पोखरा, कात्तिक १७
पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल)अन्तर्गत आज भएको खेलमा पोखरा पल्टनले काठमाडौ रोयल्सलाई ४ विकेटले हराएको छ ।
पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौले १९ ओभर एक बलमा एक सय तीन रनमा अलआउट भयो । खराब सुरुवात गरेको काठमाडौले १३ रन बनाउदा दुई विकेट गुमायो । उसका ओपनर जयकिशन कोल्सावाल र गौरव तमोरले खाता खोल्न सकेनन । त्यसपछि पनि उसले ४३ रन बनाउदा थप दुई विकेट खेर फाल्यो ।
अमित श्रेष्ठ २१ रनमा आउट भए भने पवन सराफ १२ रनमा पेभेलियन फर्किए । काठमाडौका कुनैपनि खेलाडीविच राम्रो साझेदारी हुन सकेन । काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधकि ३१ रन बनाए । अघिल्लो खेलमा अर्धसतक प्रहार गरेका नरेश बुढाऐर ६ रनमा, आदिल खान सात, अमरसिंह रौटेला एक रनमा आउट भए । ९२ रन बनाउदा उसले नौ विकेट गुमाइसकेको थियो ।
बसन्त रेग्मी १९ रनमा अविजीत रहे । बलिङ तर्फ ललित राजवंशीले तीन तथा मोहम्मद नाभिद र रासिद खानले दुई दुई विकेट लिए ।
जवाफमा ब्याटिङमा उत्रिएको पोखरा पल्टनले १५ ओभर ५ बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । १६ रनमा पहिलो विकेट गुमाएको पोखराले ४८ रन बनाउदा तीन विकेट खेर फालेको थियो । उसका लागि कुशल भुर्तेलले १४, आशिफ शेखले १६ रन बनाए भने विनोद भण्डारीले शुन्य रनमा आउट भए ।
त्यसपछि विदेशी खेलाडी रवीइन्दर सिंह र कप्तान शरद भेषवाकरलाई लगातार दुई बलमा अमरसिंह रौटेलाले आउट गरेपछि पोखराले ६९ रनमा ५ विकेट गुमायो । रवीले २२ रन बनाए भने मोहम्मद नाभिदले ३६ रन बनाए । बलिङमा अमरसिंह रौटेलाले तीन विकेट लिएका छन् ।
जितसँगै पोखरा लिगको शिर्ष स्थानमा पुगेको छ । पोखराको जितसँगैै बुटवल र विराटनगर पोखरा प्रिमियर लिगबाट बाहिरीएका छन् ।