बंगालको खाडीमा शक्तिशाली चक्रवात,नेपालमा पनि पर्न सक्छ प्रभाव

४ मंसिर २०८३, शुक्रबार
Share this
786shares

४ मंसिर , काठमाण्डौ।     

Advertisement

बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अक्वान’ भारतको पूर्वी तटीय क्षेत्रतर्फ अघि बढिरहेको छ। चक्रवातको प्रभाव नजिकिँदै गएपछि भारतका आन्ध्र प्रदेश र ओडिसा राज्यमा सतर्कता बढाइएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै ओडिसामा एक लाख २० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने उद्धार तथा राहत व्यवस्थापनका लागि सयौँ टोली परिचालन गरिएका छन्। भारतको मौसम विज्ञान विभाग (आइएमडी) ले चक्रवात आज दिउँसोसम्म आन्ध्र प्रदेशको उत्तरी तटीय क्षेत्र र ओडिसाको दक्षिणी तटीय क्षेत्र हुँदै जमिनमा प्रवेश गर्न सक्ने पूर्वानुमान गरेको छ।

Advertisement

प्रारम्भिक अनुमानअनुसार ओडिसाको गोपालपुर आसपासको तटीय क्षेत्रबाट चक्रवातले जमिनमा प्रवेश गर्ने सम्भावना छ।मौसम विभागका अनुसार बिहीबार साँझ ५ः३० बजेसम्म चक्रवात आन्ध्र प्रदेशको कलिंगपट्टनमबाट करिब २७० किलोमिटर दक्षिणपूर्व र ओडिसाको गोपालपुरबाट ३५० किलोमिटर दक्षिणमा केन्द्रित थियो।

पछिल्लो छ घण्टामा चक्रवात प्रतिघण्टा करिब १३ किलोमिटरको गतिमा उत्तरतर्फ सरेको विभागले जनाएको छ। चक्रवातको गति र दिशामा आउने परिवर्तनले यसको प्रभाव पर्ने क्षेत्र निर्धारण गर्ने भएकाले तटीय क्षेत्रमा विशेष निगरानी राखिएको छ।

जमिनमा प्रवेश गर्ने क्रममा हावाको गति प्रतिघण्टा ९० देखि १०० किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। कतिपय स्थानमा हावाको झोक्काको गति प्रतिघण्टा ११० किलोमिटरसम्म पुग्न सक्ने मौसम विभागको चेतावनी छ।

यस किसिमको हावाहुरीले तटीय क्षेत्रमा सामान्य जनजीवन प्रभावित पार्नुका साथै रुख ढल्ने, विद्युत् सेवा अवरुद्ध हुने तथा कमजोर संरचनामा क्षति पु¥याउन सक्ने जोखिम रहन्छ। त्यसैले सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा राख्ने र आवश्यक पूर्वतयारी गर्ने कामलाई तीव्रता दिइएको छ ।

चक्रवातको सम्भावित प्रभावलाई मध्यनजर गर्दै ओडिसा सरकारले जोखिमयुक्त तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिरहेको छ। हालसम्म एक लाख २० हजारभन्दा बढी मानिसलाई सुरक्षित आश्रयस्थलमा पु¥याइएको अधिकारीहरूले जनाएका छन् ।

उद्धार, राहत वितरण तथा आपत्कालीन व्यवस्थापनका लागि ३०० भन्दा बढी टोली परिचालन गरिएको छ। सम्भावित जोखिममा रहेका बस्तीमा उद्धार कार्यलाई प्राथमिकता दिइएको छ। स्थानीय प्रशासनलाई आवश्यक जनशक्ति र स्रोतसाधन तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।

चक्रवातको प्रभावबाट बढी जोखिममा पर्न सक्ने क्षेत्र पहिचान गरी त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । विशेषगरी समुद्री तट आसपास बसोबास गर्ने र कमजोर संरचनामा रहेका मानिसलाई सावधानी अपनाउन भनिएको छ ।

आन्ध्र प्रदेशमा पनि चक्रवातको प्रभावलाई ध्यानमा राखेर जिल्लाअनुसार मौसमसम्बन्धी चेतावनी जारी गरिएको छ। श्रीकाकुलम र विजयनगरम जिल्लामा रेड अलर्ट जारी गरिएको छ। यी क्षेत्रमा प्रतिकूल मौसमको सम्भावना रहेकाले प्रशासनले उच्च सतर्कता अपनाएको छ।

त्यस्तै पार्वतीपुरम मान्यम, अल्लुरी सीतारामराजु र अनाकापल्ली जिल्लामा ओरेन्ज अलर्ट तथा काकिनाडामा यल्लो अलर्ट जारी गरिएको छ। मौसमको अवस्थाअनुसार चेतावनीको स्तर परिवर्तन हुन सक्ने भएकाले स्थानीय बासिन्दालाई आधिकारिक सूचनामा ध्यान दिन आग्रह गरिएको छ।

चक्रवातका कारण सम्भावित जोखिम कम गर्न ओडिसाका विभिन्न जिल्लामा शैक्षिक गतिविधि पनि स्थगित गरिएको छ। गञ्जाम, गजपति, पुरी, जगतसिंहपुर, केन्द्रपाडा र कन्धमाल जिल्लाका विद्यालय तीन दिनका लागि बन्द गरिएका छन्।

विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै बिहीबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। त्यसैगरी जोखिम व्यवस्थापन, उद्धार तथा राहत कार्यमा जनशक्तिको अभाव हुन नदिन प्रभावित क्षेत्रका सरकारी कर्मचारीको बिदासमेत रद्द गरिएको छ।

स्थानीय प्रशासनलाई विपद् व्यवस्थापनका काममा सक्रिय रहन र आवश्यक परे तत्काल उद्धार कार्य सञ्चालन गर्न तयारी अवस्थामा राखिएको छ। चक्रवातको प्रभाव यातायात क्षेत्रमा समेत देखिन थालेको छ। प्रतिकूल मौसमको सम्भावनाका कारण भारतका केही प्रमुख सहरबाट हुने हवाई उडान प्रभावित भएका छन्।

इन्डिगो एयरलाइन्सले भुवनेश्वर, विशाखापट्टनम र कोलकाताबाट सञ्चालन हुने तथा ती सहरमा अवतरण गर्ने केही उडान प्रभावित हुन सक्ने जनाएको छ। यात्रुको सुरक्षा र मौसमको अवस्थालाई ध्यानमा राख्दै उडान सञ्चालनमा आवश्यक निर्णय लिइने बताइएको छ।

रेल सेवामा पनि कटौती गरिएको छ। पूर्वी तटीय रेल्वेले ४१ वटा रेल रद्द गर्नुका साथै २९ वटा रेलको समय परिवर्तन गरेको छ। दक्षिण पूर्वी रेल्वेले समेत कम्तीमा २८ वटा एक्सप्रेस रेल रद्द गरेको भारतीय समाचार संस्था पिटिआईले जनाएको छ।

रद्द गरिएका रेलमध्ये अधिकांश पुरी जाने वा पुरी हुँदै सञ्चालन हुने रेल रहेका छन् । चक्रवातको सम्भावित प्रभावबाट यात्रुहरूलाई सुरक्षित राख्न रेल सेवामा यस्तो निर्णय गरिएको हो । भारतको पूर्वी तटीय क्षेत्रमा विकसित भइरहेको चक्रवातले नेपालमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने सम्भावनाबारे पनि चासो बढेको छ।

यद्यपि चक्रवातको अहिलेको अवस्थाका आधारमा नेपालमा कस्तो प्रभाव पर्छ भन्ने निष्कर्ष निकाल्न सकिने अवस्था छैन। मौसमविद्हरूका अनुसार चक्रवातले जमिनमा प्रवेश गरेपछि लिने दिशा, त्यसको शक्ति र त्यसपछिको मौसमी प्रणालीमा आउने परिवर्तनले नेपालमा पर्ने सम्भावित प्रभाव निर्धारण गर्नेछ।

बंगालको खाडीबाट विकसित हुने मौसमी प्रणालीले भारतको पूर्वी तथा उत्तरपूर्वी भूभाग हुँदै दक्षिण एसियाका अन्य क्षेत्रमा समेत मौसममा परिवर्तन ल्याउन सक्ने भएकाले यसको अवस्थालाई निरन्तर निगरानी गर्न आवश्यक हुन्छ।

तर चक्रवात नेपालतर्फ नै प्रवेश गर्छ वा यसको प्रभावले नेपालमा वर्षा गराउँछ भन्ने कुरा अहिले नै निश्चित गर्न नसकिने मौसमविद्हरुले बताएका छन् । शुक्रबार दिउँसो आसपास जमिनमा प्रवेश गर्ने अनुमान गरिएको यस प्रणालीको गति, दिशा र शक्तिमा आउने परिवर्तनले आगामी मौसमको अवस्था निर्धारण गर्ने उनीहरुको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top