३० कार्तिक , काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा गत सिजनका फाइनलिस्ट लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्। लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोर्खाज पोखरा एभेन्जर्ससँग ५५ रनले पराजित भएपछि पहिलो क्वालिफायर र एलिमिनेटर खेल्ने टोलीको टुङ्गो लागेको हो। आठ टोली सहभागी लिगबाट पोखरा र कर्णालीसँगै जनकपुर बोल्ट्स र विराटनगर किंग्स अन्तिम चारबाट बाहिरिएका छन्। पहिलो क्वालिफायरमा शीर्ष स्थानको लुम्बिनी र दोस्रो स्थानको सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्नेछन्। लिग चरणको पाँच खेलमा जित, एक खेलमा हार र एक खेलमा अंक बाँडेको लुम्बिनी ११ अंकसहित तालिकाको शीर्षस्थानमा रहेर पहिलो क्वालिफायर खेल्ने भएको हो।
लिग चरणमा लुम्बिनी काठमाडौँ गोखार्जसँग ३६ रनले पराजित भएको थियो। त्यस्तै, पाँच खेलमा जित र दुई खेलमा हार भोगेको सुदूरपश्चिम १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्ने भएको हो। पहिलो क्वालिफायर खेल मंसिर १ गते मंगलबार हुनेछ। यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। अघिल्लो सिजनमा पनि उपाधिका लागि यिनै २ टिम भिड्न्त हुँदा लुँिबनी च्याम्पियन बनेको थियो । पराजित हुने टोलीले भने फाइनल पुग्न दोस्रो मौका पाउनेछ। त्यसका लागि दोस्रो क्वालिफायर खेल्नेछ। प्लेअफमा पुगेका अन्य दुई टोलीमा काठमाडौं गोर्खाज र चितवन राइनोज हुन्। काठमाडौँ चार खेलमा जित र तीन खेलमा हार भोग्दै आठ अंकमा तालिकाको तेस्रो र तीन खेलमा जित, तीन खेलमा हार र एक खेलमा अंक बाँड्दै सात अंक बनाएको चितवन तालिकाको चौथो स्थानमा रहेर एलिमिनेटर खेल्ने भएका हुन्। एलिमिनेटर खेल बुधबार हुनेछ। एलिमिनेटरमा जित निकाल्ने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ। पराजित हुने टोली भने बाहिरिनेछ। एलिमिनेटरमा जित निकाल्ने टोलीले लुम्बिनी र सुदूरपश्चिमबीचको पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायर खेल बिहीबार हुनेछ। पहिलो क्वालिफायर र दोस्रो क्वालिफायर खेलको विजेता उपाधिका लागि भिड्नेछन्। एनपीएलको तेस्रो सिजनको फाइनल खेल शनिबार हुनेछ।लिग चरणको अन्तिम खेलमा हिजो पोखरा एभेन्जर्सले काठमाण्डू गोर्खाजविरुद्ध ५५ रनको रोमाञ्चक जित निकालेको थियो । यो जितसँगै पोखराले सातौँ स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ । पोखराले सात खेलबाट दुई जित र पाँच हार व्यहोर्दै चार अंक जोडेको हो । टोलीले रन रेटका आधारमा जनकपुर बोल्ट्सलाई पछाडि पारेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको काठमाण्डूले १९.४ ओभरमा सबै विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो । काठमाण्डूलाई सस्तैमा रोक्न दिनेश खरेलले महत्त्वपूर्ण चार विकेट लिए । उनको बलिङ काठमाण्डूको मध्यक्रम कमजोर बनाउन निर्णायक रह्यो । काठमाण्डूले पावर प्लेमा उत्कृष्ट सुरुआत गरे पनि मध्यक्रममा लय कायम गर्न सकेन । काठमाण्डूले पावर प्लेमा एक विकेट गुमाएर ५६ रन बनायो । पावर प्लेको समाप्तीपछि भने टोलीका ब्याटरहरू लामो समय क्रिजमा टिक्न सकेनन् ।
ओपनर स्मितले ३४ रन बनाए । उनले दोस्रो विकेटको निम्ति विलियमसँग ६० रनको अर्धशतकीय साझेदारी गरे । तर, दिनेश स्टम्पिङको सिकार बनाएपछि साझेदारी तोडिएको थियो । पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका रशिदले मात्र मध्यक्रमा सन्तोषजनक प्रर्दशन गरे । रशिदले ३१ रन बनाए । उनले मध्यक्रममा इनिङ उकास्ने प्रयास गरेका थिए । उनी क्रिज प्रवेश गर्दा काठमाण्डूले तीन विकेट गुमाएर ८० रन बनाएको थियो । यो स्थितिबाट रशिदले १५.२ ओभरसम्म खेल्दै २० बलमा तीन चौका र दुई छक्का प्रहार गरे । सोनु देवकोटाले २९ रन बनाए । उनले १४ बलमा चार छक्का प्रहार गर्दै पराजयको रन अन्तर घटाउने प्रयास गरेका थिए । तर, अन्तिम बलमा सटको प्रयास गर्दा उनी पोखराका चमिका करुणारत्नेबाट क्याच भएका थिए । अविजित रहेका विलियमले २६ रन बनाए । जहान्डाड खानले २४ रन बनाए । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ओपनर भीम शार्की आठ रन बनाएर पभेलियन फर्किए । अविजित रहेका सोनु देवकोटाले पाँच रन जोडे । सुमित महर्जनले तीन रन बनाए भने सेहन अरचिगेले एक रन बनाए । कप्तान करण केसी र सन्तोष यदाव डक आउट भए । त्यसअघि टस हारेर ब्याटिङमा आएको पोखराले काठमाण्डूविरुद्ध निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२४ रनको कीर्तिमानी योगफल खडा गरेको थियो । एनपीएलको इतिहासमा यो सर्वाधिक लक्ष्य हो । यसअघि यो कीर्तिमान विराटनगर किंगसको नाममा थियो । पोखराका निम्ति मार्की कुशलले ९९ रनको विस्फोटक अर्धशतकीय इनिङ खेले । जुन टोलीले प्रस्तुत गरेको उक्त विशाल लक्ष्यको मुख्य आधार बन्यो । जारी सिजनमा कुशलको यो सबैभन्दा उत्कृष्ट इनिङ हो ।
यससँगै कुशलले जारी सिजनमा स्वदेशी खेलाडीतर्फ सर्वाधिक रन बनाउने ब्याटरको कीर्तिमान रचेका छन् । यसअघि यो कीर्तिमान ८७ रन बनाएका लोकेश बमको नाममा थियो । कुशलले ५१ बलमा समान आठ चौका र छक्का प्रहार गर्दै उक्त कीर्तिमान आफ्नो नाममा ल्याए ।उनले एनपीएलको चौथो अर्धशतक पनि पूरा गरे । उनले यसै सिजन यसअघि कर्णाली याक्सविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका थिए । कुशलले दोस्रो सिजनमा दुई अर्धशतक प्रहार गरेका थिए । कुशलले दोस्रो विकेटको निम्ति ओपनर युवराजसँग १८६ रनको शतकीय साझेदारी गरे । युवराजले ८९ रनको अर्धशतकीय पारी खेले । एनपीएलमा यो सम्राको दोस्रो अर्धशतक हो । उनले यसअघि विराटनगर किंगसविरुद्ध अर्धशतक प्रहार गरेका थिए । उनी जारी सिजनको एकल शतककर्ता समेत हुन् ।



