दानबहादुर कार्कीको रिट निरौला र पौडेलको संयुक्त इजलासमा

९ मंसिर २०८३, बुधबार
Share this
742shares

९ मंसिर , काठमाण्डौ ।

Advertisement

प्रहरी महानिरीक्षक (आईजीपी) मा आफ्नो पुनर्बहाली माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दर्ता गराएको रिट सुनुवाइ गर्न आज इजलास तोकिएको छ । उनको रिट सर्वोच्चका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

यसअघि सोमबार उक्त रिट न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा पेसी तोकिएकामा सर्वोच्च अदालतले प्राथमिकतामा राखेर पालो समेत आउनेगरी आज ९ गते मुद्दा प्रस्तुत गर्न आदेश दिएको हो ।

Advertisement

त्यस दिनको आदेशमा भनिएको छ, ‘प्रस्तुत निवेदनमा अन्तर्निहित विषयवस्तुको प्रकृति र संवेदनशीलतालाई समेतलाई विचार गर्दा प्रस्तुत रिट निवेदनको शीघ्र निर्णय गर्नुपर्ने प्रकृतिको देखिएको हुँदा पेसीमा प्राथमिकता दिई पालो समेत आउने गरी मिति २०८३÷८÷९ गतेलाई पेसी तोकी सोको जानकारी महान्यायाधिवक्ताको कार्यालय समेतलाई दिई नियमानुसार पेस गर्नुहोला।’

कात्तिक १८ गते सरकारले आफूलाई आईजीपीबाट हटाएपछि कार्कीले वारेसमार्फत भोलिपल्ट १९ गते नै सर्वोच्चमा रिट पेस गरेका थिए । तर अदालतले एक दिन अध्ययन गरेर कात्तिक २० गते मात्र दर्ता गरेको थियो । तर त्यसलगत्तै तिहार बिदा सुरु भएकाले सुनुवाइमा ढिलाइ भएको हो ।

रिट निवेदनको अन्तिम किनारा नलागेसम्म आफूलाई हटाउने कात्तिक १८ को निर्णय कार्यान्वयन नगर्न र आफूलाई महानिरीक्षक पदमा रही कामकाज गर्न दिन अन्तरिम आदेश माग गरेका छन् । केसीलाई नियुक्त गर्ने, दज्र्यानी चिह्न प्रदानलगायत सम्पूर्ण निर्णय बदर गर्न पनि रिटमा उनले माग गरेका छन्।

रिटको सुनुवाइमा अग्राधिकार प्रदान गर्न पनि माग गरिएको छ । यता कार्कीले दिएको रिट निवेदनविरुद्ध सरकारको बचाउमा आठ सरकारी वकिललाई सर्वोच्चमा उतार्ने तयारी भएको छ । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेल र चार जना नायव महान्यायाधिवक्तासहित आठ सरकारी वकिललाई सर्वोच्चमा उतार्ने तयारी भएको हो ।

सरकारका तर्फबाट सुनुवाइका लागि महान्यायाधिवक्ता डा.कडेल, नायव महान्यायाधिवक्ताहरु लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धवप्रसाद पुडासैनी, ध्रुवकुमार चौहान, वरिष्ठ सह न्यायाधिवक्ता दिनेश घिमिरे, सोमाकान्त भण्डारी र उपन्यायाधिवक्ता दशरथ पंगेनी प्रतिरक्षामा जाने तयारीमा छन् ।

आजबाट प्रारम्भमा रिट निवेदकका कानुन व्यवसायीले बहस गर्नेछन् । उनीहरूको सकिएपछि सरकारी वकिलले सरकारको निर्णयको बचाउमा बहस गर्ने छन् । यसअघि सोमबार (मंसिर ७) सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तय भएको थियो ।

सुनुवाइ प्रारम्भ भएलगत्तै सरकारी वकिलले नवनियुक्त आईजीपी मनोज केसीले सोमबार नै अदालतको म्याद बुझेका छन् । दुईतर्फ सुनुवाइ सकिएपछि केसीलाई आईजीपीमा रोक्ने वा नरोक्ने भन्ने विषयमा अन्तरिम आदेशको टुंगो लाग्ने छ ।

सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरी आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले तिहारअघि रिट दिएका थिए । आफूलाई सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबीसहित कार्कीले रिट दिएका थिए ।

मन्त्रिपरिषद्को गत कात्तिक १८ को निर्णय अनुरूप कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो । सरकारबाट केसीलाई प्रहरी प्रमुख बनाउने गरी भएको निर्णय रोक्न तत्कालका लागि अन्तरिम आदेश जारी हुनुपर्ने माग कार्कीको छ ।

रिटमा कार्कीले सरकारले हटाउने निर्णय गर्दा आफूलाई कुनै सूचना नदिएको, परामर्श नगरेको, सहमति नलिएको र स्पष्टीकरणसमेत नमागेको दाबी गरेका छन् । उनका अनुसार निर्णयको जानकारी सुरुमा सञ्चारमाध्यमबाट र पछि गृहसचिवको हस्ताक्षरमा प्राप्त पत्रमा ‘विशेष सुरक्षा सल्लाहकार पदमा खटाइएको सम्बन्धमा’ भनेर दिइएको थियो ।

पत्रमा कात्तिक १८ देखि नै लागु हुनेगरी प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाइएको उल्लेख छ । सोही पत्रमा कार्यक्षेत्रगत सर्त पनि तोकिएका छन्। जसमा भनिएको छ, ‘प्रधानमन्त्रीलाई मुलुकको सुरक्षा व्यवस्थापनसम्बन्धी विषयमा सल्लाह, सुझाव र परामर्श दिने।’

पारिश्रमिक र सेवाका सर्त भने नेपाल प्रहरीको प्रहरी महानिरीक्षकसरह हुने भनिएको छ । ‘मलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा जारी मिति २०८२ कात्तिक २६ को पत्रमा नेपाल प्रहरीको गरिमालाई उच्च बनाई राख्न अपेक्षा गरिएको थियो। तर मलाई यो पत्रमा नेपाल सरकारको गरिमालाई उच्च बनाई राख्न अपेक्षा गरिएको छ। यसरी पत्रले मलाई नेपाल प्रहरीको कमान्ड र जिम्मेवारीबाट अलग गरी केवल सल्लाह दिने भूमिकामा सीमित गरेको छ। मेरो पारिश्रमिक र सेवाका सर्त प्रहरी महानिरीक्षक सरह हुने भनिएबाटै म अब प्रहरी महानिरीक्षक नरहेको सरकार स्वयंले स्वीकार गरेको देखिन्छ’, रिटमा लेखिएको छ।

प्रहरी महानिरीक्षक पदबाट अलग गर्ने निर्णयमा कुनै ऐन, नियम वा कानुनी प्रावधान उल्लेख नगरिएको र कार्यसम्पादन, आचरण, क्षमता वा योग्यताबारे कुनै कमजोरी वा आरोपसमेत उल्लेख नगरिएको दाबी कार्कीले रिटमा गरेका छन् ।

‘निर्णयको भाषाबाटै देखिन्छ कि नयाँ पद सिर्जना गर्ने, त्यसमा मलाई खटाउने र रिक्त हुने प्रहरी महानिरीक्षक पदमा अर्का व्यक्तिलाई सोही दिनदेखि बढुवा गर्ने तीनवटै प्रकरण एउटै शृंखलाका अंग हुन् र तिनको वास्तविक परिणाम प्रहरी महानिरीक्षक पद खाली गराई प्रत्यर्थी नं ४ (मनोज केसी) लाई बढुवा गर्नु मात्र हो’, निवेदनमा भनिएको छ ।

उनले सरकारको निर्णय र त्यसको आधारमा गरिएका पत्राचार काम कारबाही उत्प्रेषणको आदेशले बदर भई आफ्नो कार्यकालभरि पदमा काम गर्न दिनु भनी परमादेश जारी गर्न सर्वोच्च अदालतसँग माग गरेका छन् । यस क्रममा उनले परमादेश जारी हुनुपर्ने आधार पनि पेस गरेका छन् ।

पहिलो आधारमा उनले मन्त्रिपरिषद्को अधिकारक्षेत्र र विवादित निर्णयको कानुनी आधारको अभाव रहेको दाबी गरेका छन् । मन्त्रिपरिषद्ले प्रयोग गर्ने प्रत्येक अधिकारको स्रोत संविधान वा कानुनमा देखिनुपर्ने र कानुनले नदिएको अधिकार प्रयोग गरी गरिएको निर्णय अधिकार क्षेत्रविहीन हुने जिकिर निवेदनमा गरिएको छ ।

कानुन अनुसार प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि पदको समाप्ति पनि कानुनद्वारा नै हुनुपर्ने उनको जिकिर छ । ‘प्रहरी ऐन, २०१२ वा प्रहरी नियमावली २०७१ मा बहालवाला प्रहरी महानिरीक्षकलाई प्रहरी संगठनबाहिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिर्जना गरिएको पदमा खटाउन सकिने वा प्रहरी महानिरीक्षकलाई सरुवा गर्न सकिने कुनै व्यवस्था छैन‘, कार्कीको रिटमा भनिएको छ।

उनले आफ्नो रिटमा यसअघि २०५३ सालमा महानिरीक्षकबाट हटाइएका अच्युतकृष्ण खरेल र २०८२ मा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाइएको प्रकरण पनि उल्लेख गरेका छन् । यी दुवै जनालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएको थियो ।

अच्युतकृष्ण खरेललाई हटाउँदा राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अधिकृत पदमा प्रहरी अधिकृतलाई नियुक्त गर्न सकिने कानुनी व्यवस्था थियो। सरकारले पनि खरेललाई अनुसन्धान विभागको प्रमुखमै सरुवा गरेको थियो।

तर सर्वोच्च अदालतले बहालवाला प्रहरी महानिरीक्षकलाई हटाउने निर्णयलाई वस्तुनिष्ठ आधारविहीन र बदनियतपूर्ण ठहर गरिएको थियो। तर अहिले त्यस्तो कानुनी आधार समेत नरहेकाले खरेको मुद्दाभन्दा पनि स्पष्ट रूपमा अधिकार क्षेत्रविहीन रहेको दाबी उनले गरेका छन्।

पदबाट हटाउनु र अर्को पदमा नियुक्त गर्नु फरक कुरा भएको उल्लेख गर्दै अर्को पदमा नियुक्तीको नाममा परोक्ष रूपमा पदमुक्त गर्न मिल्दैन भन्ने सम्बन्धमा प्राधिकरणका कार्यकारी निर्देक हितेन्द्रदेव शाक्यको हकमा सर्वोच्चको संयुक्त इजलासले गरेको फैसलाको व्याख्या पनि उनले उल्लेख गरेका छन् ।

यसअघिको सरकारले शाक्यलाई प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगको उर्जा विशेषज्ञ सदस्य पदमा नियुक्त गरेको थियो। तर यसलाई सर्वोच्च अदालतले बदर गर्दै प्राधिकरणमै पुनर्बहाली गराएको थियो । सरकारले त्यतिबेला पनि शाक्यलाई हटाएको नभई सेवा सुविधा नघट्ने गरी अर्को महत्वपुर्ण पदमा नियुक्त गरिएको जिकिर लिएको थियो।

तर अदालतले उक्त जिकिर अस्वीकार गर्दै सरकारको निर्णय बदर गरिदिएको थियो। नियुक्त गर्ने अधिकारीले हटाउन सक्ने भन्नुको अर्थ त्यस्तो अधिकारीले चाहेको जुनसुकै बखत बिनाकारण हटाउन सक्ने भन्ने कदापि नभएको पनि अदालतको व्याख्या छ।

यस्तै अच्युतकृष्ण खरेललाई पुनर्बहालीका लागि दिएको परमादेशको व्याख्या पनि कार्कीले अदालतमा पेस गरेका छन् । उक्त फैसलामा अदालतले भनेको छ, ‘कुनै कतैको राजनीतिक कृपाको भरमा प्रहरी प्रशासन निर्भर रहने हो भने प्रहरी सेवाको निष्पक्षता र कर्तव्य परायणतामा ह्रास आई देशको आन्तरिक अमनचैनको स्थिति बिग्रन जान्छ। यस्तो परम्परा रहेमा भयावह स्थिति उत्पन्न हुने अवस्था आउँछ। अवकाश प्राप्त प्रहरी अधिकृत वा सहमतिबाट नियुक्त हुनेबाहेक प्रहरी महानिरीक्षकको पदमा बढुवा पाई निजबाट पेसाको कर्तव्य भइरहेको अवस्थामा बिनाकारण प्रहरी महानिरीक्षकको पदबाट प्रमुख अधिकृतको पदमा नियुक्त गरिनु उपयुक्त नदेखिने।’

अहिलेको निर्णयमा पनि ठिक त्यही अवस्था रहेको निवेदकको दाबी छ। आफूलाई प्रहरी महानिरीक्षकबाट हलग गर्नु पर्ने कुनै पनि कारण नदेखिाइएको र निर्णयको एकमात्र परिणाम केसीलाई आईजीपी बनाउनु रहेको देखिएको भनिएको छ ।

सरकारको यस्तो निर्णयले प्रहरी सेवाको निस्पक्षता, मनोबल र देशको आन्तरिक शान्ति सुरक्षामा प्रतिकूल असर पर्ने उल्लेख छ। विवादित निर्णयले प्रहरी महानिरीक्षकस्तरका दुई पदाधिकारी सिर्जना गरी एकजना प्रहरी संगठनबाहिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र अर्को प्रहरी प्रधान कार्यालयमा राख्दा नेपाल प्रहरीको पदीय सोपान र आदेश शृङ्खलामा अन्योल सिर्जना गर्ने दाबी छ ।

आफूलाई अर्को ठाउँमा खटाए पनि महानिरीक्षक पद रिक्त नभएको र रिक्त नै नभएको पदमा गरिएको बढुवा स्वतः गैरकानुनी बदरभागी रहेको दाबी कार्कीले गरेका छन् । अदालतको नजिर, आफूलाई हुने अपूरणीय क्षति र सुविधा सन्तुलनबाट समेत अन्तरिम आदेश जारी हुनु पर्ने माग उनको छ।

निवेदन विचाराधीन रहँदा बितेको पदावधि पछि फिर्ता हुन नसक्ने, पदावधि सकिएपछिको अन्तिम आदेश निष्प्रभावी हुन सक्ने र अहिले नियुक्त गरिएका महानिरीक्षकले गर्ने सरुवा, बढुवा सिफारिस, परिचालन जस्ता निर्णयले प्रहरी संगठनमा दीर्घकालीन र अपरिवर्तनीय असर पार्न सक्ने दाबी कार्कीको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top