एजेन्सी, कात्तिक २५
इथियोपियामा एक व्यक्तिको पेटबाट १ सय भन्दा धेरै फलामका किला तथा अन्य तिखा वस्तुहरु निकालिएको छ ।
मानसिक रुपमा बिरामी रहेका ती व्यक्तिले निलेर पेटमा अड्किएका ती सबै चिज शल्यक्रिया गरी डाक्टरहरुले बाहिर निकाल्न सफल भएका हुन् ।
३३ वर्षका ती व्यक्तिको पेटबाट ४ इन्च लामा फलामका १ सय २२ वटा किला, ४ वटा पिन, टुथपिक तथा काँचका टुक्राहरु समेत निकालिएको सेन्ट पिटर्स स्पेशलाइज्ड अस्पतालका एक सर्जनले बताए ।
१० वर्षदेखि मानसिक रोगबाट पीडित ती ब्यक्तिले पछिल्लो दुई वर्षदेखि औषधि खान छाडेका कारण अवस्था बिग्रिएको थियो ।डाक्टरहरुका अनुसार ती व्यक्तिले त्यतिधेरै संख्याका किलाहरु पानीसँग निलेको हुनसक्छ ।
त्यतिधेरै वस्तुहरु पेटमा हुँदा पनि पेट नकाटिएका कारण उनको ज्यान जोगिएकोमा डाक्टरहरु उनलाई भाग्यमानी ठान्छन् । यदि किलाले पेट काटेको भए उनको मृत्यु हुनसक्थ्यो ।