काठमाडौँ, कात्तिक १८
मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । ७७ बर्षीय तुलाधरको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचरका क्रममा तुलाधरको निधन भएको अस्पतालका सूचना अधिकारी आरपी मैनालीले पुष्टि गरे ।
पूर्वराजनीतिज्ञसमेत रहेका तुलाधर मस्तिष्क स्नायुसम्बन्धी गम्भीर रोगसँग जुधिरहेका थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा सारिएको थियो ।
तुलाधार पछिल्लो पटक २०५१ सालको आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा विजयी भएका थिए । तुलाधरले पञ्चायत कालमा बामपन्थीहरूको प्रतिनिधिका रूपमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य भएर व्यवस्था बिरुद्धमा आवाज उठाएका थिए ।
मानवअधिकार संरक्षण मञ्च, मंका खललगायत संघ संस्थाका संस्थापक तुलाधर माओवादी सरकार बार्ताका क्रममा सहजकर्ताको भूमिकामा समेत रहेका थिए । उनको उपचारका क्रममा सरकारले बेवास्ता गरेको गुनासो उनको परिवारले गर्दै आएको थियो ।
नेकपा एमालेको समर्थनमा २०४८ र २०५१ मा काठमाडौंबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित तुलाधर २०५३ मा श्रम तथा स्वास्थ्यमन्त्री भएका थिए। उनको मानवअधिकार, नेपाल भाषा, पत्रकारिता, साहित्य तथा नाटक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका छ। तुलाधरका नेपाल भाषामा थुप्रै नाटक (ख्यालः), निबन्ध आदि गरी १६ पुस्तक प्रकाशित छन्।