१८ कार्तिक , काठमाण्डौ ।
नेपालीहरुको अर्को महान् चाड तिहार नजिकिँदै गर्दा नेपाल पर्यटन बोर्डले पहिलो पटक ‘कुकुर तिहार रिल प्रतियोगिता’ को आयोजना गर्ने भएको छ । बोर्डले कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली परम्परालाई डिजिटल सामग्रीका माध्यमबाट विश्वभर चिनाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक भिडियो रील तयार गरी आफ्नो इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट रिल बनाउने एक जनालाई नगद एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

नेपाली संस्कृतिमा कुकुरलाई निष्ठा, सुरक्षा र आत्मीयताको प्रतीकका रूपमा सम्मान गर्दै तिहारको अवसरमा पूजा गर्ने परम्परा रहेको छ । तिहारको दोस्रो दिन मनाइने कुकुर तिहारमा कुकुरलाई टीका, माला तथा मीठा परिकार खुवाउने र पूजा गरिन्छ ।
यही सांस्कृतिक विशेषतालाई आधुनिक डिजिटल माध्यमसँग जोड्दै नेपालको मौलिक पर्वलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पु¥याउने उद्देश्य प्रतियोगिताले राखेको छ । प्रतियोगितामा सहभागी हुनेले तयार पारेको रील अंग्रेजी भाषामा हुनुपर्नेछ ।
भिडियोमा अंग्रेजी सबटाइटल वा अंग्रेजी भाषाको भ्वाइसओभर अनिवार्य गरिएको छ । सहभागीले आफ्नो भिडियो इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गरी ह्यासट्याग नेपालफेस्टिभल र ह्यासट्याग कुकुरतिहार ह्यासट्याग प्रयोग गर्नुपर्नेछ ।
इन्स्टाग्राममा एट द रेट नेपाल टुरिजमलाई ट्याग गर्नुपर्नेछ भने फेसबुकमा नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्नेछ । सामाजिक सञ्जालमा प्रकाशित भिडियोसहित डाउनलोड तथा हेर्न मिल्ने अनुमति प्रदान गरिएको गुगल ड्राइभ लिंक फोटो नेपाल एट द रेट एनटीबी डट ओआरजी डट एनपीमा इमेलमार्फत पठाउनुपर्नेछ ।
प्रतियोगितामा सहभागी हुने भिडियो मौलिक सिर्जना हुनुपर्नेछ । प्राप्त भिडियोहरूलाई पर्यटन बोर्डले आफ्नो पर्यटन प्रवद्र्धन, प्रचारप्रसार तथा डिजिटल सञ्चारका विभिन्न माध्यममा प्रयोग गर्न सक्नेछ । प्रतियोगितामा सहभागी हुन भिडियो पठाउने अन्तिम मिति सन् २०२६ नोभेम्बर २१ तोकिएको छ ।
कुकुर तिहारलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई नेपाली समाजमा रहेको जीवजन्तुप्रतिको प्रेम, सम्मान र सहअस्तित्वको सन्देशका रूपमा विश्वसामु प्रस्तुत गरिने छ । डिजिटल माध्यममा सिर्जनात्मक सामग्री उत्पादन गर्ने युवाहरू तथा अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित प्रतियोगिताले नेपालको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
कार्तिक कृष्ण चतुर्दशीकै दिन कुकुर तिहार पर्दछ, कुकुर तिहारको दिन उसको निष्ठा र साहसको सम्मान गरिन्छ । कुकुरलाई हिन्दु धर्ममा निष्ठा, सुरक्षा र न्यायको प्रतीक मानिन्छ । पौराणिक कथाहरूमा कुकुरलाई विशेष स्थान दिइएको छ, यसका विभिन्न धार्मिक र पौराणिक कारणहरू रहेका छन् ।
कुकुरलाई विधिवत् पूजा गर्नु भनेर त शास्त्रमा लेखिएको छैन तर ‘स्वानबलि’ भनेर कुकुरलाई जे खान मन पर्छ त्यो दिनु भनिएको छ । पौराणिक कथा अनुसार श्याम र सबल भन्ने कुकुर यमलोकको द्वारमा दुईतिर बस्छन् । यमलोकमा सबै जीवले जानुपर्छ भन्ने मान्यता छ ।
यमराजको सान्निध्यमा जाँदा यी कुकुरले दुःख नदिऊन् भनेर ‘स्वानबलि’ दिइएको हो । त्यसो त कुकुरलाई पनि यमदूत नै मानिएको छ । महाभारतको कथा अनुसार, जब धर्मराज युधिष्ठिर आफ्नो भाइहरू र एक कुकुरसँग स्वर्ग यात्रामा जान्छन्, सबै भाइहरू बीचमै पतन हुन्छन्, तर कुकुरले अन्त्यसम्म पनि युधिष्ठिरलाई साथ दिन्छ ।
पछि त्यो कुकुर धर्मराजको प्रतीक भएको कुरा थाहा हुन्छ । कुकुरलाई यमराजको दूतको रूपमा पनि मानिन्छ, जसले सत्य, निष्ठा, र धर्मको मार्गमा चल्नेहरूको सम्मान गर्छ । यो कथा कुकुरको निष्ठा, सद्गुण र सहनशीलताको प्रतीक भएकाले जसलाई कुकुर पूजा गरी सम्मान गरिन्छ।
हिन्दुधर्ममा कुकुरलाई मृत्युदेवता यमराजका दूत मानिन्छ । कुकुरले मृत्यु पछिको जीवन र यमलोकमा प्रवेशको प्रतीकात्मकता बोकेको छ । त्यसैले कुकुरलाई सम्मान गर्दै पूजा गर्दा यमराज प्रसन्न हुने र मृत्युपछिको जीवनमा शान्ति मिल्ने जनविश्वास छ ।
भगवान शिवको एक उग्र रूप कालभैरवलाई कुकुरको साथसाथै चित्रण गरिन्छ । भैरव न्यायका रक्षक मानिन्छन् र उनीहरूलाई साथ दिने कुकुरलाई पनि धर्म र न्यायको प्रतीकका रूपमा मानिन्छ । कुकुरको सेवाले राहु र केतु ग्रहजन्य पीडा कम हुन्छ भन्ने ज्योतिषीय मान्यता समेत रहेको छ ।
साथै वर्तमान समयमा पनि कुकुरले मान्छेलाई सुरक्षा दिन्छ र उसको निष्ठा अतुलनीय रहेको कुरालाई नकार्न सकिँदैन । घरपालुवा कुकुरले मालिकको सुरक्षा गर्ने, चेतावनी दिने र सङ्कटमा सहयोग गर्ने अहम् भूमिका खेल्दछ । यी धार्मिक, पौराणिक र सांस्कृतिक कारणहरूकै कारणले कुकुर तिहार मनाइन्छ, जसमा कुकुरको पूजा गरेर उसको योगदानको कदर गरिन्छ ।



