विराटनगर,कार्तिक३०
विराटनगर महानगरपालिकाले विराटनगर–३ दुधफारममा निर्माणका लागि शिलन्यास गरिएको भ्यूटावर विमानस्थलमा अवतरण हुने जहाजका लागि अवरोध पु¥याउने देखिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीसहित सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कातिक १८ गते शिलन्यास गरेको भ्यूटावर विमानस्थलको एयरदुरी भित्र पर्ने भएको हो ।
एयर ट्राफिकिङ्गलाई असर पार्ने गरि महानगरको योजनामा बन्ने भ्यू टावर विमानस्थलदेखि एक किलोमिटर भित्रै पर्दछ । विमानस्थलको एयर दुरी भित्र पर्ने भएकोले जहाज अवतरणमा असजिलो हुने यो क्षेत्र उत्तर–पूर्वी भागमा पर्दछ । जहाज उडाउन र अवतरण गराउन यो दिशा महत्वपूर्ण मानिन्छ ।
ठूला जहाज अवतरण गराउन आवश्यक पर्ने एयरदुरीलाई यसले समस्या पार्ने विराटनगर नागरिक उड्ययन प्राधिकरणका प्रमुख टेकनाथ सिटौलाको भनाई छ । ठूला जहाज अवतरणमा आवश्यक एयरदुरी भित्र पर्ने यो भ्यूटावर निर्माणको विषयमा महानगरले प्राधिकरणले गरेको पत्राचारलाई समेत वेवास्ता गरेको प्रमुख सिटौला दावी गर्दछन् ।
ठूला जहाजले ४–५ नटिकल (१ नटिकल माइलमा १८५० मिटर हुन्छ) माइलमा धावनमार्गतर्फ अवतरणको दिशा लिने गर्दछ । जब भ्यू टावर बन्ने स्थान र विमानस्थलको दुरी एककिलोमिटर भित्रै पर्दछ । नागरिक उड्डयन कार्यालयले एयर ट्राफिकिङ्गको समस्या बारे जानकारी गराउँदा समेत महानगरले भने १ सय १० मिटर उचाईको संरचना बनाउन शिलन्यास गरेको हो ।
विमानस्थलको पेरीफेरीमा ४५ मिटर अग्लो संरचना बनाउन नपाउने कानुनी प्रावधानलाई मिचेर महानगरका प्रमुख तथा त्यहाँका इन्जिनियर समेतले गलत मनसायमा भ्यू टावर निर्माणको काम बढाउने तयारी थालेका हुन् । विमानस्थल पेरिफेरीमा निर्माण हुन लागेको भ्यू टावरको काम तत्काल रोकिनु पर्ने मागसहित कार्यालयले महानगरपालिकालाई पत्राचार समेत गरिसकेको छ । तर, महानगरले त्यसको जवाफ भने दिएको छैन ।
विमानस्थल विस्तार तथा स्तरोन्नतीको तयारीमा रहेका बेला महानरपालिकाले बनाउने भनिएको भ्यू टावर चुनौतीको रुपमा थपिएको हो । अन्तरदेशीय उडान भर्ने गरि विमानस्थल विस्तारको गुरु योजना तयार पारिरहेको समयमा महानगरपालिकाले भने त्यही पेरिफेरीमा भ्यु टावरको शिलन्यास गरेपछि नागरिक उड्यनन प्राधिकरणलाई अफ्ठ्यारो परेको प्रमुख सिटौला बताउँछन् ।
महानगरले भ्यू टावर बनाउने भनेर विमानस्थल प्रशासनलाई जानकारी दिदैं असर गर्ने या नगर्ने भनि सोधेको समेत थियो । विमानस्थलले एयर ट्राफिकमा असर पुग्ने भएको जानकारी कार्यालयले दिएपनि महानगरले भने आसपासको क्षेत्रमा भ्यू टावर निर्माणको लागि शिलन्यास गरेर काम थालिएको बताउँदै आएको छ । विमानस्थल नजिकै रहेको यो क्षेत्रमा विमान अवतरण हुँदै नजिकै आईसकेको हुन्छ ।
त्यस कारण यो टावर बने विमानस्थलमा जहाज अवतरण गर्नै सकिँदैन । ‘पूर्व–संभाव्यता र यकिन संभाव्यता अध्ययनसहित गुरुयोजना बन्ने प्रक्रियामा रहेको विमानस्थलका लागि महानगरले नै भ्यू टावर निर्माण गर्न लागेको विषय समेत थप चुनौती हुने देखिएको छ ।’ प्रमुख सिटौलाले भने–‘कानुन र मापदण्ड विपरित बन्ने संरचना कुन तरिकाले शिलन्यास गरियो । ’
महानगरका प्रमुख पराजुलीले भने आफूले विमानस्थललाई असर पर्ने या नपर्ने भनि पहिले नै बुझेको बताउँदै असर नगर्नेमा ढुक्क रहेको दाबी गरे । उनले आफूले प्राविधिक तथा विज्ञसँग समेत परामर्श गर्दा जहाज उड्ने र बस्ने क्षेत्र भित्र नपर्ने भएकोले समस्या नहुने जिकीर गरे ।