एजेन्सी,मंसिर १६
इटालियन सिरी ए अन्तर्गत शनिबार सम्पन्न खेलमा युभेन्ट्सले फिओरेन्टिनालाई हराउँदै लिगमा अपराजित यात्रा जारी राखेको छ ।अवे मैदानमा भएको खेलमा साविक विजेता युभेन्ट्सले ३–० को जितसँगै शीर्ष स्थानमा ११ अंकको अग्रता कायम गरेको छ ।
नियमित मिडफिल्डर मिरालेम प्यानिच चोटका कारण अनुपस्थित हुँदा उनको स्थानमा खेलिरहेका रोड्रीगो बेनटान्कुरले युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । उनले ३१ औं मिनेटमा पाउलो डिबालासँग वन टु पासको सदुपयोग गर्दै पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गोल गरेका थिए ।
त्यस्तै दोस्रो हाफको ६९ औं मिनेटमा कप्तान जिओर्जियो किएलिनीले पनि गोलको खडेरी तोडे । किएलिनीको प्रहारलाई फिओरेन्टिनाका गोलरक्षक अल्बान लाफोन्टले पन्च गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो ।
रोनाल्डोले ७९ औं मिनेटमा लिगको १० औं गोल गरे । युभेका फरवार्ड मारियो मान्जुकीचले दिएको क्रसलाई फिओरेन्टिनाका डिफेन्डर भिटोर ह्युगोले हातले रोकेपछि प्राप्त पेनाल्टीमा रोनाल्डो चुकेनन् । रोनाल्डोले टप कर्नरमा गोल गरेपछि खुसियाली मनाउने क्रममा बललाई बाहिर हानेपछि रेफ्रीले उनलाई पहेंलो कार्ड देखाएका थिए ।
सिजनको सुरुवातमा रियल छाडेर युभे आएका रोनाल्डो सिरी ए को सर्वाधिक गोलकर्ताको सुचिमा शीर्ष स्थानमा छन् । उनीसँगै जेनोआका क्रिस्टोफ पियाटेकको पनि १० गोल छ । रोनाल्डोले सन् २०१८ मा ३२ लिग गोल गरेका छन् । यो नै यस वर्षको सर्वाधिक गोल संख्या हो । रोनाल्डोलाई मेसीले २८ गोलमा पछ्याईरहेका छन् ।
शनिबारै भएको लिगको अन्य खेलमा एसपीएएल र एम्पोलीको खेल २–२ को बराबरीमा सकिएको थियो भने साम्पडोरियाले बोलोग्नालाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको थियो । साम्पडोरियाको जितमा अनुभवी फरवार्ड फाबियो क्वाग्लियारेल्लाले २ गोल गरे ।
युभेले यस जितसँगै १४ खेलमा १३ जित र १ बराबरी सँगै ४० अंक बनाएको छ । दोस्रो स्थानको नेपोलीले १३ खेलमा २९ अंक जोडेको छ ।