आज छठको मुख्य दिन : साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरि मनाइँदै

२६ कात्तिक ७५, मंगलबार

विराटनगर, कात्तिक २७
सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज तेस्रो तथा मुख्य दिन,यस दिनमा ब्रतालुहरू पानीसमेत नपिइ निराहार ब्रत बस्छन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गइ पानीमा डुवेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् ।

Advertisement

छठको दिन सूर्यलाई चढाउन बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुवाई सूर्य देउतालाई चढाउँछन् । प्रातःकालीन अर्घका लागि केही ब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउँदाउन्जेलसम्म पूजा गर्छन् । भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् ।

यस दिन रातभर भजन किर्तन र नाँचगान हुने गर्छ । सूर्य देवतालाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफुल, मिठाइ सहितका परिकार चढाउने गरिन्छ ।

Advertisement

छठपर्वको अवसरमा विराटनगरको सिगिंया , केशलिया, वक्राहा, चिसांग लोहन्द्र खोला,मोरंग–सुुनसरी सिचाइ आयोजनाको नहर, पोखरीहरुलाई झकिझकाउ पारिएको छ ।

छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि खान नहुने धार्मिक मान्यता रहेको विराटनगर–९ स्थित राम जानकी मन्दिरका पुजारी दिलिपकुमार मिश्रले बताए । मनोकांक्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्ने र यसको फल तुरुन्तै प्राप्त हुने उनले बताए ।

Advertisement

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धी र चर्मरोग निको हुने जनविश्वासका साथ श्रद्धापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन खरना मनाइने गरिन्छ ।

शुक्ल पञ्चमी तिथीको दिन खरनामा पूजा गरे पापको क्षय हुने जनविश्वास रहेको छ । सन्ध्याकलीन अर्घ दिनुभन्दा एक दिनअघि हुने खरनामा ब्रतालुहरु दिनभर ब्रत बसेर साँझको समय नुहाइधुवाई गरी माटोको नयाँ चुल्होमा प्रसाद बनाउने गर्दछन् ।

गाइको गोबरले लिपपोत गरी कुलदेवता रहेको घरमा चामलको पिठोले अरिपन दिएर ब्रतालुहरु पूजापाठ गर्ने गर्दछन् । खरनाको दिन घरका सबै सदस्य तथा छिमेकीहरु जम्मा भई प्रसाद ग्रहण गर्ने परम्परा छ । खरनाको दिनदेखि ब्रत बसेका ब्रतालुहरुले सप्तमी तिथीको दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिइसकेपछि छठ पर्व सम्पन्न हुन्छ ।

खरनामा प्रसादको रुपमा विशेष रुपले केरा र सख्खरमा तयार पारिएको खीर बनाइन्छ । खरना तथा छठ पूजाका लागि सामग्री तयार गर्दा शैद्धतालाई विशेष ध्यान दिइने गरिन्छ । पूजन सामग्री शुद्ध नभए अनिष्ट हुने जनविश्वास रहेको पुजारी मिश्र बताउँछन् ।

सूर्य उपासना गर्ने संसारमा छठ एकमात्र यस्तो पर्व हो जसमा अस्ताउँदै र उदाउँदै गरेको सूर्यको पूजा गरिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top