फास्ट ट्र्याकमा लामो सुरुङको ब्रेक थ्रु, ५१ प्रतिशत काम सकियो

२ मंसिर २०८३, बुधबार
Share this
695shares

२ मंसिर, काठमाण्डौ ।

Advertisement

काठमाडौंलाई तराई–मधेससँग जोड्ने राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को सबैभन्दा लामो सुरुङ मध्येको एक सुरुङको आज ब्रेक थ्रु गरिएको छ । राष्ट्रिय गौरवको यो आयोजना को करिव ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाअन्तर्गत सबैभन्दा लामो महादेवटार सुरुङको दुवैतर्फको खण्ड जोड्ने (ब्रेकथ्रु) कार्य पनि सम्पन्न भएको हो । नेपाली सेनाकाअनुसार आयोजनाअन्तर्गत सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन् ।

Advertisement

तीमध्ये तीन स्थानका पाँचवटा सुरुङको यसअघि नै ब्रेकथ्रु भइसकेको छ । महादेवटार सुरुङको ब्रेकथ्रुसँगै सुरुङ निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ । आयोजना निर्माणबारे जानकारी दिँदै नेपाली सेनाले अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको जनाएको छ ।

उच्च प्रविधियुक्त पुललगायत द्रुतमार्गका अन्य संरचना निर्माणको काम पनि अपेक्षित गतिमा अघि बढिरहेको सेनाको भनाइ छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार ३ हजार ४ सय २२ मिटर लम्बाई रहेको महादेवटार सुरुङको ब्रेक थ्रु गरेका हुन् ।

आयोजनाको निर्माण कार्य विभिन्न चरणमा प्रभावित भएपनि अहिले ललितपुरको खोकना–दुम्किसाप क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्या प्रमुख चुनौतीका रूपमा रहेको छ । उक्त क्षेत्रमा करिव ६.५ किलोमिटर सडक खण्डको विवाद समाधानका लागि पहल भइरहेको र समस्या समाधान भएपछि ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाइने नेपाली सेनाले जनाएको छ ।

महादेवटार सुरुङ आयोजनाको सबैभन्दा लामो सुरुङ हो । यसको ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, प्रधानसेनापति, चीन र दक्षिण कोरियाका राजदुत, सरकारी अधिकारी, परामर्शदाता तथा निर्माण व्यवसायीका प्रतिनिधिलगायतको उपस्थिति रहेको छ ।

नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न निर्माणमा संलग्न सबै पक्षलाई समान गतिमा काम अघि बढाउन आग्रह गरेको छ । साथै आयोजना निर्माणमा सहयोग गर्ने नेपाल सरकार, रक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, प्रदेश तथा स्थानीय तह र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताएका छन् । करिव ७३ किलोमिटर लामो अत्याधुनिक प्रविधिमा आधारित द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दूरी उल्लेख्य रूपमा घट्ने, इन्धन खपत कम हुने तथा सवारीसाधनको सञ्चालन र मर्मतसम्भार खर्चमा समेत बचत हुने उल्लेख गरे ।

राष्ट्रपति पौडेलले राष्ट्रिय गौरवको आयोजना निर्माणमा नेपाली सेनाले हासिल गरेको प्रगति र उत्साहको प्रशंसा गर्दै निर्धारित समयमै आयोजना सम्पन्न हुने विश्वास व्यक्त गरे । विकट भौगोलिक अवस्था, जटिल भू–बनावट र प्रतिकूल परिस्थितिका बाबजुद नेपाली सेनाले पूर्वाधार निर्माणमा देखाएको दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय रहेको उनको भनाइ छ ।

आफूले द्रुतमार्गको तेस्रो पटक स्थलगत अवलोकन गरेको उल्लेख गर्दै उनले नेपाली सेनाले हालसम्म हासिल गरेको प्रगतिले आयोजना सफलतापूर्वक सम्पन्न हुनेमा थप विश्वस्त बनाएको बताए । नेपाली सेनाका अनुसार, द्रुतमार्गको काम १३ वटा प्याकेजमा भइरहेको छ । तीमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेका छन् ।

“द्रुतमार्गको प्रस्थान विन्दु खोकना–डुकुछाप खण्डमा पर्ने प्याकेज नं. ११ अन्तर्गत जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेकोले मुआब्जा वितरणको लागि सम्बन्धितसँग समन्वय भइरहेको छ । सोमध्ये केही खण्डको निर्माण कार्य अगाडि बढाउने तयारी गरिएको,” सेनाले सार्वजनिक गरेको विवरणमा भनिएको छ ।

द्रुतमार्ग आयोजनाअन्तर्गतका सातवटा सुरुङ मार्ग रहेका छन् । ती सुरुङ मार्गको कुल लम्बाइ ११.२ किलोमिटर रहेको छ । एक हजार ७२८ मिटरको घेद्रे सुरुङ र एक हजार ६३३ मिटरको लेनडाँडा सुरुङको ‘ब्रेकथ्रु’ भइसकेको छ । महादेवटार सुरुङको ३ हजार ४८३ मिटरको बायाँ टनेल यसअघि नै पनि ‘ब्रेकथ्रु’ भइसकेको छ ।

यस्तै, एक हजार ८७ मिटरको देवीचौर सुरुङको १५३.६ मिटर, ५२० मिटरको सिसौटार सुरुङको ६४.४ मिटर र २ हजार २५० मिटरको चन्द्राम भीर सुरुङको ८४७.७ मिटर खन्ने कार्य सम्पन्न भएको छ । ५८३ मिटरको मौरी भीर सुरुङको पोर्टल निर्माणको कार्य भइरहेको छ ।

द्रुतमार्ग सडक आयोजनाअन्तर्गत ८९ वटा पुल रहेका छन् । तीमध्ये ८५ पुल निर्माणको लागि खरिद सम्झौता भई निर्माणको चरणमा रहेको छ । निर्माणाधीन अधिकांश पुलहरूका ‘फाउन्डेसन’को कार्य सम्पन्न भई ‘सुपरस्ट्रक्चर’को कार्य भइरहेको सेनाले जनाएको छ ।

“जम्मा ८९ स्थानकामध्ये हालसम्म ५७ स्थानका पुलहरूको फाउन्डेसन, ४० स्थानका पुलहरूको सव–स्ट्रक्चर र १७ स्थानका पुलहरूको सुपर स्ट्रक्चरको कार्य सम्पन्न भएको छ,” सेनाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

द्रुतमार्ग सडक निर्माणअन्तर्गत ११.०२ किलोमिटर सव–वेस, ५.८ किलोमिटर वेस र एक किलोमिटर कालोपत्रे सम्पन्न भएको छ । सर्भिस लेनमा सात किलोमिटर सडकको कालोपत्रे सम्पन्न भएको छ । द्रुतमार्गको विभिन्न स्थानहरूमा स्लोप प्रोतेक्सन्, बक्स कल्भर्ट, अप्टिकल फाइबर डक्ट, विद्युतीकरण लगायतका संरचनाहरू निर्माण कार्य भइरहेको छ ।

निजगढ इलाकामा ‘एनिमल अन्डर पास’को ‘सुपरस्ट्रक्चर’को कार्य सम्पन्न भएको छ । यस्तै, द्रुतमार्गको निजगढ इलाकामा टोल प्लाजा तथा इन्टरचेन्ज निर्माण कार्य भइरहेको छ । हालसम्म द्रुतमार्ग निर्माणका क्रममा कुल ५५ हजार ८८७ वटा रुख कटान गरिएको छ ।

द्रुतमार्गको कुल लम्बाइ ७०.९७७ किलोमिटर रहेको छ । सेनाका अनुसार, द्रुतमार्गको २४.८ किलोमिटरदेखि ७०.९७७ किलोमिटरसम्म पर्ने जग्गाको अधिग्रहण सम्पन्न भई निर्माण कार्य भइरहेको छ । द्रुतमार्गको ६.५ किलोमिटर देखि २४.८ किलोमिटर खण्डमा सुरुङमार्ग, स्लोप प्रोटेक्सन्, नदी नियन्त्रण कार्यको लागि आवश्यक पर्ने विभिन्न नम्बरी जग्गाहरू अधिग्रहणको लागि नेपाल सरकारको स्वीकृति लिई अधिग्रहणको क्रममा रहेको जनाइएको छ ।

काठमाडौं जिल्लामा रेखांकन परिवर्तन तथा ‘स्लोप स्टेविलाइजेसन’का संरचनाहरू निर्माणको लागि थप आवश्यक १२८–२–०–२.५५ रोपनी नम्बरी जग्गामध्ये हालसम्म करिब ९६ रोपनी जग्गाको मुआब्जा वितरण गरिएको छ ।

ललितपुर जिल्लामा सुरुङमार्ग तथा ‘स्लोप स्टेविलाइजेसन’का संरचनाहरू निर्माणको लागि थप आवश्यक नम्बरी जग्गामध्ये हालसम्म करिब चार रोपनी जग्गाको मुआब्जा वितरण गर्ने कार्य सम्पन्न भएको छ । मकवानपुर जिल्लामा सुरुङमार्ग तथा ‘स्लोप स्टेविलाइजेसन’का संरचनाहरू निर्माणको लागि थप आवश्यक नम्बरी जग्गामध्ये हालसम्म करिब दुई रोपनी जग्गाको मुआब्जा वितरण भएको छ ।

द्रुतमार्ग आयोजनाको कुल लागत दुई खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । २०८३ असोज मसान्तसम्म द्रुतमार्ग निर्माणमा ९५ अर्ब १७ करोड रुपैयाँ खर्च भइसकेको छ । खासमा आयात–निर्यातको प्रमुख द्वार वीरगन्ज र राजधानी काठमाडौंबीचको दूरी छोट्याउने उद्देश्यले फास्ट ट्र्याकको निर्माण कार्य सुरु गरिएको हो।

सडकमार्गको दूरी छोटिएसँगै ढुवानी लागतमा व्यापक कटौती हुने अपेक्षा छ। समय पनि बचत हुनेछ। किनकि, वीरगन्जबाट हेटौंडा, भरतपुर, मुग्लिङ हुँदै काठमाडौं आउनुभन्दा फास्ट ट्र्याक प्रयोग गरी आउँदा सडक दूरी झन्डै १७० किलोमिटर र यात्रा अवधि पनि ६ घण्टा बचत हुनेछ।

यसले अर्थतन्त्रमै उल्लेखनीय योगदान पुग्नेछ। २०७४ साउन २७ मा सेनालाई हस्तान्तरण गरिएको यो आयोजना २०८१ मंसिरमा पूरा हुनुपर्ने थियो। तर २०८३ चैतका लागि म्याद थपिइसकेको छ। तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले २०७४ वैशाख २१ मा सेनालाई द्रुतमार्ग निर्माणको जिम्मा दिने निर्णय गरेको थियो।

त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको आयोजना २०७४ साउन २७ मा सडक विभागबाट सेनालाई हस्तान्तरण गरिएको थियो। फास्ट ट्रयाकमा नेपाली सेनाले खर्च गर्न नसकेपछि सरकारले आर्थिक वर्ष २०८३÷८४ को लागि बजेट कटौती गरेको छ।

आव २०८२÷८३ मा विनियोजित रकमभन्दा चालु आवका लागि फास्ट ट्रयाकको बजेट ६ अर्ब ८५ करोड रुपैयाँले घटाइयो। फास्ट ट्रयाकका लागि पछिल्लो आवका लागि २४ अर्ब ४९ करोड रुपैयाँ विनियोजित भएकोमा चालु आवका लागि १७ अर्ब ६४ करोड रुपैयाँ मात्रै विनियोजन गरिएको छ।

यस रकमबाट ४० वटा पुल, ५.४ किलोमिटर सुरुङ निर्माण गर्ने र द्रुतमार्गको लिंक रोड निर्माण सुरु गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ मा संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ। द्रुतमार्गको प्रस्थानविन्दु फर्सिडोलसँग जोड्ने लिंक रोड निर्माण भने सडक विभागले गर्नेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top