विराटनगर : नेपाल आयल निगम विराटनगर डिपोका लागि भारतीय आयल निगमबाट खरिद गरेर ल्याईएको डिजेल चोरी घटना अझै रहस्यमय बनेको छ ।
डिजेल चोरी घटनामा निगमले बनाएको छानबिन समितिले प्रतिवेदन बुझाएपनि सार्वजनिक नगरिएका कारण चोरीको रहस्य खुल्न नसकेको हो ।
सोही घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको भने अनुसन्धान जारी छ । डिजेल चोरी प्रकरणमा मुछिएका नेपाल आयल निगम विराटनगर प्रदेश कार्यालयका निर्देशक दिनेशकुमार यादवले बुधबार पत्रकार सम्मेलन गरी आफ्नो संलग्नता नरहेको दाबी गरे ।
तर उनले कसरी चोरी भयो भन्ने कुराको जवाफ दिएनन् । छानविन समितीको प्रतिवेदन सार्वजनिक नभएकोले आफुले बोल्न नमिल्ने भन्दै आफैँले आयोजना गरेको पत्रकार सम्मेलनमा चोरीको कारण बताउन चाहेनन् ।
उद्योग, वाणिज्य तथा आपुर्तीमन्त्री मातृका यादवसँग प्रत्यक्ष सम्बन्ध भएका यादवले पत्रकार सम्मेलन पनि मन्त्रालयकै सुझाव अनुसार गरेको बताए ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।