त्यसपछि उनको मृत्यु भएको दाबी गरेका थिए।

यद्यपि, उत्तर कोरियालाई नजिकबाट नियाल्नेहरूका लागि यस्ता अफवाह अब लगभग सामान्य भइसकेका छन्। उत्तर कोरिया विश्वकै सबैभन्दा गोप्य देशहरूमध्ये एक हो। त्यहाँबाट बाहिर आउने सूचनाको पुष्टि गर्न प्रायः कठिन हुन्छ।
यही कारणले गर्दा अड्कलबाजी र अफवाहले सजिलै ठाउँ पाउँछन्। यसपटक यस्तो दाबी वानजुन सी नामका व्यक्तिले गरेका हुन्। उनी आफूलाई ‘चाइनिज डेमोक्रेटिक पार्टी’का अध्यक्ष बताउँछन्। उक्त संगठनलाई चीनका अधिकारीहरूले प्रतिबन्ध लगाएका छन्।
सीले यसअघि पनि पुष्टि नभएका दाबीहरू गर्दै आएका छन्। तीमध्ये चीनका नेता सी चिनफिङको मृत्यु भएको हुन सक्ने भन्ने अड्कलबाजी पनि समावेश छ।वानजुन सीले किम जोङ उनलाई गम्भीर ब्रेन ह्यामरेज भएको दाबी गरेका थिए।
उनका अनुसार उत्तर कोरियामा आवश्यक उपचार सुविधा नभएकाले किमलाई बेइजिङ लगिएको थियो।उनले पछि किमको मृत्यु भएको र उनको शव गोप्य रूपमा उत्तर कोरिया फिर्ता पठाइएको दाबीसमेत गरेका थिए।
उत्तर कोरियाली सरकारले उनको मृत्युको खबर लुकाइरहेको पनि उनको भनाइ थियो। तर सार्वजनिक भएका नयाँ तस्वीरले भने फरक कथा प्रस्तुत गर्छन्। तस्वीरहरूमा किम आफ्नी छोरी किम जु ऐ र उनीसँग सधैँ देखिने अधिकारीहरूका बीच प्रदर्शनी अवलोकन गरिरहेको देखिन्छन्।
यद्यपि, यी तस्वीरहरू ठ्याक्कै कहिले खिचिएका हुन् भन्ने यकिन गर्ने कुनै उपाय छैन। त्यसका बाबजुद पनि उक्त दाबीमाथि शंका गर्ने अन्य कारणहरू छन्। उत्तर कोरियाको सीमामा कुनै असामान्य गतिविधि देखिएको छैन।
यदि किम जोङ उनको स्वास्थ्य अवस्था अचानक यति गम्भीर बनेको भए उत्तर कोरियाको सीमाबाहिर पनि त्यसका केही संकेत देखिन सक्थे। सम्भावित अस्थिरता वा शरणार्थीहरूको आगमनलाई ध्यानमा राख्दै चीनले आफ्नो सीमामा सुरक्षा व्यवस्था कडा बनाउन सक्थ्यो।
उत्तर कोरियाका कूटनीतिक नियोगहरू वरपर पनि गतिविधि बढ्न सक्थ्यो। दक्षिण कोरियामा बसोबास गर्ने उत्तर कोरियाली नागरिकहरूले प्रायः चीनको सीमामा रहेका अनौपचारिक सम्पर्कहरूमार्फत जानकारी प्राप्त गर्छन्। तर यसपटक त्यस्तो केही भएको छैन।
दक्षिण कोरियाका गुप्तचर अधिकारीहरूले पनि समाचार संस्था योनहापसँग कुरा गर्दै यी खबरको पुष्टि गर्ने कुनै जानकारी प्राप्त नभएको बताएका छन्। किम जोङ उनको मृत्यु भएको यो अफवाह यसअघि फैलिएका झूटा खबरहरूजस्तै देखिन्छ।
सन् २०२० मा उत्तर कोरियाबाट भागेर आएका एक चर्चित व्यक्तिले मुटुको शल्यक्रियापछि किमको मृत्यु भएकोमा आफूलाई ‘९९ प्रतिशत विश्वास’ रहेको दाबी गरेका थिए। तर त्यसको केही समयपछि किम सार्वजनिक रूपमा देखा परे र उक्त दाबी गलत साबित भयो।
यसको पहिलो कारण उत्तर कोरियामा सत्ता हस्तान्तरणलाई लिएर रहेको अनिश्चितता हो। उत्तर कोरियामा किम परिवारका तीन पुस्ताले शासन गरिसकेका छन्। तर किम जोङ उनपछि देशको नेतृत्व कसले सम्हाल्ने भन्ने विषय उनका पूर्ववर्तीहरूको समयको तुलनामा कम स्पष्ट छ।
किम इल सङले आफ्ना छोरा किम जोङ इललाई सत्ता हस्तान्तरण गर्न दशकौँसम्म तयार पारेका थिए। सन् १९९४ मा किम इल सङको मृत्यु हुँदा उत्तराधिकारीको योजना पूर्ण रूपमा तयार भइसकेको थियो। त्यसैले किम जोङ इललाई सत्ता सम्हाल्न तुलनात्मक रूपमा सहज भयो।
तर किम जोङ उनको सत्तारोहण भने निकै छिटो र अनिश्चित परिस्थितिमा भएको थियो। सन् २००८ मा किम जोङ इललाई मस्तिष्कघात भएपछि उनका कान्छा छोरालाई तीव्र गतिमा सत्ताका विभिन्न तहमा अगाडि बढाइएको थियो।
सन् २०११ मा उनका बुबाको मृत्यु हुँदा किम जोङ उनलाई सार्वजनिक रूपमा भावी नेताका रूपमा प्रस्तुत गरिसकिएको थियो। त्यसका बाबजुद पनि किम जोङ उनलाई सत्तामाथि आफ्नो पकड बलियो बनाउन धेरै वर्ष लाग्यो।
यस अवधिमा उनले आफ्ना विरोधीहरूलाई हटाए र आफूलाई खतरा ठानेका व्यक्तिहरूलाई समेत समाप्त पारे। दक्षिण कोरियाको गुप्तचर निकायको विश्वास छ कि किम जोङ उनले सम्भवतः आफ्नी छोरीलाई उत्तराधिकारी बनाउने तयारी गरिरहेका छन्।
किम जु ऐ अहिले ठूला सार्वजनिक कार्यक्रम तथा सैन्य प्रदर्शनहरूमा पहिलेको तुलनामा बढी देखिन थालेकी छन्। तर उनको उमेर केवल १३ वर्ष रहेको मानिन्छ। उत्तर कोरियाको नेतृत्व अहिलेसम्म कुनै महिलाले सम्हालेकी छैनन्।
किम जु ऐलाई औपचारिक रूपमा उत्तराधिकारी पनि घोषणा गरिएको छैन। कम उमेरका कारण सत्ताका लागि कुनै संघर्ष भएमा उनको स्थिति कमजोर हुन सक्छ। उत्तराधिकारलाई लिएर रहेको यही अनिश्चितताले किम जोङ उनको स्वास्थ्यबारे फैलिने अफवाहले किन यति धेरै ध्यान आकर्षित गर्छन् भन्ने कुरा स्पष्ट पार्छ।
यसको दोस्रो कारण किम जोङ उनको स्वास्थ्यबारे फैलिने आशंकाहरू पूर्ण रूपमा निराधार जस्ता नदेखिनु हो। किमको तौल बढी छ र उनी धेरै धूम्रपान गर्छन्। दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवा (नेसनल इन्टेलिजेन्स सर्भिस) ले उनको जीवनशैलीका कारण मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम बढी रहेको चेतावनी पटकपटक दिँदै आएको छ।
किम परिवारमा मुटुरोग र मस्तिष्कघातको इतिहास पनि छ। यदि किम जोङ उनलाई केही भयो भने त्यसको प्रभाव छिमेकी देशहरूका साथै समग्र अन्तर्राष्ट्रिय समुदायका लागि निकै गम्भीर हुन सक्छ।
नेतृत्वमा अचानक संकट उत्पन्न भएमा उत्तर कोरियाको आणविक हतियारमाथिको नियन्त्रण र राजनीतिक अस्थिरताबारे जटिल प्रश्नहरू उठ्न सक्छन्। के सत्ताका लागि हुने संघर्षले कट्टरपन्थी नेताहरूलाई आक्रामक कदम चाल्न प्रेरित गर्न सक्छ?
के अशान्तिका कारण चीनको सीमामा शरणार्थी संकट उत्पन्न हुन सक्छ? जस्ता प्रश्नले बेइजिङ र सोललाई मात्र होइन, दक्षिण कोरियामा करिब २८ हजार सैनिक तैनाथ गरेको अमेरिकालाई पनि चिन्तित बनाउँछन्।
यही कारणले गुप्तचर निकायहरूले किम जोङ उनमाथि निकै नजिकबाट निगरानी राख्छन्, ताकि उनीसँग सम्बन्धित कुनै पनि घटनाका लागि तयार रहन सकियोस्। उत्तर कोरिया सूचनाको मामिलामा अझै पनि एउटा ‘ब्ल्याक होल’ जस्तै छ।
त्यसैले ऊ झूटा खबर फैलाउनेहरूका लागि सजिलो निशाना बन्ने गरेको छ। उत्तर कोरियाली नेतासम्म नियमित पहुँच भएका मानिसहरू निकै कम छन्। गुप्तचर निकायहरूलाई समेत भरपर्दो सूचना जुटाउन कठिन हुन्छ।
बाहिर आउने सूचनासँग पनि प्रायः विभिन्न सावधानी जोडिएका हुन्छन्। तिनलाई निश्चित तथ्यका रूपमा नभई ‘अपुष्ट’ वा ‘सम्भावित’ भन्दै प्रस्तुत गरिन्छ। उत्तर कोरियाली सरकारले जानाजानी अन्योल बढाउने र देशभित्र वास्तवमा के भइरहेको छ भन्ने कुरा लुकाउन गलत सूचनाहरू बाहिर आउन दिने गरेको आरोप पनि लाग्ने गर्छ।
यस्तो अवस्थामा वानजुन सीले यति महत्त्वपूर्ण सूचना प्राप्त गरेको विश्वास गर्न कठिन हुन्छ, जबकि उत्तर कोरियामाथि निगरानी राख्नु नै काम भएका व्यक्तिहरूले त्यस्तो कुनै जानकारी पाएका छैनन्।
सम्भवतः उनी मानिसहरूको ध्यान आकर्षित गर्न चाहन्थे। उनको उद्देश्य चीन र उत्तर कोरियाबीचको सम्बन्धलाई उजागर गरेर बेइजिङलाई असहज अवस्थामा पार्नु पनि हुन सक्छ।
यद्यपि, बेइजिङ र प्योङयाङबीचको सम्बन्धबारे विश्व समुदाय पहिलेदेखि नै जानकार छ। उनको उद्देश्य जे भए पनि उत्तर कोरियाली नेतृत्वबारे रहेको अनिश्चितताको फाइदा उठाउने वानजुन सी पहिलो व्यक्ति भने होइनन्।



