नेपालको पुनर्निर्माणमा चीनले सघाउने, बालेनको भारत भ्रमणबारे के भन्यो?

८ मंसिर २०८३, मंगलबार
Share this
705shares

८ मंसिर , काठमाण्डौ । नेपालको विपद्पछिको पुनर्निर्माण कार्यमा चीनले सक्रिय सहयोग गर्ने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार विपद् प्रभावित क्षेत्रका बासिन्दालाई घर पुनर्निर्माण गर्न र जतिसक्दो चाँडो सामान्य जीवन तथा काममा फर्काउन चीनले मद्दत गर्ने बताएका हुन् । गत अगस्टको अन्त्यतिर आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि कोष जुटाउन नेपालले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने योजना बनाइरहेको सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता गुओले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । चीन र नेपाल हिमाल र नदीले जोडिएका घनिष्ठ मित्रवत् छिमेकी रहेको उल्लेख गर्दै गुओले उत्तरी नेपालमा गएको ठुलो पहिरो लगत्तै चीनले प्रभावित क्षेत्रका लागि तत्काल आपत्कालीन सहायता घोषणा गरी अन्तर्राष्ट्रिय उद्धार सहयोग सञ्चालन गरेको स्मरण गरे ।

Advertisement

उनका अनुसार चिनियाँ सरकारले नेपाललाई नगद सहायता र पाँच खेप आपत्कालीन राहत सामग्री उपलब्ध गराएको थियो । साथै, सुरुङ उद्धार र विधि विज्ञान पहिचानमा विशेषज्ञता हासिल गरेका २० जनाभन्दा बढी विज्ञहरू पठाउनुका साथै मौसम, जलविज्ञान र भूगर्भीय अवस्थासम्बन्धी तथ्याङ्क निरन्तर साझा गरेको उनले जानकारी दिए । यसका अतिरिक्त चीनका विभिन्न क्षेत्रका नागरिकले समेत सहयोगको हात बढाउँदै नेपाली जनताप्रति सद्भाव र समर्थन प्रकट गरेको उनले बताए । विपद्ले गम्भीर क्षति पु¥याएको र पुनर्निर्माणमा ठुला चुनौतीहरू रहेको उल्लेख गर्दै प्रवक्ता गुओले भने, ‘चीनले पछिल्ला घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ र यस विपद्प्रति नेपालको पीडामा साथ छ ।’ यसअघि उपलब्ध गराइएको आपत्कालीन सहायताका अतिरिक्त प्रभावित क्षेत्रका जनताको घर पुनर्निर्माण गर्न र उनीहरूलाई छिटोभन्दा छिटो सामान्य काम र जीवनमा फर्काउन चीनले नेपालको पुनर्निर्माण प्रयासमा सक्रिय समर्थन गर्ने उनले स्पष्ट पारे ।प्राकृतिक प्रकोपले निम्त्याउने जोखिम र चुनौतीहरूको अझ राम्रोसँग सामना गर्न नेपालको विपद् रोकथाम तथा न्यूनीकरण क्षमता अभिवृद्धि गर्नसमेत चीनले सहयोग गर्ने प्रवक्ता गुओले बताए । यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो विदेश भ्रमण भारतबाट सुरु भएको विषयलाई चीनले नेपालको कूटनीतिक रणनीतिमा आएको परिवर्तनका रूपमा व्याख्या गरेको छ । चीनको कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्समा प्रकाशित एक विश्लेषणले शाहको भारत भ्रमणलाई चीनविरोधी कदम नभई नेपाललाई परम्परागत ‘बफर स्टेट’ (मध्यवर्ती राज्य) बाट ‘ब्रिज स्टेट’ (सेतु राज्य) बनाउने प्रयासका रूपमा प्रस्तुत गरेको हो । फुदान विश्वविद्यालयको दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशक झाङ जियादोङको उक्त लेखमा शाह सरकारले कूटनीतिलाई दलगत राजनीति र वैचारिक प्रभावबाट मुक्त गर्दै आर्थिक विकास तथा व्यावहारिक सहकार्यमा केन्द्रित गर्न खोजेको उल्लेख छ। उनका अनुसार नेपालले चीन र भारतबिच सन्तुलन मिलाउने पुरानो अभ्यासभन्दा दुवै छिमेकीसँग सहकार्य गरेर आफ्नो भौगोलिक अवस्थालाई विकासको अवसरमा बदल्न खोजेको छ ।

आइतबारदेखि सोमबारसम्म भएको शाहको भारत भ्रमण प्रधानमन्त्री बनेको करिब आठ महिनापछिको पहिलो द्विपक्षीय विदेश भ्रमण थियो। नेपालका नयाँ प्रधानमन्त्रीले पहिलो द्विपक्षीय भ्रमणका लागि भारत रोज्ने पुरानो अभ्यासलाई शाहले पनि निरन्तरता दिएका हुन्। तर यसपटकको भ्रमण छोटो र सीमित कार्यक्रममा केन्द्रित थियो। भ्रमणमा औपचारिकताभन्दा आर्थिक तथा व्यावहारिक सहकार्यलाई प्राथमिकता दिइएको थियो । ठुला शक्तिबिच कूटनीतिक सन्तुलन कायम गरेर आर्थिक लाभ लिन खोज्ने साना देशका लागि यस्तो रणनीति चुनौतीपूर्ण हुन सक्ने जियादोङको तर्क छ । अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको विषय घरेलु राजनीतिमा प्रवेश गर्दा आन्तरिक विभाजन र अस्थिरता बढ्न सक्छ। शाह सरकारले भने परराष्ट्र नीतिलाई दलगत स्वार्थभन्दा राष्ट्रिय विकासका प्राथमिकतासँग जोड्न खोजेको विश्लेषण उनले गरेका छन् ।

Advertisement

नेपाललाई लामो समयदेखि चीन र भारतबिचको ‘दुई ढुंगाबिचको तरुल’ का रूपमा व्याख्या गरिँदै आएको छ । तर शाह सरकारले यही भौगोलिक अवस्थालाई चुनौतीभन्दा अवसरका रूपमा उपयोग गर्दै नेपाललाई दुई छिमेकी जोड्ने ‘जीवन्त पुल’ बनाउन खोजेको देखिन्छ । यसका लागि दलगत स्वार्थ र प्रतीकात्मक कूटनीतिक सन्तुलनभन्दा व्यावसायिक विज्ञता तथा व्यावहारिक हितलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । उनले भारतका लागि डा. निश्चलनाथ पाण्डे र चीनका लागि डा. कल्याणराज शर्मालाई राजदूत नियुक्त गरिएको विषयलाई पनि यही रणनीतिको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। दुवै देशका जानकार व्यक्तिलाई राजदूत बनाउनु कूटनीतिलाई घरेलु राजनीतिक खिचातानीबाट अलग राखेर व्यावसायिक आधारमा अघि बढाउने प्रयास भएको उनको टिप्पणी छ ।

दुई दिने भ्रमणमा औपचारिक कार्यक्रमभन्दा ऊर्जा, यातायात सञ्जाल, लगानी, शिक्षा, स्वास्थ्य र कृषिमा सहकार्यलाई प्राथमिकता दिइएको थियो। सीमा विवादजस्ता संवेदनशील विषयलाई भ्रमणको मुख्य एजेन्डा नबनाउनुलाई झाङले औपचारिकताभन्दा परिणामलाई महत्त्व दिने नीतिसँग जोडेका छन् । भारत भ्रमणपछि पनि नेपालले चीनसँगको सम्बन्धलाई निरन्तरता दिएको छ । अहिले सत्तारुढ रास्वपाका सांसदहरूको जम्बो टोली चीन भ्रमणमा छ । त्यस्तै, प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपाल, भारत र चीन सम्मिलित ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव गरेका थिए । यसले तीन देशबिच हिमनदीको निगरानी, तथ्यांक आदानप्रदान र विपद्को पूर्वसूचनाजस्ता क्षेत्रमा सहकार्य गर्ने लक्ष्य राखेको देखिन्छ । नेपाललाई भूराजनीतिक मध्यवर्ती अवस्थाबाट व्यावहारिक सहकार्यको पुलमा रूपान्तरण गर्ने योजना अहिले नीतिगत सोचकै चरणमा रहेको पनि उनले स्वीकार गरेका छन्।

नेपालको भौगोलिक अवस्था र छिमेकीमाथिको असमान आर्थिक निर्भरता तत्काल हटाउन नसकिने जियादोङको भनाइ छ। यस्तो रणनीति सफल हुन नेपालको आन्तरिक राजनीतिक स्थिरता र कूटनीतिक सहकार्यबाट प्राप्त हुने ठोस उपलब्धि महत्त्वपूर्ण हुने उनको निष्कर्ष छ । यता बालेनको दुईदिने औपचारिक भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यम तथा कूटनीतिक वृत्तले ‘नेपाल–भारत सम्बन्धको नयाँ अध्याय र व्यावहारिक पुनर्संरचनाका रूपमा चित्रण गरेका छन् । द न्यु इन्डियन एक्सप्रेसले मंगलबार सम्पादकीय नै लेखेर नेपालसँग साझा भविष्य निर्माण गर्न अवसरको सदुपयोग गर्नुपर्ने जनाएको छ । सिज द मोमेन्ट टु ब्युल्ड अ सेयर्ड फ्युचर विथ नेपाल शीर्षकको सम्पादकीयमा अयोध्या–जनकपुर ‘सरयु–कमला एक्सप्रेस’ रेल, नेपालमा आईआईटीको शाखा, डिजिटल भुक्तानी र स्याटेलाइट सहकार्यले दुई देशको सम्बन्धलाई ज्ञान, नवप्रवर्तन र मानव पुँजीको युगमा प्रवेश गराएको उल्लेख छ ।यद्यपि, सम्पादकीयले ‘कूटनीतिक भाषणबाजीभन्दा पनि विगतका प्रतिबद्धता समयमै कार्यान्वयन हुनु नै वास्तविक परीक्षा हो’ भन्दै सचेत पनि गराएको छ ।

द इन्डियन एक्सप्रेसले सोमबार सम्पादकीय लेखेर नयाँ दिल्लीले नेपालको बदलिँदो राजनीतिक परिदृश्यलाई सूक्ष्म रूपमा बुझेर व्यवहार गर्नुपर्ने सुझाव दिएको थियो । सम्पादकीयमा नेपालको परम्परागत राजनीतिक शक्तिभन्दा फरक पृष्ठभूमिबाट उदाएका बालेनसँगको सम्बन्धलाई ‘ठोस परिणाममुखी’ बनाउनुपर्ने र नेपालमा आएको राजनीतिक परिवर्तनलाई ‘नयाँ काठमाडौं’को रुपमा बुझेर भारतले व्यवहार गर्नुपर्ने सन्देश दिएको छ । साथै, कूटनीतिक संवाददाता शुभजित रोयको विश्लेषणमा अगस्टमा भारतीय राजदूत नवीन श्रीवास्तवले मिथिला पेन्टिङ उपहार दिएपछि र सेनाप्रमुखको भ्रमणपछि दुई देशबीचको चिसोपना हटेको र बाढीपछिको मानवीय सहयोगले भ्रमणको वातावरण बनेको उल्लेख छ ।

टाइम्स अफ इन्डिया र हिन्दुस्तान टाइम्स दुवै अखबारले प्रधानमन्त्री शाहले भारतलाई विपद्को समयमा ‘पहिलो सहयोगी (फस्र्ट रेस्पोन्डर)’ र ‘भरपर्दो छिमेकी’ भनी गरेको प्रशंसालाई प्राथमिकता दिएका छन् । साथै, सीमा विवाद (लिपुलेक, कालापानी, लिम्पियाधुरा) र ईपीजी प्रतिवेदनजस्ता संवेदनशील राजनीतिक विषयमा औपचारिक संयुक्त वक्तव्य नआए पनि विकास, ऊर्जा र पारवहनमा व्यावहारिक सहमति हुनु सकारात्मक रहेको टाइम्स अफ इन्डियाको विश्लेषण छ । एनडीटीभी, एबीपी न्युज, आजतक, जागरण जोस जस्ता भारतीय टेलिभिजन तथा डिजिटल माध्यमहरूले मोदी–बालेन भेटवार्तालाई ‘प्राइम टाइम’ कभरेज दिएका छन् । विशेषगरी २ खर्ब ४० अर्ब नेपाली रुपैयाँको पुनर्निर्माण प्याकेज, काण्डला र पारादीप बन्दरगाहमा नेपालको पहुँच, ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् शिलान्यास तथा काठमाडौं र पोखरामा ‘स्टार्टअप तथा डिजिटल नोम्याड हब’ बनाउने घोषणालाई युवापुस्ता लक्षित कूटनीतिको रूपमा व्याख्या गरिएको छ ।

बीबीसीको हिन्दी संस्करणले आफ्नो विशेष कार्यक्रम ‘दिनभर’ मा बालेन शाहको पहिलो विदेश भ्रमणले दिल्ली–काठमाडौं सम्बन्धमा न्यानोपन ल्याए पनि सीमा विवादजस्ता जटिल राजनीतिक मुद्दाहरू अझै नसुल्झेको टिप्पणी गरेको छ । भारतीय विदेश नीति विश्लेषक र नेपालका लागि पूर्वराजदूतहरूले परम्परागत ‘राजनीतिक बोझ’ नभएका युवा प्रधानमन्त्री बालेन शाहसँग भारतले दीर्घकालीन ‘केमेस्ट्री’ मिलाउनुपर्नेमा जोड दिएका छन् । नेपालका लागि पूर्वभारतीय राजदूत मन्जीव सिंह पुरीले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उमेरको ठूलो अन्तरका बाबजुद प्रधानमन्त्री मोदी र बालेन शाहबीच देखिएको आत्मीय अँगालो र तालमेल अत्यन्त सकारात्मक रहेको बताएका छन् । ‘बालेन शाहले बैंगलोरमा पढेका हुन् र उनको परिवार पनि त्यहाँ बस्छ; त्यसैले उनले भारतलाई राम्ररी चिन्छन्, तर हामीले उनलाई कत्तिको चिन्छौँ भन्ने मुख्य कुरा हो,’ पुरीले भनेका छन्, ‘३५ वर्षको उमेरमै देशको नेतृत्वमा पुग्नुले उनीसँग विशेष क्षमता छ भन्ने देखाउँछ ।’

उनले बाढीपछिको पुनर्निर्माणका लागि भारतले घोषणा गरेको आर्थिक सहयोगलाई भ्रमणको ठूलो उपलब्धि मानेका छन् । नेपालका लागि अर्का पूर्वभारतीय राजदूत रञ्जित रायले पुराना दलका नेताहरूजस्तो ‘राजनीतिक बोझ’ नभएका कारण बालेन शाहको भ्रमणले भारत–नेपाल सम्बन्धमा नयाँ कूटनीतिक ऊर्जा दिएको विश्लेषण गरेका छन् । भोटेकोशी बाढीपछि हिमाली क्षेत्रको जलवायु संकट द्विपक्षीय संवादको मुख्य एजेन्डा बन्नु स्वागतयोग्य भएको भन्दै उनले घोषणाभन्दा पनि परियोजनाको तीव्र कार्यान्वयनमा दिल्लीको विश्वसनीयता परीक्षण हुने उल्लेख गरेका छन् । भारतीय कूटनीतिज्ञ महेश सचदेवाले नेपालको बदलिँदो आन्तरिक राजनीति र भूराजनीतिक सन्तुलन (विशेषगरी चीनसँगको सीमा संवेदनशीलता) का बीच बालेनको भारत भ्रमणले आगामी वर्षहरूमा दुई देशको सम्बन्धको दिशा तय गर्ने प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री शाहको भ्रमणका क्रममा भारतले नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता दिने घोषणा गरेको छ। यसमध्ये पाँच हजार ६ सय करोड रुपैयाँ अनुदान र १८ हजार चार सय करोड रुपैयाँ ऊर्जा परियोजनाका लागि सहुलियतपूर्ण ऋण हो । भ्रमणका क्रममा काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ। यसका लागि प्राविधिक परामर्शबाट कार्यान्वयनको प्रक्रिया टुंग्याउनुपर्नेछ । नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि गुजरातको दीनदयाल बन्दरगाह प्रयोग गर्न पाउने भएको छ भने आवश्यक पूर्वाधार तयार भएपछि ओडिशाको पारादीप बन्दरगाहको पहुँच पनि उपलब्ध गराइने भएको छ । त्यस्तै, अयोध्या–जनकपुर सरयू–कमला एक्सप्रेस रेल सेवा सुरु गरिएको छ भने धार्चुला–दार्चुला सीमापार मोटरेबल पुल उद्घाटन भएको छ। ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना र झापामा पेट्रोलियम टर्मिनलको शिलान्यास गरिएको छ। भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को शाखा क्याम्पस स्थापना गर्न पनि सहमति जनाएको छ ।

भ्रमणका क्रममा प्रहरी तथा फरेन्सिक अनुसन्धान, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य, कृषि, भूउपग्रह सञ्चार र सहरी विकासलगायतका क्षेत्रमा आठ वटा समझदारीपत्र आदानप्रदान भएका छन्। दुवै देशले ‘विकसित भारत र समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दृष्टिपत्रसमेत सार्वजनिक गरेका छन्। सीमा विवादका बाँकी विषयमा भने दुवै देशका परराष्ट्र सचिवलाई काम अघि बढाउन निर्देशन दिइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top