विराटनगर, मंसिर ९
राजनीतिक संरक्षण नहुने हो भने महिला हिंसा न्युनीकरण भएर जाने विराटनगरमा भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । लैगिंकतामा आधारित हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा आयोजीत अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै मानवअधिकारकर्मी सन्जु साहले राजनीतिक प्रसयका कारण पीडितले न्याय नपाएको गुनासो गरिन् । यस्तै कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता राजीव कोइरालाले महिला हिंसा गर्नेलाई नेपाली कांग्रेसको सदस्यता नदिने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै नेकपाका सचेतक सीता थेबेले पितृसतात्मक सोचाइका कारण महिलाहरुलाई अहिले पनि विभेद गरेको पाइएको बताए । उनले कानुनी अड्चन फुकाएर महिलामाथि हुने विभेद र हिंसालाई अन्त्य गर्न लागि पर्ने बताए ।
सांसद जयराम यादवले दिनप्रतिदिन बढ्दै गएको महिला हिंसालाई न्युनीकरण गर्न परिवार, समाज सबै सचेत भएर अगाडि बढ्नु पर्ने बताए । यस्तै कार्यक्रममा बोल्दै प्रदेश १ का सभामुख प्रदिप भण्डारीले हिंसाको स्वरुप परिवर्तन भएको भन्दै हिंसामुक्त प्रदेश बनाउन सबै राजनीतिक दल, संघसंस्था, व्यक्ति एकजुट भएर अगाडि बढ्नु पर्ने बताए ।
यस्तै कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का उपसभामुख सरस्वती पोखरेलले महिला हिंसा दिनप्रतिदिन जटिल बन्दै गएको बताए ।