रिपब्लिकनको पकड तोड्दै डेमोक्र्याटले जित्यो सिनेट, ट्रम्पको पत्तासाफ

१८ कात्तिक २०८३, बुधबार
Share this
738shares

१८ कार्तिक , काठमाण्डौ ।

Advertisement

डोनाल्ड ट्रम्पको राष्ट्रपतिको कार्यकाल अझै २ वर्ष बाँकी रहेका बेला अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनबाट डेमोक्र्याटिक पार्टीले सिनेटको नियन्त्रण आफ्नो हातमा लिएको छ । ट्रम्पको पार्टी रिपब्लिकनले बलियो पकड बनाएका राज्यहरूमा समेत लगातार जित निकाल्दै डेमोक्र्याटिक पार्टीले सिनेटमा बहुमत पु¥याएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ ।

बीबीसीको अमेरिकी साझेदार सीबीएसका अनुसार डेमोक्र्याटिक पार्टीले कम्तीमा २१८ सिट जित्ने प्रक्षेपण गरेको छ । रिपब्लिकन पार्टीले भने कम्तीमा १६० सिट जित्ने अनुमान छ । निर्वाचनअघि १०० सदस्यीय सिनेटमा रिपब्लिकन पार्टीका ५३ र डेमोक्र्याटिक पार्टीका ४५ सदस्य थिए ।

Advertisement

दुई स्वतन्त्र सांसदले पनि डेमोक्र्याटिक पार्टीलाई समर्थन गर्दै आएका थिए । सिनेटमा बहुमतका लागि ५१ सिट आवश्यक पर्छ । बहुमतमा पुग्न डेमोक्र्याटिक पार्टीले रिपब्लिकनबाट कम्तीमा चार सिट खोस्नुपर्ने थियो । र यसपटक उसले रिपब्लिकनबाट ६ वटा सिट खोसेपछि सिनेटको नियन्त्रण आफ्नो हातमा लिएको हो ।

रोयटर्सका अनुसार आयोवा राज्यमा अप्रत्याशित जित निकालेपछि डेमोक्र्याटिक पार्टीले सिनेटमा आफ्नो बहुमत सुनिश्चित गरेको हो । नर्थ क्यारोलिनामा रोय कुपरले रिपब्लिकन माइकल वाट्लीलाई, टेक्ससमा जेम्स टालारिकोले केन प्याक्सटनलाई, साउथ क्यारोलिनामा एनी एन्ड्र्युजले डार्लिन ग्राहमलाई, ओहायोमा शेरोड ब्राउनले जोन हस्टेडलाई, कन्सासमा एडम ह्यामिल्टनले रोजर मार्सललाई र आयोवामा डेमोक्र्याटिक उम्मेदवारले रिपब्लिकन उम्मेदवारलाई हराउँदै छ सिट खोसेका हुन् ।

टेक्सस, कन्सास र साउथ क्यारोलिनालाई रिपब्लिकनको बलियो प्रभाव रहेका राज्य मानिन्छ । डेमोक्र्याटिक पार्टीले आफूले जोगाउनुपर्ने मिशिगन र मिनेसोटाका दुवै सिट भने गुमायो । तैपनि सिनेटमा बहुमत कायम राख्न सक्ने अवस्था बनेको रोयटर्सले जनाएको छ ।

टेक्ससमा डेमोक्र्याटिक उम्मेदवार जेम्स टालारिकोले राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गरेका रिपब्लिकन उम्मेदवार केन प्याक्सटनलाई पराजित गरे। तीन दशकभन्दा बढी समयदेखि टेक्ससमा राज्यस्तरको कुनै पनि चुनाव नजितेको डेमोक्र्याटिक पार्टीका लागि यो जित विशेष महत्त्वपूर्ण छ ।

साउथ क्यारोलिनामा डेमोक्र्याटिक उम्मेदवार एनी एन्ड्र्युजले रिपब्लिकन उम्मेदवार डार्लिन ग्राहमलाई हराइन् । ग्राहमलाई ट्रम्पले यसै वर्ष निधन भएका आफ्ना दाजु तथा सिनेटर लिन्डसे ग्राहमको ठाउँमा उम्मेदवार बनाएका थिए ।

ओहायोमा डेमोक्र्याटिक उम्मेदवार शेरोड ब्राउनले सिनेटको सिट जिते। दुई वर्षअघि यही सिटबाट अहिलेका उपराष्ट्रपति जेडी भान्स निर्वाचित भएका थिए । दुई वर्षअघि राष्ट्रपति निर्वाचनमा ट्रम्पले साउथ क्यारोलिनामा १८ प्रतिशत र कन्सासमा १६ प्रतिशत मतान्तरले जितेका थिए।

त्यस्ता राज्यमा समेत डेमोक्र्याटिक उम्मेदवार विजयी हुनुले यसपटकको निर्वाचनमा मतदाताको समर्थनमा आएको परिवर्तन देखाएको रोयटर्सको समाचारमा उल्लेख छ । नर्थ क्यारोलिनामा पूर्वगभर्नर रोय कुपरले रिपब्लिकन उम्मेदवार माइकल वाट्लीलाई हराएर सिनेट सिट जितेका थिए ।

जर्जियामा जोन ओसफ र न्यु ह्याम्पसायरमा क्रिस पापासले पनि आफ्नो पार्टीका सिट जोगाए। यी जितले सिनेटमा डेमोक्र्याटिक पार्टीको बहुमत थप सुनिश्चित गरेका छन् । प्रतिनिधिसभामा भने मतगणना जारी छ। ४३५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ ।

निर्वाचनअघि रिपब्लिकन पार्टीसँग झिनो बहुमत थियो । डेमोक्र्याटिक पार्टीले बहुमतका लागि कम्तीमा तीन सिट थप जित्नुपर्ने थियो । प्रारम्भिक नतिजामा रिपब्लिकनका केही सुरक्षित मानिएका निर्वाचन क्षेत्रमा समेत डेमोक्र्याटिक उम्मेदवारले जित निकालेपछि प्रतिनिधिसभाको नियन्त्रण पनि उसकै हातमा पुग्ने सम्भावना बढेको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ ।

गभर्नरका चुनावमा पनि डेमोक्र्याटिक पार्टीले महत्त्वपूर्ण सफलता हासिल गरेको छ। टेक्ससमा जिना हिनोजोसाले रिपब्लिकन गभर्नर ग्रेग एबटलाई हराइन्। ओहायोमा एमी एक्टनले रिपब्लिकन विवेक रामास्वामीलाई पराजित गरिन्।

जर्जियामा किशा लान्स बटम्स निर्वाचित भइन् । फ्लोरिडामा भने रिपब्लिकन उम्मेदवार बायरन डोनाल्ड्स गभर्नर निर्वाचित भए । निर्वाचनमा रिपब्लिकन पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत् आफू उम्मेदवार नभएकाले यस्तो नतिजा आएको आशय व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘म मतदानमा उम्मेदवार थिइनँ। यदि म उम्मेदवार भएको भए हामी भारी मतान्तरले जित्ने थियौँ।’ यसैबीच ट्रम्पले मध्यावधि चुनावको नतिजा स्वीकार गर्न तयार रहेको पनि बताए । उनको रिपब्लिकन पार्टीले प्रतिनिधि सभाको नियन्त्रण गुमाउने प्रारम्भिक संकेत देखिएपछि उनले डेमोक्र्याटसँग मिलेर काम गर्ने बताएका हुन् ।

बुधबार न्यूयोर्क टाइम्ससँगको अन्तर्वार्तामा ट्रम्पले डेमोक्र्याटसँग सहकार्य गर्न तयार रहेको बताए। उनले भने, ‘म यी नतिजा स्वीकार गर्न पूर्ण रूपमा तयार छु। हामी डेमोक्र्याटसँग काम गर्नेछौं । आशा छ, हामीले सहकार्यको बाटो भेट्टाउनेछौं।’ मध्यावधि चुनावको नतिजाबारे सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै ट्रम्पले लेखेका छन्, ‘म उम्मेदवार थिइनँ। यदि म भएको भए, हामी भारी मतले जित्ने थियौं।’

धेरै रिपब्लिकन नेताहरू पहिले नै मध्यावधि चुनावमा ट्रम्पको अडानबाट असन्तुष्ट थिए । प्रतिनिधि सभा र सिनेटमा नियन्त्रण गुमाउने सम्भावनाका साथ ट्रम्पले दिएको अभिव्यक्तिले रिपब्लिकन पार्टीभित्र विभाजन अझ बढाउन सक्ने आंकलन गरिएको छ ।

अब पार्टीले सदनमा बहुमत गुमाउँदा ट्रम्पलाई आफ्नो एजेन्डासँग सम्बन्धित कानुन पारित गराउन गाह्रो हुनेछ । चुनावी अभियानमा ट्रम्पले रिपब्लिकन उम्मेदवारहरूको पक्षमा व्यापक प्रचार गरेका थिए। तर, बढ्दो महँगी, इन्धनको मूल्य र इरान युद्धप्रति मतदाताको असन्तुष्टिले रिपब्लिकनलाई ठुलो क्षति पु¥याएको छ।

प्रतिनिधिसभामा बहुमत पाए डेमोक्र्याटले ट्रम्प र उनको परिवारले ह्वाइट हाउस फर्किएयता कसरी आर्थिक लाभ लिइरहेका छन् भन्ने विषयमा छानबिन अघि बढाउन सक्छन् । इरानमा युद्ध सुरु गर्ने निर्णयलगायत ट्रम्प प्रशासनका विवादास्पद कदममाथि पनि अनुसन्धान हुन सक्नेछ ।

त्यस्तै, डेमोक्र्याटले ट्रम्पविरुद्ध तेस्रो पटक महाभियोग प्रक्रिया अघि बढाउन सक्ने सम्भावना पनि छ । यद्यपि, ट्रम्पलाई नै महाभियोग लगाउनुभन्दा उनको मन्त्रिपरिषद्का केही सदस्यविरुद्ध प्रक्रिया अघि बढाउन सक्ने आंकलन समेत गरिएको छ ।

प्रतिनिधिसभामा डेमोक्र्याटको नियन्त्रणले आगामी दुई वर्ष ट्रम्पले अघि बढाउन सक्ने नीति तथा कार्यक्रम र राजनीतिक निर्णयमा अंकुश लगाउन सक्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top