विराटनगर, मंसिर १३
आर्थिक बर्ष २०७४÷०७५ प्रदेश १ मा ५० जना क्षयरोगीहरु पत्ता लागेका छन् । क्षयरोग विरुद्ध जागरुक बनाउने हाम्रो भावना, क्षयरोग विनाको संसार देख्ने हाम्रो चाहना भन्ने नाराका साथ विराटनगरमा मनाइएको ६५ औं क्षयरोग नियन्त्रण दिवसका अवसरमा यस्तो जानकारी दिइएको हो ।
नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै क्षयकुष्ठ अधिकृत धु्रव उरावले झापामा १६, सुनसरीमा १३, मोरङमा ५, इलाममा ५, संखुवासभा १,भोजपुर १, उदयपुर ३, पाचथर १, ताप्लेजुङ १, ओखलढुङा ४ जना कडा किसिमको क्षयरोगी पत्ता लागेको बताए ।
एकजना फोक्सोका क्षयरोगीले उपचार नलिएमा १ वर्षमा १० देखि १५ जनासम्मलाई क्षयरोग सार्न सक्ने बताउदै सचेतना आवश्यक रहेकोमा उनले जोड दिए । अहिले पनि हाम्रो समाजमा क्षयरोग भएका बिरामीहरु खुलेर आउन नसकेकाले उपचार गर्न समस्या रहेको उनको भनाइ छ ।
पढेलेखेका शिक्षित परिवारमा पनि यो रोग लुकाउने गरेको पाइएको उनले जानकारी दिए । नेपालमा प्रत्येक वर्ष ४० हजार क्षयरोगीहरु थपिने गरेको तथ्यांक कार्यक्रममा जानकारी दिइएको थियो । यस्तै नेपाल क्षयरोग निवारण संस्था मोरङका अध्यक्ष राजन श्रेष्ठले क्षयरोगीको संख्या प्रत्येक वर्ष वृद्धि भएकाले सबै मिलेर क्षयरोगीको पहिचानमा जोड दिनुपर्ने बताए ।