१६ कार्तिक , काठमाण्डौ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई नौ रनले हरायो ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा जित निकाल्दै जनकपुरले लगातार दोस्रो जित दर्ता गरेको हो।

यससँगै जनकपुरले चार अंक जोडेको छ।
जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो।

पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए।
विपिन आचार्यले २०, साकिब अल हसनले नौ तथा विपिन खत्रीले १७ रन जोडे।
जनकपुरका मोइन अलीले चार ओभरमा १३ रन खर्चेर तीन विकेट लिए।
सैफ हसनले दुई तथा कप्तान हर्मितले पनि दुई विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको जनकपुरले सात विकेट गुमाएर १४७ रन बनाएको थियो।
जनकपुरका तृतराज दासले ६१ रन बनाए। यो एनपीएलमा उनको पहिलो अर्धशतक हो।
अभिषेक तिवारीले अविजित २४ र मोइन अलीले २१ रनको योगदान गरे।
पोखराका साकिब अल हसनले तीन विकेट लिए भने चमिका करुणरत्नेले दुई विकेट हात पारे।
जितसँगै जनकपुर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
समान चार अंक भएको कर्णाली याक्सभन्दा जनकपुर रनरेटमा पछाडि छ।
पोखराले भने लगातार दोस्रो हार व्यहोरेको छ।



