प्लेअफ पुग्ने पहिलो टोली बन्यो लुम्बिनी, पोखरा बाइबाइ

२७ कात्तिक २०८३, शुक्रबार
Share this
761shares

२७ कार्तिक , काठमाण्डौ ।

Advertisement

कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा प्लेअफमा प्रवेश गरेको छ । यो जितसँगै लुम्बिनी प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । एक खेल अगावै प्लेअफमा स्थान बनाएको लुम्बिनी नौ अंकका साथ शीर्ष स्थानमा उक्लियो ।

टोलीले ६ खेल खेल्दा चार जित र एक हार व्यहो¥यो । लुम्बिनीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । लुम्बिनीले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीले प्रस्तुत गरेको १०६ रनको लक्ष्य १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो ।

Advertisement

लुम्बिनीको जितका डार्सी सर्टले सर्वाधिक ४६ रन बनाए । डार्सीले ३४ बलमा ६ चौका र एक छक्का प्रहार गरे । उनले चौथो विकेटको निम्ति निरोशन डिक्वेलासँग ४१ रनको साझेदारी गरेका थिए । अविजित रहेका दिलिप नाथले २८ रन बनाए । निरोसनले १६ रन बनाए ।

उनीबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कर्णालीका निम्ति मार्क वाटले चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दा एक मेडन ओभर फ्याक्दै १२ रन खर्चिए । पवन सर्राफ र हुसेन तलतले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रनको योगफल खडा गरेको थियो ।

कर्णालीलाई सस्तैमा रोक्न लुम्बिनीका अभिषेक गौतम, किशोर महतो, डार्सी र कप्तान रोहितकुमार पौडेलले समान दुई विकेट लिए । रुबेन ट्रम्पेलमन र शेर मल्ले समान एक विकेट लिए । कर्णालीका निम्ति सोमपाल कामीले २८ रन बनाए । हुसेनले २४, गुल्सन झाले १३ र पवनले १२ रन बनाए ।

यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । हारसँगै कर्णालीको प्लेअफ सम्भावना कठिन बनेको छ । टोलीले प्लेअफका निम्ति अन्तिम खेल कुर्नुपर्ने भएको छ । कर्णालीले ६ खेल खेल्दा दुई जित र चार हार व्यहोर्दै चार अंकमा बनाएको छ । अब टोलीको प्लेअफ छनोट आइतबार (कात्तिक २९) हुने चितवन राइनोजविरुद्धको अन्तिम खेलबाट हुनेछ ।

उता पोखरा एभेन्जर्स बिहीबार विराटनगर किंग्ससँग ४ विकेटले पराजित भएसँगै प्लेअफ दौडबाट औपचारिक रूपमै बाहिरिएको छ । र जारी सिजनमा प्लेअफब दौडबाट बाहिरिने पहिलो टिम बनेको छ । विराटनगरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको पोखरा १८ औँ ओभरमा १३२ रन बनाउँदा अलआउट भएको थियो ।

जवाफमा विराटनगरले ६ विकेट गुमाएर अन्तिम ओभरमा लक्ष्य पूरा ग¥यो । आजको जितले विराटनगर किंग्सको प्लेअफ सम्भावना जीवित राखेको छ । पोखराले ६ खेलमध्ये एक खेलमा मात्र जित हात पारेको छ र अंकतालिकामा २ अंकका साथ अन्तिम स्थानमा छ । अब यहाँबाट पोखरा अघिल्लो चरणमा पुग्न सक्दैन ।

र लगातार तेस्रो सिजन पोखरा प्लेअफमा पुग्न असफल हुन्छ । ८ फ्रेन्चाइज टिममध्ये पोखरा मात्र प्लेअफ पुग्न नसकेको एक मात्र असफल टिम बनेको छ । पोखरा यो सिजन पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भयो । दोस्रो खेलमा जनकपुर बोल्टसँग ९ रनले पराजित भएको पोखरा तेस्रो खेलमा लुम्बिनी लायन्ससँग ८ विकेटले पराजित भयो ।

लगातार चौथो खेलमा पोखरालाई चितवन राइनोजले ३० रनले हरायो । यो हारसँगै पोखराको प्लेअफ दौड लगभग सकिएको थियो । तर, बिहीबार छैटौँ खेलमा पाँचौँ हारले पोखरालाई यो सिजनका लागि बाइबाइ गरिदियो । पोखराले ६ मध्ये एक खेल कर्णाली याक्समाथि जित निकालेको थियो ।

पोखरा लगातार तीनै सिजन प्लेअफमा पुग्न असफल भए पनि केही सकारात्मक नतिजाका लागि स्मरणमा रहने टिम हो । एनपीएलको पहिलो सिजनमा पोखराको समग्र प्रदर्शन खरा रहे पनि पहिलो शतपक पोखराकै ब्याटरबाट बनेको थियो । पहिलो सिजनमा अमेरिकन खेलाडी आन्द्रे गौसले शतक बनाएका थिए ।

पोखराले दोस्रो सिजन पनि राम्रो गरेन । तर, दोस्रो सिजनमा बनेका दुई शतकमध्ये एक शतक पोखरेली ब्याटरबाटै बनेको थियो । इंगिलिस खेलाडी आडम रोसिंटनले पोखराका लागि शतक बनाएका थिए । दोस्रो सिजनमा अर्को शतक कर्णाली याक्सका लागि स्कटसि खेलाडी मार्क वाटले शतक बनाएका थिए ।

तेस्रो सिजनमा एक मात्र शतक बनेको छ । त्यो पनि पोखरेली ब्याटरकै नाममा रहेको छ । क्यानेडियन खेलाडी युवराजसिंह साम्राले पोखराका लागि कर्णाली याक्सविरुद्ध शतक बनाए । उनी यो सिजन शतक बनाउने एक मात्र खेलाडी हुन् । यसै खेलमा पोखराले यो सिजनको सर्वाधिक स्कोर पनि बनाएको थियो ।

पोखराले २१७ रन बनाएको थियो, जुन यो सिजनको सर्वाधिक ठूलो स्कोर हो । पोखराका मार्की खेलाडी कुशल भुर्तेल, जारी सिजनमा कप्तानीबाट बिचमै हटाइए । उनको स्थानमा श्रीलंकन खेलाडी चमिका करुणरत्ने कप्तान बनाइए । लगातार तेस्रो हारपछि भुर्तेल कप्तानीबाट हटाइए । तर टिमको नतिजामा खासै परिवर्तन आएन ।

पहिलो सिजनबाटै पोखराका लागि ब्याटिङबाट उल्लेख्य योगदान दिन नसकेका कुशलले यो सिजन ६ खेलमा मात्र एक अर्धशतक बनाएका छन् । राष्ट्रिय टिमका ओपनर ब्याटर पोखराका लागि तेस्रो नम्बरमा ब्याटिङ गरिरहेका छन् । तर, सफल देखिएनन् । बरु कुशल पछिल्ला खेलहरूमा एक विशेषज्ञ लेग स्पिनर बन्दै गएका छन् ।

उनले यो सिजन पोखराका लागि सर्वाधिक विकेट लिएका छन् । उनले ६ खेलमा ६ विकेट लिएका छन् । एनपीएलमा आज पहिलो खेल सुदूरपश्चिम र काठमाडौं तथा जनकपुर र चितवनबीच हुनेछ । तालिकामा काठमाडौं ५ खेलमा ४ जितसहित दोस्रो स्थानमा छ भने सुदूर ६ खेलमा ४ जितसहित तेस्रो स्थानमा छ । यस्तै चितवन ५ खेलमा २ जितसहित पाचौ स्थानमा छ भने जनकपुर ६ खेलमा २ जितसहित छ्रठौ स्थानमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top