विराटनगर, कातिक ३०
समाजलाई सकारात्मक दिशामा डोहो¥याउन सूचना सम्प्रेषणको भूमिका निर्वाह गर्ने पत्रकार जिम्मेवार हुनुपर्ने बताइएको छ । विराटनगरमा शुक्रबार आयोजित सुरक्षित पत्रकारिताका लागि दण्डहीनता अन्त्य विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले मर्यादित पत्रकारितामा जोड दिएका हुन् ।
नेपाल पत्रकार महासंघ मोरङद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले दण्डहिनताको अन्त्य गर्नका लागि सबैले आफ्नो पेशाको मर्यादालाई बिर्सन नहुनेमा जोड दिएका छन् । पेशाको मर्यादा भित्र रहेर गरिने पत्रकारिताले मात्रै समाजलाई सकारात्मक बाटोतर्फ डोहो¥याउन सक्ने उनको भनाई थियो ।
प्रदेश १ सरकारले आफ्ना निर्णयलाई हरपल सार्वजानिक गर्ने बताउँदै मन्त्री कार्कीले पत्रकारमाथि हुने गैरकानुनी दण्डप्रति सरकार गम्भीर रहेकोले यस्ता घटना रोक्ने प्रतिवद्धता जाहेर समेत गरे । कार्यक्रममा संघीय समाजवादी फोरम प्रदेश १ संसदीय दलका नेता जयराम यादवले समाजको अग्रभागमा रहने पत्रकारको सुरक्षा सधैं चुनौती रहेको बताए ।
उनले सहि सूचनामार्फत समाज रुपान्तरणमा भूमिका निर्वाह गर्नुपर्ने पेशालाई मर्यादित बनाउनुपर्ने जिम्मेवारी पत्रकारमै रहेकोमा जोड दिए । यसैगरी मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले पत्रकारको सुरक्षाप्रति सधैं राज्यको संयन्त्र संवेदनशील रहेको बताएका थिए । उनले राज्यको कानुन र परिधीभित्र रहेर मर्यादित पेशा अपनाउन आग्रह गर्नु भएको छ ।
यसैगरी जिल्ला समन्वयन समितिका प्रमुख नरेश पोखरेलले व्यक्तिगत मामिलासँग जोडिएर आएका कतिपय विषयमा तथ्यपरक भएर मात्रै सार्वजानिक गरिनुपर्नेमा जोड दिए । उनले कतिपय सूचना सार्वजानिक गर्दा समाजमा पर्ने असरबारे बुझ्न जोड दिए ।
कार्यक्रममा पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुइटेलले सेवाक्षेत्रमा रहँदा पत्रकारको सुरक्षाप्रति राज्य उदाशिन बन्न नहुनेमा जोड दिए । राज्यका सूचनाहरु सहजै नागरिकसम्म ल्याउनका लागि पत्रकारमार्फत सूचना सम्प्रेषण हुनुपर्नेमा उनको जोड थियो ।