१० मंसिर , काठमाण्डौ । जलविद्युत्को क्षेत्रमा देशलाई नै कायापलट गर्ने राष्ट्रिय गौरवको १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । बुधबार गोरखाको गण्डकी गाउँपालिका–८, घ्याल्चोकस्थित सिउरेनीटारमा सभामुख डीपी अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय तथा आवास भवन र गोरखा–धादिङ जोड्ने पक्की पुलको शिलान्यास गरेपछि आयोजना निर्माणमा ब्रेक थ्रु भएको हो ।धादिङ र गोरखाको सिमानामा निर्माण हुने बुढीगण्डकी जलविद्युत् आयोजना नेपालको सबैभन्दा ठूलो जलाशययुक्त जलविद्युत् आयोजनामध्ये एक हो। आयोजनाको कुल क्षमता १२०० मेगावाट रहेको छ। उपलब्ध वित्तीय विवरणअनुसार निर्माण अवधिको ब्याजसमेत जोड्दा आयोजनाको कुल लागत करिब ४ खर्ब ६ अर्ब रुपैयाँ अनुमान गरिएको छ। यसको निर्माण अवधि आठ वर्ष राखिएको छ। आयोजना सम्पन्न भएपछि वार्षिक करिब ३ अर्ब ३८ करोड युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ।
आयोजनाको बाँध निर्माण भएपछि बन्ने जलाशयले धादिङ र गोरखाका ठूलो भूभाग प्रभावित हुनेछ। धादिङका १३ र गोरखाका १४ साविक गाविसका बासिन्दा आयोजनाबाट प्रत्यक्ष प्रभावित हुने अध्ययनले देखाएको छ। आयोजनाका कारण करिब ३ हजार ५ सय ६० परिवार पूर्ण रूपमा विस्थापित हुने र हजारौँ परिवार भौतिक तथा आर्थिक रूपमा प्रभावित हुने अनुमान छ। जग्गा अधिग्रहण, घरगोठ, बोटबिरुवा र फलफूलको क्षतिपूर्ति तथा पुनस्र्थापनाको विषय आयोजनाको सबैभन्दा संवेदनशील पक्षका रूपमा रहँदै आएको छ। आयोजनाको जग्गा प्राप्ति र मुआब्जा वितरणमा उल्लेख्य प्रगति भए पनि पुनर्वास तथा पुनस्र्थापनाको विषय अझै महत्वपूर्ण चुनौतीका रूपमा रहेको छ। प्रभावित परिवारलाई उचित मुआब्जा, सुरक्षित आवास, जीविकोपार्जनको विकल्प र रोजगारीको अवसर सुनिश्चित नगरी आयोजना अघि बढाउँदा स्थानीयस्तरमा समस्या आउन सक्ने देखिन्छ।यसअघि आयोजनाको लगानी ढाँचा, निर्माण मोडेल र वित्तीय व्यवस्थापनको विषयमा पटक–पटक छलफल हुँदै आएको थियो। पछिल्लो स्वीकृत वित्तीय ढाँचाअनुसार नेपाल सरकारको ८० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको २० प्रतिशत स्वामित्व रहने गरी आयोजना अघि बढाउने व्यवस्था गरिएको छ। कुल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीबाट जुटाउने प्रस्ताव छ। तर अहिले प्राधिकरण मोडेलमा लैजाने तयारीसँगै आयोजनाको संस्थागत संरचना र व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विषयले प्राथमिकता पाएको छ।बुधबार शिलान्यास गरिएका संरचनामध्ये आयोजनाको स्थायी कार्यालय तथा आवास भवन निर्माणका लागि ३७ करोड २९ लाख रुपैयाँ र पुल निर्माणका लागि २३ करोड ६३ लाख रुपैयाँको ठेक्का सम्झौता भएको छ। सिउरेनीटारबाट धादिङको सिद्धलेक क्षेत्र जोड्ने पुलले गोरखा र धादिङबीचको आवागमन सहज बनाउनुका साथै आयोजनाको निर्माण सामग्री तथा उपकरण ओसारपसारमा समेत सहयोग पु¥याउने अपेक्षा गरिएको छ।वर्षौंदेखि लगानीको मोडेल, प्रशासनिक संरचना र मुआब्जाको विषयमा अल्झिँदै आएको बुढीगण्डकी आयोजना अब पूर्वाधार निर्माणतर्फ अघि बढेको छ। यद्यपि कार्यालय भवन र पुलको निर्माण सुरु हुँदैमा मुख्य जलविद्युत् संरचनाको निर्माण सुरु भइसकेको भने होइन। आयोजनाको मुख्य भौतिक निर्माण कार्य सन् २०२८ जनवरीदेखि सुरु गर्ने लक्ष्य राखिएको छ। त्यसैले अहिलेको चुनौती पूर्वतयारीका कामलाई तीव्रता दिँदै निर्धारित समयमै मुख्य निर्माणमा प्रवेश गर्नु र आठ वर्षभित्र आयोजना सम्पन्न गर्नु हो।
बुढीगण्डकी निर्माणले गति लिएमा धादिङ र गोरखाको मात्र नभई समग्र देशको ऊर्जा सुरक्षा, रोजगारी, पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढेसँगै सभामुख डोलप्रसाद (डीपी) अर्यालले निर्माणको जिम्मा पाउने व्यवसायीलाई निर्धारित समयभित्रै काम सम्पन्न गर्न आग्रह गरेका छन् । वर्षौंदेखि चर्चामा सीमित रहेको आयोजना अब निर्माणको चरणमा प्रवेश गरेकाले काममा ढिलासुस्ती नगर्न उनले निर्माण व्यवसायीलाई सचेत गराएका छन् । बुढीगण्डकी आयोजना केवल विद्युत् उत्पादन गर्ने परियोजना मात्र नभई धादिङ, गोरखा र आसपासका जिल्लाको आर्थिक तथा सामाजिक विकासको आधार बन्न सक्ने उनले बताए ।सभामुख अर्यालका अनुसार बुढीगण्डकी बहुउद्देश्यीय जलविद्युत् परियोजनासम्बन्धी ऐन र प्राधिकरणको संरचनाबारे बिहीबार अन्तिम टुंगो लगाउने तयारी छ।

यसअघि २० पटकभन्दा बढी बैठक र छलफलपछि आयोजना यो अवस्थामा आइपुगेको उनले बताए । चालु आर्थिक वर्षका लागि डेढ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिएको र आवश्यक परे थप डेढ अर्ब रुपैयाँसमेत उपलब्ध गराइने उनको भनाइ छ। संसद्को अधिवेशन सुरु भएको दुई साताभित्रै सम्बन्धित ऐन सदनमा पेस गर्ने र ऐनअनुसार शक्तिशाली सञ्चालक समिति गठन गरी प्राधिकरणमार्फत आयोजना निर्माण अघि बढाउने तयारी रहेको सभामुख अर्यालले जानकारी दिए ।कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी आयोजना कम्पनी मोडेलमा नभई प्राधिकरण मोडेलमा निर्माण हुनुपर्ने धारणा राखे। आफू प्रधानमन्त्री हुँदा आयोजनालाई छिटो अघि बढाउन निर्णय गरेर काम सुरु गराएको स्मरण गर्दै उनले आयोजना निर्माणका लागि उपयुक्त संरचना र व्यवस्थापन आवश्यक रहेको बताए।पूर्वप्रधानमन्त्री भट्टराईले बूढीगण्डकीलाई प्राधिकरणमार्फत अघि बढाउने अवधारणा आफूले पछिल्ला सात वर्षदेखि विभिन्न सरकारलाई बुझाउँदै आएको बताए। बूढीगण्डकी विकास समितिको अवधारणा, त्यसका दस्तावेज र योजनालाई निरन्तरता दिनुपर्ने भन्दै उनले सरकार परिवर्तनसँगै आयोजना सञ्चालनको मोडल फेरिन नहुने धारणा राखे।उनका अनुसार गोरखा र धादिङका सांसदहरूसहित विभिन्न सरकारलाई आयोजनाको अवधारणा र प्राधिकरणको मोडल बुझाउने प्रयास हुँदै आएको छ। पछिल्लो पटक पनि तत्कालीन सरकारलाई उक्त अवधारणा बुझाइएको उनले बताए।
भट्टराईले विकासका आयोजनामा सरकार परिवर्तनसँगै अवधारणा र संरचना बदल्ने प्रवृत्ति अन्त्य हुनुपर्ने भन्दै राज्य निरन्तर रहने संस्था भएकाले राष्ट्रिय योजनाहरू पनि निरन्तरतामा अघि बढ्नुपर्ने बताए। उनले अहिलेको सरकारले बूढीगण्डकीलाई अघि बढाउन चासो देखाएको विश्वास व्यक्त गर्दै प्राधिकरणसम्बन्धी ऐन निर्माणलाई प्राथमिकता दिन आग्रह गरे। सभामुख, मन्त्री तथा नयाँ सांसदहरूलाई पुराना अवधारणा र दस्तावेज अध्ययन गरेर आवश्यक सुधारसहित प्राधिकरणको कानुन अघि बढाउन उनले आग्रह गरे। भट्टराईले बूढीगण्डकी आयोजनाको जलाशयलाई आसपासको क्षेत्र विकाससँग जोड्नुपर्ने बताए।
आयोजनाको अवधारणामा जलाशयको वरिपरि रिङरोड निर्माण गर्ने र त्यसलाई अन्य पूर्वाधारसँग जोड्ने योजना रहेको उनले उल्लेख गरे। उनका अनुसार जलाशय क्षेत्रको विकास, सडक, पर्यटन, बस्ती र आर्थिक गतिविधिलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेछ। आयोजनाको निर्माणमा लामो समय लाग्न सक्ने भन्दै त्यस अवधिमा स्थानीय सडक तथा पूर्वाधारको विकासमा पनि ध्यान दिनुपर्ने उनको आग्रह थियो। उनले बेनीघाट–आरुघाट–लार्के जाने सडकलाई पक्की बनाउनुपर्ने आवश्यकता औंल्याए। आयोजनाको निर्माण अवधिमा स्थानीय नागरिकको आवागमन र जनजीवन सहज बनाउन सडक पूर्वाधारमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। भट्टराईले बूढीगण्डकी आयोजना अघि बढाउन इच्छाशक्ति र स्पष्ट दृष्टिकोण आवश्यक रहेको भन्दै नयाँ राजनीतिक नेतृत्वले पुराना दस्तावेजलाई सन्दर्भका रूपमा लिएर आवश्यक सुधार गर्दै परियोजना अघि बढाउनुपर्ने बताए।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालले पनि बूढीगण्डकी आयोजनाको काम अघि बढाउन सरकारले बजेट अभाव हुन नदिने दाबी गरेका छन्। आयोजनाको निर्माणलाई गति दिने सरकारको प्रतिबद्धता रहेको उनको भनाइ थियो। बूढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर अरुण रजौरियाले शिलान्यासलाई आयोजनाको निर्माण यात्राको ठोस सुरुवातका रूपमा व्याख्या गरे। उनका अनुसार आज बुधबार शिलान्यास गरिएका क्याम्प सुविधा र नदीमाथिको स्थायी पुल आयोजनाको निर्माणका लागि आधारभूत पूर्वाधार हुन्।
उनले बूढीगण्डकी आयोजना केवल विद्युत् उत्पादन गर्ने परियोजना नभई ऊर्जा सुरक्षा, बाढी जोखिम न्यूनीकरण, पर्यटन, कृषि, रोजगारी र आर्थिक विकाससँग जोडिएको राष्ट्रिय आयोजना भएको बताए। रजौरियाले आयोजना प्रभावित परिवारको न्यायोचित मुआब्जा, पुनर्वास, जीविकोपार्जन पुनःस्थापना र स्थानीय रोजगारी सुनिश्चित गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। आयोजनाको वित्तीय लगानी ढाँचा सरकारले स्वीकृत गर्नु कार्यान्वयनका लागि महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो।



