किन निस्किए अमरेशकुमार मेची–महाकाली यात्रामा ?

३० कात्तिक २०८३, सोमबार
Share this
798shares

३० कार्तिक , काठमाण्डौ ।      नेपाली राजनीतिमा व्यक्तिगत रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका नेता हुन् अमरेशकुमार सिंह । लामो समयसम्म नेपाली कांग्रेसको राजनीतिमा दक्षिणतर्फको खेलाडीका रूपमा स्थापित सिंह दक्षिणतर्फसँगको सम्बन्ध बिग्रिएपछि कांग्रेसभित्रै कमजोर बन्दै गएका थिए। जब २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले उनलाई टिकट दिएन, त्यसपछि सिंहले सर्लाही–४ बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचन जिते। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको जनकपुरको पहिलो चुनावी सभाबाट रास्वपामा प्रवेश गरेका सिंहले पहिलो दिन नै फागुन २१ गतेको प्रतिनिधिसभाबाट बालेन्द्र शाह प्रधानमन्त्री बन्ने मात्र ठोकुवा गरेनन्, यदि बालेन प्रधानमन्त्री नबने आफूले जानकी माताको भूमिमा नै आत्मदाहा गर्ने उद्घोषसमेत गरे। फागुन २१ मा निर्वाचन भयो, बालेन शाह दुई तिहाइ नजिकको सरकारको प्रधानमन्त्री बने, सिंहले आत्मदाहा गर्नु परेन।

Advertisement

रास्वपाको सरकार बनेसँगै सिंहले उद्योग मन्त्री बन्न नमानेका खबरहरू बाहिर आए। त्यसपछि केही समय मौन बसेका सिंह एकाएक बालेन्द्र शाहकै विरोधमा उत्रिए। त्यतिबेलासम्म रास्वपा र प्रधानमन्त्रीका बारेमा पार्टीका कुनै पनि नेताहरूले मुख खोल्न सकेका थिएनन्। अहिले पनि खास गरी प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना गर्न सिंह पछि परेका छैनन्। तिनै सिंह आज जनताका कुरा सुन्न भन्दै दुई महिने मेची–महाकाली यात्रामा निस्किएका छन्।सोमबार जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा पार्टी सभापति रवि लामिछानेले नेपालको राष्ट्रिय झन्डा र पार्टीको झण्डा हस्तान्तरण गर्दै उनको यात्राको शुभारम्भ गरेका छन् । लामिछानेले यो यात्रा राजनीति र दलगत सीमाभन्दा माथि उठेर राष्ट्रिय एकता, सामाजिक सद्भाव र सबै समुदायलाई जोड्ने अभियान बन्नुपर्ने सन्देश दिए। तर यो यात्रा केवल जनताका समस्या सुन्ने एउटा अभियान मात्र हुन सक्दैन । दुई महिनासम्म देशको पूर्वदेखि पश्चिमसम्म गरिने यात्राका पछाडि राजनीतिक सन्देश, पार्टीभित्रको भूमिका विस्तार र राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति स्थापित गर्ने उद्देश्य पनि जोडिएको हुन सक्ने विश्लेषण गरिन्छ । सिंहले यात्राको मुख्य उद्देश्य जनतासँग प्रत्यक्ष भेटघाट गर्ने, उनीहरूका समस्या सुन्ने र वास्तविक जनभावना बुझ्ने बताएका छन् । उनको योजना भाषण गर्नेभन्दा जनताको कुरा सुन्ने अभियान सञ्चालन गर्नु हो । यस अर्थमा यो यात्राले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्धलाई प्रत्यक्ष संवादमा जोड्ने प्रयास गरेको छ ।यात्राको प्रारम्भिक योजना हुलाकी राजमार्गलाई केन्द्रमा राखेर मेचीदेखि महाकालीसम्म पुग्ने रहेको छ । दैनिक करिब पाँच घण्टा पैदल हिँड्ने र सात घण्टा स्थानीय नागरिकका कुरा सुन्ने उनको योजना सार्वजनिक भएको छ । किसान, मजदुर, महिला, दलित, मुस्लिम, व्यवसायी तथा विभिन्न समुदायका नागरिकका समस्या सङ्कलन गर्ने र ती विषयलाई संसद् तथा सरकारसम्म पु¥याउने उनको भनाइ छ । अमरेशकुमार सिंह नेपाली राजनीतिमा नयाँ अनुहार होइनन् । उनी लामो समयदेखि संसदीय राजनीति र सार्वजनिक बहसमा सक्रिय नेता हुन्। सर्लाहीको बलरा नगरपालिका–४ का स्थायी बासिन्दा सिंहले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन्। उनी २०४२ सालदेखि विद्यार्थी राजनीतिमा जोडिएका थिए । २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद्का सदस्य बनेका सिंहले २०७० र २०७४ सालमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचन जितेका थिए ।

२०७९ सालमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर सर्लाही–४ बाट निर्वाचित भएका उनी यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोही क्षेत्रका सांसद बनेका छन् । यसरी कांग्रेस, स्वतन्त्र र रास्वपाको राजनीतिक यात्राबाट गुज्रिएका सिंहले आफ्नो निर्वाचन क्षेत्रमा लगातार तीनपटक चुनाव जितेका छन् । अहिले उनी प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यसमेत छन् ।उनको राजनीतिक यात्राको अर्को पक्ष पनि महत्त्वपूर्ण छ। सिंह परम्परागत दलको संरचनाभित्र रहेर राजनीति गरेका नेता हुन् । तर पार्टीभित्रको असन्तुष्टिपछि स्वतन्त्र उम्मेदवारी र त्यसपछि रास्वपाको यात्रा रोजे । त्यसैले उनको अहिलेको अभियानलाई एउटा सांसदको व्यक्तिगत कार्यक्रमका रूपमा मात्रै नभई बदलिँदो राजनीतिक पहिचानसँग जोडेर पनि हेर्न सकिन्छ।सिंहका लागि यो अभियान रास्वपाको मधेशसँगको सम्बन्ध बलियो बनाउने अवसर हुन सक्छ। मधेश नेपालको जनसङ्ख्या र निर्वाचन दुवै हिसाबले महत्त्वपूर्ण क्षेत्र हो। २०७८ को जनगणनाअनुसार तराई–मधेशका २१ जिल्लामा देशको कुल जनसङ्ख्याको करिब ५२.६९ प्रतिशत बसोबास गर्छन्। २०८२ को निर्वाचनमा पनि ती जिल्लामा कुल मतदाताको आधाभन्दा बढी हिस्सा थियो।

Advertisement

यस्तो अवस्थामा मधेशका नागरिकका समस्या, अपेक्षा र राजनीतिक मनोभावना बुझ्ने अभियानले रास्वपालाई आफ्नो राजनीतिक आधार विस्तार गर्न सहयोग पु¥याउन सक्छ ।सिंहले आफ्नो राजनीतिक पहिचानलाई मधेशमा मात्र सीमित नराखी राष्ट्रिय स्तरमा स्थापित गर्न खोजेको अर्थ पनि यसमा देखिन्छ। उनले मधेशलाई आठ जिल्लामा सीमित भूगोलका रूपमा नभई झापादेखि कञ्चनपुरसम्म फैलिएको तराई क्षेत्रका रूपमा बुझ्नुपर्ने धारणा सार्वजनिक गरिसकेका छन् । जात, धर्म, भूगोल र राजनीतिक आस्थाका आधारमा समाज विभाजित हुन नहुने उनको भनाइ छ । रवि लामिछानेले उद्घाटनका क्रममा राष्ट्रिय झन्डा र पार्टीको झण्डा एकसाथ हस्तान्तरण गर्नु पनि यही राष्ट्रिय एकताको सन्देशसँग जोडिएको छ। यो यात्रा सिंहको आफ्नै राजनीतिक सक्रियता र प्रभाव विस्तार गर्ने माध्यम पनि बन्न सक्छ। संसद्मा उठाइएका विषयभन्दा बाहिर नागरिकसँग प्रत्यक्ष भेटघाट गरेर आफ्नो उपस्थिति देखाउने अवसर पदयात्राले दिन्छ। लामो दूरीको यात्राले विभिन्न जिल्ला, समुदाय र स्थानीय नेतृत्वसँग सम्बन्ध विस्तार गर्ने सम्भावना पनि राख्छ। तर यसलाई उनको घोषित उद्देश्यभन्दा फरक कुनै निश्चित राजनीतिक योजनाको प्रमाण मान्न मिल्दैन।

अर्कोतर्फ, रास्वपाका सभापति लामिछाने स्वयंले यात्राको उद्घाटन गर्नुले यसलाई पार्टीको राजनीतिक सन्देशसँग पनि जोडिएको छ। लामिछानेले सिंहलाई दल र राजनीतिभन्दा माथि उठेर देशलाई केन्द्रमा राख्न, सम्प्रदाय र भूगोलबीच एकता कायम गर्न आग्रह गरेका छन्। निर्वाचनमा मधेशले जातीय सीमाभन्दा बाहिर र पहाडले दलगत सीमाभन्दा बाहिर मतदान गरेको सन्दर्भ उल्लेख गर्दै उनले देशलाई जोड्ने अभियान बनाउनुपर्ने बताएका छन्। यसले रास्वपाले आफ्नो राजनीतिक सन्देशलाई राष्ट्रिय एकता र सामाजिक सद्भावतर्फ जोड्न खोजेको देखाउँछ।सिंहले यात्रामा सङ्कलन गरिएका समस्या तीन प्रति तयार पारेर एउटा पार्टी सभापति लामिछानेलाई, अर्को प्रधानमन्त्रीलाई बुझाउने र तेस्रो आफूले संसद्मा जनताको आवाज उठाउन प्रयोग गर्ने बताएका छन्। यसले पदयात्रालाई केवल भेटघाटमा सीमित नराखी राजनीतिक तथा नीतिगत प्रक्रियासँग जोड्ने उनको योजना देखाउँछ।

तर यहाँ एउटा महत्त्वपूर्ण प्रश्न छ। हुलाकी राजमार्ग, सीमावर्ती व्यापार, किसानका समस्या, बेरोजगारी, वैदेशिक रोजगारी, शिक्षा, स्वास्थ्य, सिँचाइ र पूर्वाधारका समस्या नयाँ होइनन्। यी विषय वर्षौंदेखि उठ्दै आएका छन्। कतिपय आयोजना लामो समयदेखि अधुरा छन्। नागरिकले आफ्ना समस्या सुनाउन पाउनु मात्रै पर्याप्त हुँदैन, ती समस्या समाधान हुने प्रक्रिया पनि देखिनुपर्छ।त्यसैले सिंहको पदयात्राको सफलता कति किलोमिटर हिँडे, कति ठाउँमा कार्यक्रम गरे वा कति मानिस भेटे भन्ने आधारमा मात्र मापन गर्न सकिँदैन। यात्राका क्रममा सङ्कलित समस्या संसद्मा कति प्रभावकारी रूपमा उठ्छन्, सरकारले कति सम्बोधन गर्छ र सम्बन्धित निकायले कार्यान्वयनमा कस्तो चासो देखाउँछन् भन्ने कुराले यसको वास्तविक अर्थ निर्धारण गर्नेछ। मेचीको किनारबाट महाकालीसम्म पुग्ने यो यात्राले राजनीतिक चर्चा मात्र होइन, नागरिकका वास्तविक समस्या र समाधानका उपाय पनि बोकेर फर्किन सक्यो भने यसको औचित्य स्थापित हुनेछ। नत्र लामो दूरीको पदयात्रा पनि नेपाली राजनीतिमा देखिने अर्को एउटा अभियानमै सीमित हुन सक्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top