विराटनगर,कार्तिक ३०
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अमेरिकामा भएको घटनामा आफ्नो संलग्नता नै नभएको घटनामा नाम जोडेर बदनाम गरिएको भन्दै आपत्ति जनाएका छन् ।
बैंककमा उपचार गर्ने भन्दै मुख्यमन्त्री राई अमेरिका पुगेको समाचार प्रकाशमा आएपछि पत्रकार कुटिएको भन्दै आलोचना भइरहेका बेला मुख्यमन्त्री राईले घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट पारेका हुन् ।
व्यक्तिगत भ्रमणका लागि अमेरिका पुगेका मुख्यमन्त्री राईले आज बिहान पत्रकारहरुसंगको कुराकानीमा पे्रस विज्ञप्ति जारी गरी अमेरिकामा पत्रकार लोकमणि राईमाथि भएको कुटपिटको घटनाप्रति आफ्नो मात्र नभई सहयोगीको समेत संलग्नता नरहेको प्रष्ट पारेका छन् ।
‘बाल्टिमोरमा शहरमा रहेका बेला पत्रकार कुटिएको घटनामा जबर्जस्ती हामीलाई तानिएको छ, मुख्यमन्त्री राईले विज्ञप्तिमा भनेका छन् – ‘ घटनामा नाम जोडिँदा अचम्मित छु’। अमेरिकाबाट नेपाल फर्किएपछि मुख्यमन्त्री राईले घटनाबारे प्रष्ट पारेका हुन् ।
मुख्यमन्त्री राईले आफु स्वास्थ परीक्षणका लागि बैंकक आएको र परीक्षणपछि रिपोर्ट आउन एक साता लाग्ने भएकाले व्यक्तिगत भेटघाटका लागि अमेरिका आएको मुख्यमन्त्री राईको भनाई छ । तर राई बैंकक उपचार गर्ने प्रचार गरेर सुटुक्क अमेरिका पुगेको प्रचारमा गलत भएको जानकारी गराएका छन् ।
न्यूयोर्कमा पिटाइ खाएको भनिएका पत्रकार लोकमणि राइको नाम आफूले सुनेको भए पनि नचिनेको मुख्यमन्त्री राईको भनाइ छ।मुख्यमन्त्री राईले प्रदेश १ मन्त्रिपरिषद् बैठकबाट भ्रमण स्वीकृत गरेको प्रष्ट पार्दै नियोजित प्रचारमा कुनै सत्यता नरहेको बताए ।
नितान्त राजनीतिक पूर्वाग्रहका आधारमा गलत प्रचार गरिएको मुख्यमन्त्री राईको आरोप छ । उनले अमेरिका आफ्नो निजि भ्रमण भएकाले त्यसको लागि कुटनितिक राहदानी प्रयोग समेत नगरेको विज्ञाप्ती मार्फत प्रष्ट पारेका छन् ।