आज कहाँ पर्छ पानी ? काठमाडौँको न्यूनतम तापक्रम एकै दिनमा २.४ डिग्रीले बढ्यो

३० कात्तिक २०८३, सोमबार
Share this
737shares

३० कार्तिक , काठमाण्डौ ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले पछिल्लो चौबीस घन्टामा विभिन्न भूभागमा छिटपुटदेखि हल्का र मध्यम वर्षा भएको छ । कास्कीको पोखरा एयरपोर्टमा चौबीस घन्टामा ४६ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले अद्यावधिक गरेको छ । त्यस्तै संखुवासभाको टासी गाउँमा ३७ मिलिमिटर वर्षा भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा छिटपुटदेखि हल्का वर्षा मापन भएको छ । यस्तै आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

Advertisement

त्यस्तै कोशी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु÷कुहिरो लाग्ने महाशाखाले जनाएको छ । राति कोशी तथा गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैबीच काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एकै दिनमा २.४ डिग्री सेल्सियसले बढेको छ। सोमबार बिहान ५ः४५ बजे गरिएको प्रारम्भिक मापनमा उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस रेकर्ड गरिएको हो ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मनोज भट्टका अनुसार आइतबार बिहान सोही समयमा काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन भएको थियो ।यस आधारमा सोमबार बिहानको प्रारम्भिक तापक्रम अघिल्लो दिनको तुलनामा २.४ डिग्रीले बढी देखिएको हो । रातिको मौसमले बिहानको न्यूनतम तापक्रममा प्रभाव पार्छ। राति आकाश बादलले ढाकिएमा तापक्रम तुलनात्मक रूपमा बढी रहने र आकाश खुला रहेमा तापक्रम घट्ने गर्छ । यसैबीच हाल बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीले नेपालमा प्रभाव नपार्ने मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले बताएका छन् । उनले बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुँदै चक्रवात बन्ने दिशामा अघि बढिरहेको भए पनि त्यसले नेपालमा असर नगर्ने बताएका हुन् ।

हालसम्मको मौसमी विश्लेषणअनुसार उक्त प्रणालीले नेपालको मौसममा उल्लेखनीय प्रभाव पार्ने सम्भावना नरहेको उनले जानकारी दिए। विभागले उक्त प्रणालीको अवस्था, सम्भावित मार्ग र दिशा निरन्तर अनुगमन गरिरहेको उनको भनाइ छ । यसको मार्गमा परिवर्तन आएर नेपालमा प्रभाव पर्ने अवस्था देखिए विभागले आवश्यक जानकारी गराउने उनले बताए। उनका अनुसार हाल नेपालमा उक्त प्रणालीका कारण ठूलो वर्षा वा लगातार झरी पर्ने सम्भावना देखिएको छैन । उनले भने, ‘बंगालको खाडीमा जुन न्यूनचापीय क्षेत्र छ, त्यो गहिरो न्यूनचापीय क्षेत्रमा परिणत भएको जस्तो देखिन्छ। यसले बिस्तारै चक्रवातको अवस्था लिने जस्तो देखिन्छ ।

Advertisement

तथापि यो चक्रवात बने पनि यसले नेपालमा प्रभाव पार्ने जस्तो देखिँदैन। यसले नेपालमा मौसमको फेरबदल बनाउने, वर्षाको गतिविधि बढाउने जस्तो देखिँदैन। यो प्रणालीको नेपाल मौसम विज्ञान विभागले यसको अवलोकन गरिरहेको छ। यसले कसरी चाहिँ ट्र्याक लिन्छ? यो कता जान्छ भन्ने किसिमको विश्लेषण भइरहेको छ। यदि फेरबदल आउने भयो भने चाहिँ हामी जानकारी गराउनेछौँ। अहिलेसम्मको प्रक्षेपणअनुसार यसले खासै नेपालको मौसममा प्रभाव पार्ने जस्तो देखिँदैन।’यसैबीच काठमाण्डौ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढेको छ । आज बिहान देशका अन्य शहरहरूको तुलनामा विराटनगरको हावा सबैभन्दा बढी अस्वस्थ मापन गरिएको छ । विराटनगरमा वायु गुणस्तर सूचकांक एक्यूआई २४६ पुगेको छ ।

जुन अति अस्वस्थकर श्रेणीमा पर्छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई १५० नाघेपछि हावा सबैका लागि अस्वस्थकर हुन्छ भने २०० नाघेपछि यो अति अस्वस्थकर बन्छ ।आज विराटनगरबाहेक देशका अन्य प्रमुख शहरहरूमा पनि प्रदूषणको मात्रा बढेको छ । आज काठमाण्डौमा एक्यूआई १६३, वीरगन्जमा १६४, चितवनमा १५५ र नेपालगन्जमा १५१ पुगेको रेकर्ड गरिएको छ । पानी पर्ने क्रम रोकिनु, वायुमण्डल स्थिर हुनु र विभिन्न ठाउँमा कृषि अवशेष जलाउने क्रम शुरु हुनुले वायु प्रदूषण बढेको हो । यसका साथै, छिमेकी देश भारतमा बढेको वायु प्रदूषणको असर पनि नेपालका विभिन्न भूभागमा देखिएको वायु गुणस्तर विज्ञहरूले बताएका छन् ।

अब सुख्खा र चिसो मौसम बढ्दै जाँदा वायु प्रदूषणको मात्रा थप उकालो लाग्ने सम्भावना हुन्छ । यसले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै विज्ञहरूले विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । बिहान र बेलुकाको समयमा सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै पर्दा अनिवार्य रूपमा मास्क प्रयोग गर्न डाक्टरहरुको सुझाव छ । बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा श्वासप्रश्वास र मुटुका बिरामीहरूले विशेष सतर्कता अपनाउन चिकित्सक तथा वातावरणविद्हरूले सुझाव दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top