८ मंसिर , काठमाण्डौ । भारतको अयोध्याबाट १७ बोगी डिब्बासहित सरयू–कमला एक्सप्रेस आज बिहान जनकपुरधाम आइपुगेको छ । रेल ११०० यात्रुसहित आएको हो । हिजो अयोध्यामा मुख्यमन्त्री आदित्यनाथ योगीले शुभकामना दिँदै रेललाई बिदाइ गरेका थिए । यता रेलमा आएका यात्रु र भारतका प्रतिनिधिलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र संघीय श्रम मन्त्री रामजी यादवले स्वागत गरेका छन् । यो रेलबाट विशिष्ट व्यक्ति, विभिन्न सरकारी तथा कूटनीतिक निकायका पदाधिकारी, साधुसन्त र महात्माहरू पनि आएको नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए । उनका अनुसार पहिलो पटक आउने रेल जनकपुरधाममा तीन घण्टा मात्र विश्राम गरी मंगलबार दिउँसो १ बजेसम्म फर्किदैछ ।
दुई दिने राजकीय भ्रमणका लागि आइतबार दिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाह र उनका समकक्षी नरेन्द्र मोदीले सोमबार अपराह्न हरियो झण्डा देखाएर उक्त रेलको शुभारम्भ गरेका थिए । अयोध्या रेल्वे स्टेसनमा विशेष कार्यक्रम आयोजना गरी नयाँ वन्दे भारत एक्सप्रेस रेललाई हरियो झण्डा देखाएर सेवा शुभारम्भ गरिएको थियो । करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवा जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म सञ्चालन हुनेछ । रेलले बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर तथा स्थानलाई जोड्नेछ ।भारतको प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी)का अनुसार यो रेल सातामा एकपटक सञ्चालन हुनेछ । जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट सोमबार रेल छुट्नेछ । रेलले अन्तिम गन्तव्यबाहेक जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक रूपमा यात्रु चढाउने तथा ओराल्ने सुविधा दिनेछ । नयाँ रेल सेवाले नेपाल र भारतबीचको धार्मिक पर्यटन तथा सीमापार आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ । रामायण परम्परासँग जोडिएका माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई रेलमार्गबाट जोड्दा तीर्थयात्री तथा पर्यटकलाई प्रत्यक्ष लाभ पुग्नेछ । यसले रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटन प्रवद्र्धन गर्नुका साथै शिक्षा, व्यापार र पारिवारिक भेटघाटका लागि सीमापार यात्रा गर्ने यात्रुलाई समेत सहजता प्रदान गर्नेछ। रेलमार्गले जोड्ने क्षेत्रका होटल, पर्यटन व्यवसाय, स्थानीय व्यापार तथा आतिथ्य क्षेत्रमा समेत आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहँदै आएको छ ।
धार्मिक परम्परा र सीमावर्ती समुदायबीचको आवागमन दुई देशको सम्बन्धका महत्त्वपूर्ण आधार हुन् । नयाँ रेल सेवाले यी सम्बन्धलाई थप मजबुत बनाउनुका साथै दुई देशबीचको यातायात सम्पर्क र द्विपक्षीय सहकार्य विस्तारमा योगदान पु¥याउने भारतीय रेल मन्त्रालयले जनाएको छ । नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार करिब ६०४ किलोमिटर दूरी तय गर्ने उक्त रेल सेवाले बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै जनकपुरधामलाई अयोध्या क्यान्टसँग जोड्नेछ । कम्पनीका प्रबन्ध सञ्चालक पराजुलीका अनुसार निर्धारित समयतालिकाअनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट प्रस्थान गरी आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ । त्यसैगरी रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट प्रस्थान गरी मङ्गलबार दिउँसो १२ः४० बजे जनकपुरधाम आइपुग्नेछ ।

रेलका जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी रहनेछन् । ती स्थानबाट यात्रु चढ्न तथा ओर्लन सक्ने व्यवस्था गरिएको छ । आज आएको रेलको स्वागतका लागि जनकपुरधाममा विभिन्न सांस्कृतिक कार्यक्रम, परम्परागत झाँकी तथा स्वागत समारोह आयोजना गरिएको थियो । जनकपुरधाम उपमहानगरपालिका, नेपाल रेल्वे र उद्योग वाणिज्य संघ जनकपुरधामको समन्वयमा यात्रुहरूको स्वागतदेखि मन्दिर घुमाउने र खाजा खुवाउनेसम्मको व्यवस्थापन गरिएको हो । स्वागत समारोहका लागि रेल्वे स्टेसनमै पण्डाल, स्टेज र बस्ने व्यवस्था मिलाइएको पराजुलीले बताए ।
यात्रुहरूको स्वागतमा झाँकी, सांस्कृतिक नृत्यलगायतका कार्यक्रम रेल्वे स्टेसनमै भएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले बताए । यस्तै यात्रुहरूको सुविधाका लागि रेल्वे स्टेसनदेखि जानकी मन्दिरसम्मको मुख्य सडकको सरसफाइमा विशेष ध्यान दिइएको छ भने सडकका दुवै छेउमा नेपाल र भारतका झन्डा राखिएको मेयर साहले जानकारी दिए । साथै, प्रत्येक यात्रुलाई फूलमालाले स्वागत गरिएको छ । उनका अनुसार हिँड्न सक्ने यात्रुहरूलाई पैदलै स्वागत गर्दै मन्दिरसम्म लगिएको छ भने हिँड्न नसक्ने यात्रुहरूका लागि निःशुल्क गाडीको व्यवस्था पनि गरिएको छ ।
जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासका अनुसार रेल्वे स्टेसनमै जनकपुरधामका साधुसन्त पनि उपस्थित भएर यात्रुहरूको स्वागत गरेका हुन् । उनले जानकी मन्दिरमा पूजाआराधनाका लागि मन्दिर व्यवस्थापन समितिले व्यवस्था मिलाएको बताए । १७ वटा डिब्बा रहेको यो रेलमा स्लीपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा छन्। रेल सेवा सातामा एकपटक सञ्चालन हुने व्यवस्था गरिएको छ ।



