बालेनको काम माथि प्रश्न उठाउने प्रचण्डले ३ पटक भारत जाँदा के गरे ?

१३ मंसिर २०८३, आइतबार
Share this
769shares

१३ मंसिर , काठमाण्डौ । नेपालको राजनीतिक वृत्तमा अहिले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को हालै सम्पन्न भारत भ्रमण र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यस विषयमा दिएको अभिव्यक्तिको चौतर्फी चर्चा भइरहेको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई ’सामान्य र कुनै तात्त्विक उपलब्धि नभएको’ भन्दै प्रचण्डले कडा आलोचना गरेपछि त्यसले राजनीतिक क्षेत्रमा मात्र नभई सामाजिक सञ्जाल र आम नागरिकको तहमै ठूलो तरंग पैदा गरेको छ। प्रचण्डले महोत्तरीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बालेनको भ्रमणलाई खिसीट्युरी गर्दै, “रेल ल्याउनुभा छैन, सबै हामीले गरेका कामहरूलाई अँ–अँ भन्ने बनाउनु भएको छ, केही भएको छैन” भनी दिएको अभिव्यक्तिप्रति आम जनताले भने तीव्र आक्रोश व्यक्त गरेका छन्।

Advertisement

दश वर्षभन्दा लामो समयसम्म सत्ताको बागडोर सम्हालेका, तीनपटक देशको प्रधानमन्त्री भइसकेका र पटक–पटक भारत भ्रमण गरेर पनि देशको मुहार फेर्न नसकेका नेताहरूबाटै यस्तो गैरजिम्मेवार र पूर्वाग्रही टिप्पणी आउनु हाँस्यास्पद भएको भन्दै सर्वसाधारणले प्रचण्डको कडा आलोचना गरेका छन्। सामाजिक सञ्जाल र सार्वजनिक चोकहरूमा जनताले प्रचण्डको भनाइको खिल्ली उडाउँदै, “जसले आफ्नो कार्यकालमा देशका लागि सिन्को भाँचेनन्, उनीहरूले भर्खरै सत्ता सम्हालेर नयाँ गतिका साथ काम गर्न खोज्ने युवा प्रधानमन्त्रीमाथि प्रश्न उठाउन सुहाउँदैन” भन्दै आक्रोश पोखेका छन्। भारतबाट मुर्रा ल्याएका सफल प्रधानमन्त्री भन्दै प्रचण्डको आलोचना गरेका छन् । धेरैले के मुर्रा लिएर आउनु पर्दथ्यो ? भन्ने प्रश्न गरेका छन् ।कतिपय नागरिकले त “बालेनले रेल ल्याउन सकेनन् भनी आलोचना गर्ने प्रचण्डजीले आफ्ना पालामा देशमा कतिवटा रेल वा चमत्कारिक विकास गरे जनतालाई हिसाब बुझाउनुपर्छ” भन्दै व्यङ्ग्य गरेका छन्। जनताको यो तीखो प्रतिक्रियाले नेताहरूको संकीर्ण राजनीतिक मानसिकता र जनताको बदलिँदो बुझाइबीचको ठूलो दूरी प्रष्ट्याएको छ ।प्रचण्डले बालेनको भ्रमणलाई ’कमजोर’ र ’उपलब्धिविहीन’ भनेर साबित गर्न खोजे पनि आम जनता र राजनीतिक विश्लेषकहरू भने यसलाई नितान्त भिन्न ढंगले हेरिरहेका छन्। कुन प्रधानमन्त्रीको भारत भ्रमण वास्तवमा कति उपलब्धिमूलक भयो भन्ने विषयमा इतिहास र हालका तथ्यहरूले स्पष्ट चित्र देखाएका छन् ।पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तीनवटा प्रधानमन्त्रीय कार्यकालमा (सन् २००८, २०१६ र २०२३) भारतको औपचारिक भ्रमण गरे। उनका पालामा १० हजार मेगावाट विद्युत् व्यापारको दीर्घकालीन आधार बन्ने सम्झौता र केही ठूला परियोजनाका कुरा कागजमा त निकै आकर्षक रूपमा उठाइए। तर, ती सम्झौताहरूको धेरैजसो हिस्सा अझै पनि कार्यान्वयनको पर्खाइमा थन्किएका छन्।

२००८ सेप्टेम्बर १४ देखि १८ सम्मको भ्रमणमा नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र आर्थिक विकास मुख्य विषय थिए।
– सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्ने सहमति भयो।
– कोसी बाढीपीडितका लागि भारतले तत्काल २० करोड रुपैयाँ राहत दिने प्रतिबद्धता जनायो।
– कोसी बाढीबाट क्षतिग्रस्त पूर्व–पश्चिम राजमार्गका खण्ड पुनर्निर्माण गर्ने सहमति भयो।
– राप्ती नदीमा नौमुरे जलविद्युत् आयोजना अघि बढाउने प्रतिबद्धता आयो।
– नेपाललाई आवश्यक चामल, गहुँ, मकै र चिनीको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउने सहमति भयो।
– पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि तीन महिनाका लागि १५० करोड रुपैयाँसम्मको ऋण सुविधा दिने सहमति भयो।
यस भ्रमणबाट बाढी राहत, खाद्यान्न आपूर्ति र ऊर्जा विकासमा सहयोगको प्रतिबद्धता प्राप्त भयो।

Advertisement

यस्तै सन् २०१६ः सेप्टेम्बर १५–१८, २०१६ को राजकीय भ्रमण
२०७२ सालको विनाशकारी भूकम्पपछि पुनर्निर्माण र आर्थिक सहयोग यस भ्रमणका प्रमुख एजेन्डा थिए।
– भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले घोषणा गरेको १ अर्ब अमेरिकी डलरको सहायता प्याकेज कार्यान्वयनमा लैजाने सहमति भयो।
– भूकम्पबाट प्रभावित ५० हजार घरपरिवारलाई दिने अनुदान प्रतिपरिवार २ लाखबाट बढाएर ३ लाख रुपैयाँ पु¥याउने प्रतिबद्धता आयो। यसका लागि ५ करोड डलर उपलब्ध गराउने सहमति भयो।
– तराईका हुलाकी सडक तथा अन्य सडक आयोजना निर्माणलाई तीव्रता दिने सहमति भयो।
– जयनगर–बिजलपुरा–बर्दिबास र जोगबनी–विराटनगर रेलमार्ग निर्माण अघि बढाउने सहमति भयो।
– रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणलाई तीव्रता दिने निर्णय भयो।
– नेपालगन्ज, विराटनगर र भैरहवामा एकीकृत जाँच चौकी निर्माण अघि बढाउने सहमति भयो।
– पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा छलफल भयो।
यस भ्रमणबाट पुनर्निर्माण, सडक, रेल, ऊर्जा र व्यापारिक पूर्वाधारमा भारतीय सहयोग विस्तार गर्ने आधार तयार भयो।

प्रचण्डको तेस्रो भ्रमण सन् २०२३ःमा मे ३१ देखि जुन ३, २०२३ सम्म भयो
प्रचण्डको तेस्रो प्रधानमन्त्रीय कार्यकालमा भएको यस भ्रमणमा जलविद्युत् निर्यात, व्यापार र कनेक्टिभिटीले प्राथमिकता पायो।
– आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने दीर्घकालीन सम्झौता भयो।
– भारत हुँदै बंगलादेशमा ५० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भयो।
– ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको विकास सम्झौता आदानप्रदान भयो।
– ४८० मेगावाटको फुकोट कर्णाली आयोजना विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भयो।
– नेपालगन्ज–रुपैडिहा एकीकृत जाँच चौकी उद्घाटन भयो भने भैरहवा–सुनौलीमा अर्को जाँच चौकीको शिलान्यास भयो।
– दोधारा–चाँदनीमा एकीकृत जाँच चौकी तथा सुख्खा बन्दरगाह निर्माण अघि बढाउने सहमति भयो।
– विद्युत् प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि ६७९.८ मिलियन अमेरिकी डलर बराबरको भारतीय सहुलियतपूर्ण ऋण सहयोगको व्यवस्था अघि बढ्यो।

यी भ्रमणले जनताले महसुस गर्ने गरी दैनिक जीवनमा परिवर्तन ल्याउने खालका ठोस परिणाम दिन उनीहरूका पालाका कूटनीतिक प्रयासहरू असफल जस्तै साबित भए। भाषणमा ठूला कुरा गर्ने तर जमिनी तहमा सिन्को नभाच्ने प्रवृत्तिका कारण जनताको नजरमा पुराना नेताहरूको विश्वसनीयता खस्कँदै गएको छ ।प्रधानमन्त्री बनेपछि पहिलो पटक भारत भ्रमणमा गएका बालेन्द्र शाहले परम्परागत राजनीतिक नेताहरूजस्तो केवल लामा लामा भाषण र कोरा आश्वासनमा मात्रै भर परेनन्। भ्रमणका क्रममा भारतले नेपालको पूर्वाधार विकास र पुनर्निर्माणका लागि २४ हजार करोड नेपाली रुपैयाँ (२ खर्ब ४० अर्ब) बराबरको ऐतिहासिक विकास प्याकेज घोषणा ग¥यो।

यसमा करिब २३ प्रतिशत अनुदान र ७७ प्रतिशत सहुलियतपूर्ण ऋण समावेश छ। यसबाहेक, भारतको गुजरातस्थित सामरिक महत्त्वको काण्डला (दीनदयाल) बन्दरगाह प्रयोग गर्न पाउने सुविधा सुनिश्चित हुनु र काठमाडौं–भैरहवा–लखनउ जोड्ने एकतर्फी हवाई मार्गलाई दुईतर्फी बनाउने सैद्धान्तिक सहमति हुनु नेपालको वैदेशिक व्यापार र कूटनीतिमा ठूला माइलस्टोन मानिएका छन्। अयोध्या–जनकपुर रेल सम्पर्क विस्तार र सीमावर्ती क्षेत्रमा मोटरेबल पुल तथा जाँच चौकी शिलान्यास जस्ता कामले जनतालाई प्रत्यक्ष राहत दिने छाँटकाँट देखाएका छन्।

राजनीतिक विश्लेषकहरूको ठम्याइमा, प्रचण्डले बालेनको भ्रमणलाई कमजोर देखाउनुमा उनको आफ्नै राजनीतिक छटपटी र पुरानो ढर्राको सोच मुख्य रूपमा जिम्मेवार छ। दशकौँसम्म सत्ताको स्वाद चाखेका पुराना दलका शीर्ष नेताहरूले जब एक युवा र स्वतन्त्र छवि बनाएका नेताले छोटो समयमै छिमेकी देशसँग समान तहमा उभिएर कूटनीतिक संवाद गरेको र ठूला आर्थिक प्याकेज ल्याएको देख्छन्, तब उनीहरूमा एक प्रकारको राजनीतिक कुण्ठा उत्पन्न हुनु स्वाभाविक मानिन्छ।जनताले स्पष्ट रूपमा बुझेका छन् कि बालेनको भ्रमणमा केही सीमाहरू वा कमजोरीहरू होलान्, तर त्यसलाई अतिरञ्जित गरेर खिसीट्युरी गर्नु भनेको जनताले परिवर्तनको पक्षमा दिएको जनमतप्रतिको अपमान हो।

जनताले सधैँ कागजी भाषण र पुराना नेताका खोक्रो आश्वासन मात्र सुन्नुपर्ने बाध्यता अब छैन। जसले देशका लागि इमानदारीपूर्वक काम गर्न खोज्दैछ, उसैमाथि अनावश्यक लाञ्छना लगाउने नेताहरूको प्रवृत्तिलाई जनताले अब गम्भीर रूपमा तिरस्कार गर्न थालेका छन्। समग्रमा भन्नुपर्दा, प्रचण्डले बालेनको भ्रमणलाई लिएर जति नै आलोचनात्मक टिप्पणी गरे पनि, त्यसले जनताको मन जित्न सकेको छैन।

उल्टै जनताले “वर्षौँसम्म देशलाई अन्धकारमा राख्नेहरूले अहिले रचनात्मक काम गर्नेलाई रोक्न खोजेको” भन्दै प्रचण्डको उक्त भनाइको चर्को विरोध गरेका छन्। यस घटनाले नेपालको राजनीतिमा अब जनता नेताका भाषणबाट होइन, उनीहरूको कार्यशैली र परिणामबाट प्रभावित हुन्छन् भन्ने गतिलो संदेश दिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top