काठमाडौं,कात्तिक ५
पोखरा प्रिमियर लिग –पीपीएल) मा प्रतियोगिताको नियमानुसार प्रत्येक टोलीले दुई विदेशी खेलाडी राख्न पाउने प्रावधान छ ।जसअनुसार धनगढी ब्लुजले आफ्नो दुई विदेशी खेलाडी तय गरेको छ ।धनगढीले इंग्लिस ब्याट्सम्यान ड्यान लरेन्स र पाकिस्तानी तीव्र गतिका बलर उमेद आसिफलाई टोलीमा समेटेको छ ।
२१ वर्षीय लरेन्स हाल एस्सेक्सको सिनियर टोलीबाट खेलिरहेका छन् । उनले एसेक्सको उमेर समूहको टोलीको पनि प्रतिन्धित्व गरिसकेका छन् । अगस्तमा उनले काउन्टी च्याम्पियनसिप क्रिकेटमा हाम्पसायरविरुद्ध शतक पनि प्रहार गरेका थिए ।
टि–२० मा उनले यसै सिजनको इंग्लिस भाइटालिटि ब्लास्टमा स्टिभ फिन, दाविद मालानजस्ता अन्तर्राष्ट्रिय खेलाडी सम्मिलित टोलीविरुद्ध ४६ बलमा ८६ रनको उत्कृष्ट इनिङस खेलेका थिए । काउन्टी सिजन अहिले विश्राममा रहेका कारण उनले नेपालमा आएर खेल्न लागेका हुन् ।
अर्का खेलाडी पाकिस्तानका उमेद आसिफले पाकिस्तानको घरेलु क्रिकेटमा ५५ पहिलो श्रेणीका खेल खेलिसकेका छन् । उनले पाकिस्तान सुपर लिगमा पेशावर जाल्मीका लागि खेलेका छन् । उनी पछिल्लो समय पाकिस्तान ‘ए’ टोलीको सदस्य पनि रहेका थिए । असिफले दुई साताअघि न्युजिल्याण्ड ए विरुद्ध ५ विकेट लिँदै टोलीलाई ६५ रनमा समेट्न मदत गरेका थिए ।