काठमाडौं, मंसिर ४
सन् २०१९ हुने महिला साफ च्याम्पियनसिपको पाँचौ संस्करण नेपालले आयोजना गर्ने पक्का भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले मंगलबार नेपाललाई आयोजनाको जिम्मेवारी सुम्पिएको हो । प्रतियोगिता ११ देखि २१ मार्च २०१९ सम्म विराटनगरमा हुनेछ ।
प्रतियोगितामा सहभागी हुने टोलीको संख्या भने यसै महिनाको अन्त्यसम्म तय हुनेछ ।यसअघि डिसेम्बर तेस्रो सातालाई तोकिएको सो प्रतियोगिता श्रीलंकाले आयोजना गर्न असमर्थ भएपछि सारिएको हो । नेपालले विराटनगरमा आयोजना गर्ने प्रस्तावपछि साफले स्थल अनुगमन गरी प्रस्ताव स्वीकार गरेको हो ।
प्रतियोगितामा पहिलो उपाधि जित्ने दाउमा रहेको नेपाल यसअघी तीन पटक फाइनल र पछिल्लो संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो ।भारतको सिलिगुडीमा भएको अघिल्लो संस्करणमा नेपाल भारतसँग २–१ ले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो ।
केहि साताअघि म्यानमारमा भएको ओलम्पिक छनोटको एसियाली क्षेत्रअन्तर्गत प्रारम्भिक चरणमा नेपालले भारतलाई १–१ को बराबरीमा रोकेको थियो ।
साफ च्याम्पियनसीपको तीनै संस्करणमा नेपाल भारतसँग नै पराजित भएको थियो । नेपालले अहिलेसम्म सिनियर महिला फुटबलमा भारतलाई हराउन सकेको छैन ।
नेपाल अपराजित रहँदै ओलम्पिक छनोटको एसियाली क्षेत्रअन्तर्गत दोस्रो चरणमा छनोट भएको छ ।