हुथीले साउदी समर्थित सेनालाई लखेट्यो, तेस्रो ग्।क्। धबचकजष्उ आयो (भिडिओसहित)

३० कात्तिक २०८३, सोमबार
Share this
693shares

३० कार्तिक , काठमाण्डौ ।    यमनमा हुथी विद्रोही अगाडि बढेसँगै साउदी अरेबियाको समर्थन प्राप्त ‘सदर्न आम्र्ड फोर्सेस’ बाब एल–मन्देब जलमार्गक्षेत्रबाट पछि हटेको छ । संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त यमनी सरकारसमर्थित सेनाले आइतबार आफ्नो सैन्य अवस्थिति परिवर्तन गरेको जनाएको छ । सेनाका अनुसार पछि हट्नुको उद्देश्य दक्षिणी सहर एडेन र आसपासका प्रान्तको सुरक्षा तथा सेनाको अग्रपंक्ति बलियो बनाउनु हो । सेनाले तेस्रो ठूलो सहर ताइजमाथिको हुथी नाकाबन्दी अन्त्य गर्ने लक्ष्यसमेत राखेको बताइएको छ । करिब २० लाख जनसंख्या रहेको ताइजमा नाकाबन्दीका कारण खाद्यान्न र औषधि अभावको जोखिम बढेको छ । हुथी विद्रोहीहरूले राजधानी सानासहित उत्तरपश्चिम यमनको ठूलो भूभाग नियन्त्रणमा राखेका छन् । इरान समर्थित यस समूहले सेप्टेम्बरमा सरकारी सेनाविरुद्ध आक्रमण तीव्र पार्दै लाल सागरलाई अदनको खाडी र हिन्द महासागरसँग जोड्ने रणनीतिक बाब एल–मन्देब जलमार्गको अधिकांश तटीय क्षेत्रमा नियन्त्रण विस्तार गरेको थियो । उनीहरूले प्रमुख बन्दरगाह सहर मोखा पनि कब्जा गरेका छन् ।
साउदी समर्थित सेना पछि हड्ने कदमले यस क्षेत्रमा हुथीहरूको प्रभाव थप विस्तार हुने आशंका बढाएको छ । एएफपीका अनुसार हुथी लडाकुहरू अहिले एडेनबाट करिब ६० किलोमिटर टाढा पुगेका छन् । यमनमा सरकार र हुथी विद्रोहीबीच एक दशकभन्दा बढी समयदेखि गृहयुद्ध जारी छ । इरान र साउदी अरेबियाबीचको क्षेत्रीय प्रतिस्पर्धाले पनि द्वन्द्वलाई थप जटिल बनाएको छ । यसैबीच, हुथीहरूले आइतबार साउदी राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र वित्तीय जिल्लालाई निशाना बनाएको दाबी गरेका छन् । तर, साउदी अरेबियाले उक्त आक्रमणको पुष्टि गरेको छैन । यसैबीच अमेरिकी जलसेनाको अत्याधुनिक विमानबाहक पोत ‘यूएसएस थिओडोर रुजवेल्ट’ मध्यपूर्व क्षेत्रमा आइपुगेको एक अमेरिकी अधिकारीले अलजजिरालाई बताएका छन् । यससँगै अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) को कार्यक्षेत्रमा तैनाथ अमेरिकी विमानबाहक पोतहरूको संख्या तीन पुगेको छ ।यससंगै मध्यपूर्वमा विकसित ताजा भूराजनीतिक द्वन्द्वका कारण यस क्षेत्रको सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ । उता, इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले वासिङ्टनले कूटनीतिक पहलको कुराकानी गरेर फेरि अर्को आक्रमणका तयारी गरिरहेको दाबी गरेका छन् । उनले अवस्था यस्तै रहे इरान चुप लागेर नबस्‍ने चेतावनी दिए । यसैबीच, बहराइनस्थित अमेरिकी दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकका लागि विशेष सुरक्षा सतर्कता जारी गरेको छ। इरान र हुथी विद्रोहीहरूबाट सम्भावित आक्रमणको जोखिम रहेको भन्दै दूतावासले चेतावनी दिएको हो । यसअघि बहराइन सरकारले आफ्नो आकाशमा इरानी आक्रमणलाई वायु रक्षा प्रणाली (एयर डिफेन्स) मार्फत निष्प्रभावी बनाएको जनाएको थियो । यसैबीच हर्मुज जलमार्गमा दुईवटा तेल ट्यांकरहरूमा विस्फोट भई आगलागी भएको इरानी जलसेनाले जनाएको छ ।यस्तै आईआरजीसीले बहराइनको रिफा एयर बेसस्थित अमेरिकी हवाई रक्षा प्रणालीको राडारमा ६ ड्रोनबाट आक्रमण गरेको दाबी गरेको छ । सरकारी समाचार संस्था फार्स न्युज एजेन्सीले उक्त जानकारी दिएको हो । बहराइनको आन्तरिक मन्त्रालयले यसअघि सम्भावित सुरक्षा खतराबारे पटक–पटक चेतावनी जारी गर्दै नागरिकलाई सुरक्षित आश्रयस्थलमा जान आग्रह गरेको थियो । फार्समा प्रकाशित विज्ञप्तिमा आईआरजीसीले जहाजको सुरक्षा गर्ने अमेरिकी प्रयास असफल भएको र होर्मुज जलमार्ग अझै बन्द रहेको दाबी गरेको छ । अमेरिकाले थप आक्रामक कदम चाले त्यसको कठोर र विनाशकारी जवाफ दिने चेतावनी समेत उसले दिएको छ । अमेरिकी सेनाले पछिल्लो आक्रमणको दाबीबारे प्रतिक्रिया जनाएको छैन । शुक्रबार पनि आईआरजीसीले बहराइनस्थित अमेरिकी ‘अर्ली वार्निङ राडार’ केन्द्रमा आक्रमण गरी लक्ष्य ध्वस्त पारेको दाबी गरेको थियो । तर, अमेरिकी सेनाको क्षेत्रीय कमान्ड सेन्ट्रल कमान्ड (सेन्टकम)ले उक्त दाबी अस्वीकार गर्दै इरानका दुई ड्रोन खसालिएको र कुनै मानवीय वा भौतिक क्षति नभएको जनाएको थियो ।

Advertisement

यसैबीच, इरानले अमेरिका र इजरायलबाट हुने कुनै पनि नयाँ आक्रमणको तत्काल र निर्णायक जवाफ दिने चेतावनी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्लाई दिएको छ । साथै, बहराइनसहितका खाडी राष्ट्रहरूले अमेरिकी सैन्य कारबाहीमा सहयोग गरेको आरोप लगाएको छ । बहराइनले भने खाडी मुलुकमाथि भइरहेका इरानी आक्रमणको निन्दा गर्दै तत्काल रोक्न माग गरेको छ । आईआरजीसीको आक्रमणको दाबी सार्वजनिक भएपछि बहराइनको आन्तरिक मन्त्रालयले नागरिकलाई शान्त रहन र नजिकैको सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । यसक्रममा देशका विभिन्न क्षेत्रमा साइरन बजाइएको थियो । राजधानी मनामामा करिब तीन घण्टाको अन्तरालमा दुई सुरक्षा चेतावनी जारी गरिएको थियो । पहिलो चेतावनी बिहान ४ः३० बजे जारी गरिएको थियो । मन्त्रालयले सम्भावित खतराबारे सचेत गराउँदै नागरिकलाई सतर्क रहन आग्रह गरेको थियो ।तर, बहराइनका सुरक्षा चेतावनी र आईआरजीसीको पछिल्लो आक्रमणको दाबीबीच प्रत्यक्ष सम्बन्ध रहेको आधिकारिक पुष्टि भएको छैन । सेन्टकमले पनि पछिल्लो घटनाबारे कुनै औपचारिक विवरण सार्वजनिक गरेको छैन । यता इजराइलमा संयुक्त सरकार गठनका लागि प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र विपक्षी नेता गादी आइजेनकोटबीच भएको छलफल निष्कर्षविहीन भएको छ । दुवै पक्षले प्रधानमन्त्री पद अर्को पक्षलाई दिन अस्वीकार गरेपछि वार्तामा सहमति जुट्न नसकेको इसराइली अखबार टाइम्स अफ इजराइलले जनाएको छ । आइतबार नेतान्याहूको लिकुड पार्टी र आइजेनकोट नेतृत्वको याशार पार्टीका वार्ता टोलीबीच करिब एक घन्टा छलफल भएको थियो । बैठकपछि दुवै पक्षले सकारात्मक वातावरणमा वार्ता भएको र छलफल जारी रहने बताएका थिए ।

तर प्रधानमन्त्री पद कसले लिने भन्ने विषयमा दुवै पक्ष आ–आफ्नो अडानमा रहेको टाइम्स अफ इजराइलले जनाएको छ । आइजेनकोट नेतृत्वको गठबन्धनका वरिष्ठ सांसद चिली ट्रोपरले लिकुडका प्रतिनिधिलाई आफूहरू जुनसुकै अवस्थामा पनि सरकार गठन गर्न प्रतिबद्ध रहेको बताएका थिए । ‘आइजेनकोट जुनसुकै परिस्थितिमा सरकार बनाउन दृढ छन्। यो कुरा बुझ्नुपर्छ,’ उनले भनेका छन् । नेतान्याहूनिकट व्यक्तिहरूले सम्भावित एकता सरकारमा दक्षिणपन्थी नेता इतामार बेन्गभिरको ओत्ज्मा येहुदित पार्टीलाई सहभागी नगराउन सकिने संकेत दिएका छन्। आइजेनकोटले नेतन्याहूसँग सत्ता सहकार्यका लागि राखेका विभिन्न सर्तहरूमध्येम लिकुडले अति दक्षिणपन्थी यहुदी पार्टीलाई सरकारमा सहभागी गराउन नहुने पनि एक थियो । इजराइल हायोमका अनुसार अमेरिकाले पनि बेन्गभिरलाई सरकारमा नराख्न दबाब दिएको छ ।तर नेतान्याहूले सार्वजनिक रूपमा आफ्ना सबै अति दक्षिणपन्थी र अति धार्मिक सहयोगी दललाई सरकारमा सहभागी गराउनुपर्ने अडान राख्दै आएका छन्। लिकुडले वामपन्थी डेमोक्रेट्स पार्टीलाई समेत सरकारबाट बाहिर राख्न नहुने बताएको छ । नेतान्याहूसँग सहकार्य गर्ने विषयमा आइजेनकोटको गठबन्धनभित्रै मतभेद छ । यिसरेल बेइतेनुका नेता अभिग्दोर लिबरम्यानले नेतान्याहूसँगको वार्तालाई आइजेनकोटका लागि थापिएको जालको संज्ञा दिएका छन् । ‘नेतान्याहूको युग अन्त्य गर्नु सबैभन्दा महत्वपूर्ण लक्ष्य हो। उनलाई कृत्रिम रूपमा जीवन दिन हाम्रो कुनै रुचि छैन,’ उनले भनेका छन् । तर पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेट भने लिकुडसँग एकता सरकार गठनको सम्भावना खोज्नुपर्ने पक्षमा छन्। उनले आलोपालो प्रधानमन्त्री हुने व्यवस्था भए आइजेनकोट पहिले प्रधानमन्त्री हुनुपर्ने अडान राखेका छन्।

Advertisement

यसैबीच आइजेनकोट नेतृत्वको गठबन्धनले अति धार्मिक दल युनाइटेड टोरा जुडाइजम (यूटीजे) सँग पनि सरकार गठनबारे छलफल गरिरहेको छ। च्यानल १२ का अनुसार दुवै पक्षबीच दैनिक सम्पर्क भइरहेको र गठबन्धन निर्माणमा प्रगति भएको छ । तर यूटीजेका अध्यक्ष याकोभ आशेरले सहमतिका मस्यौदा आदानप्रदान भएको र वार्तामा उल्लेख्य प्रगति भएको भन्ने समाचार अस्वीकार गरेका छन् । यूटीजेसँगको सम्भावित सहकार्यलाई लिएर अर्को अति धार्मिक दल शास भने सशंकित छ। शासका नेता आर्येह डेरीले अति धार्मिक समुदायका पुरुषलाई अनिवार्य सैनिक सेवामा सहभागी गराउने कानुनबारे सुनिश्चितता नभई आइजेनकोट नेतृत्वको सरकारलाई सहयोग गर्नु जोखिमपूर्ण हुने बताएका छन् ।इजराइलको संसद्को कानुनी सल्लाहकारले सरकार गठन हुनुअघि सैनिक सेवासम्बन्धी कानुन पारित हुन नसक्ने बताएको उल्लेख गर्दै डेरीले त्यसबारे सुनिश्चितता खोजेका छन्। तर यूटीजेका अध्यक्ष आशेरले आइजेनकोटसँग औपचारिक वार्ता सुरु नभएको बताएका छन् । यसअघि लिकुडका प्रतिनिधिले संसद्को सभामुखमा याशारका सांसद माटान काहानालाई अघि सार्ने निर्णय रोक्न आग्रह गरेका थिए। तर याशारले अस्वीकार गर्दै वर्तमान सभामुख आमिर ओहानालाई हटाउने मतदान मंगलबार हुने जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top