८ मंसिर , काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली क्षेत्र साथै कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ । बाँकी क्षेत्रमा मौसम सफा छ । आज बिहान तराई, उपत्यका तथा खोँचहरूका केही ठाउँमा हुस्सु र कुहिरो लागेको थियो । बिहान केही ठाउँमा हुस्सु र कुहिरो लागे पनि दिउँसो देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि र पर्सि देशका केही ठाउँमा आंशिक बादल लाग्नेछ । शुक्रवार भने कोशी प्रदेशको हिमाली एक÷दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । गएराति केही ठाउँमा फाट्टफुट्ट पानी परेको छ । यस्तै गोरखामा भने गए रातिदेखि हावाहुरी चल्दा घर र विद्यालयका छाना उडाएको छ ।
गए राति करिब २ बजेदेखि विहानसम्म हावाहुरी चलिरहेको स्थानीयहरूले बताएका छन् । धार्चे र चुमनुब्री गाउँपालिका क्षेत्रमा हावाहुरी चलेको हो । धार्चे ५ सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको छ । स्थानीयका अनुसार हावाहुरीले विद्यालयको छाना उडाएको हो । यस क्षेत्रका केही घर र गोठका छानासमेत हावाहुरीले उडाएको छ । गत वर्ष मंसिरमा यस्तो हावाहुरी नचलेको स्थानीय बताउँछन् । यसबीच दिनप्रतिदिन देशभर चिसो बढ्दै र तापक्रम घट्दै गएको छ । यस क्रममा आज पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ । आइतबार ८.३ र सोमबार ८ डिग्री सेल्सियसमा झरेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज यसभन्दा तल गएको हो । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस देखिएको हो ।यो सुरुवाती मापन थियो । त्यसपछि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ । मौसम पूर्वानुमान महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ । न्यूनतम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ । मौसमविद्का अनुसार न्यूनतम (मिनिमम) तापक्रमले रातिदेखि बिहानसम्मको तापक्रम बताउँछ भने अधिकतम (म्याक्सिमम) तापक्रमले दिनभरको तापक्रमको अवस्था जनाउँछ । यसैबीच विपद्को पूर्वसूचना दिन नेपालमै विकसित ‘सेल ब्रोडकास्टिङ’ प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । विपद्को समयमा नागरिकसम्म छिटो, सरल र प्रभावकारी रूपमा पूर्वसूचना पु¥याई जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले सेल ब्रोडकास्टिङ प्रणाली (सीबीएस) को पहिलो चरणको प्राविधिक परीक्षण हिजो सोमबार गरिएको हो ।
गृहमन्त्री सुधन गुरुङ तथा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको उपस्थितिमा नेपाल टेलिकमको बलम्बुमा रहेको प्राविधिक परीक्षण भवनमा हिजो बेलुका सफल परीक्षण गरिएको हो । नेपालकै प्राविधिक जनशक्तिले स्वदेशमै विकास गरेको यो प्रविधि विपद् पूर्वसूचना प्रणालीको सुदृढीकरणमा महत्त्वपूर्ण उपलब्धि मानिएको छ । यस प्रविधिमार्फत निश्चित भौगोलिक क्षेत्रका मोबाइल फोनहरूमा एकैपटक आपतकालीन सूचना प्रवाह गर्न सकिन्छ । अहिले सीमित प्राविधिक वातावरणमा सम्पन्न प्रारम्भिक परीक्षण सफल भएसँगै अबका चरणमा पोखरामा एनसेलको सञ्जालमार्फत परीक्षण गरिनेछ । त्यसपछि क्रमशः देशभर व्यापक परीक्षण सञ्चालन गरी प्रणालीलाई राष्ट्रिय स्तरमा कार्यान्वयन गर्ने सरकारको लक्ष्य रहेको छ ।

नेपालजस्तो बहुविपद् जोखिमयुक्त देशमा यो प्रविधिले क्षति न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गृह मन्त्रालयको छ । दूरसञ्चार प्राधिकरणकाअनुसार सिमकार्ड वा इन्टरनेट नभए पनि मोवाइल नेटवर्कको पहुँचमा रहेका उपकरणमा सन्देश प्राप्त हुन सक्छ । सामान्य म्यासेजभन्दा फरक किसिमको यो प्राविधिले नेटवर्कमा अत्यधिक चाप भएको अवस्थामा छोटो समयमै धेरै मोवाइल उपकरणमा सूचना संदेश पुर्याउन सक्छ ।



