विराटनगर, मंसिर २०
संघीय सरकारले एक नं प्रदेशलाई हस्तान्तरण गरेका दुई वटा ठूला आयोजना फेरि संघले केन्द्रमै तानेको छ । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा बजेटसहित प्रदेश सरकारलाई हस्तान्तरण गरेको नँया शहरी आयोजना र जनता आवास कार्यक्रम संघमा तानेको हो ।
प्रदेश सरकारले रातो किताबमा समेत राखेको आयोजना प्रदेश सरकारलाई जानकारी समेत नदिई पुन संघमा तानेको हो । शहरी विकास मन्त्रालयले एक महिना अघिमात्र ती आयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । प्रदेश सरकारले ती आयोजना कार्यान्यनका लागि प्रक्रिया अगाडी वढाउने तयारी गरिरहेको थियो ।
यही बेला प्रदेश सरकारलाई पनि जानकारी नदिई पुन संघीय सरकार अन्तर्गतको प्रदेश शहरी बिकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वय इकाई मार्फत काम अगाडी बढाउने तयारी गरेको हो ।
शहरी बिकास तथा भवन निर्माण एक नं प्रदेश कार्यालयका प्रमुख दिगम्बर ठाकुरले संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका नँया शहर निर्माण आयोजना र जनता आवास कार्याक्रम कार्यान्यनका लागि प्रकृया अगाडी नवढदै पुन संघले तानेको जानकारी दिए । उनले संघले चालु आर्थिक बर्षका लागि बजेटसहित यी दुई कार्यक्रम प्रदेशलाई हस्तान्तरण गरेको स्मरण समेत गरे ।
संघले हुलाकी राजमार्ग अन्तर्गत मोरङको रंगेलीमा नँया शहर निर्माण आयोजनाका लागि ३ करोड रुपैया छुटाएको थियो ।त्यसै गरी जनता आवास कार्यक्रमका लागि १ अर्ब १ करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
जसमा यो कार्यक्रम प्रदेश नं. १ अन्तर्गतका मोरङ, सुनसरी र उदयपुरमा सञ्चालन हुने थियो । शहरी बिकास तथा भवन निर्माण एक नं प्रदेश कार्यालयले यी दुबै आयोजना योजना स्विकृतका प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वधार तथा बिकास मन्त्रालयमा पठाएको थियो ।
जसमा यी दुई कार्यक्रम मन्त्रालयबाट स्विकृत हुने चरणमा रहेका थिए । प्रदेश कार्यालयले चालु आर्थिक बर्षका लागि संघले हस्तान्तरण गरेका यी दुई सहित विराटनगर चक्रपथ, कार्यालय मर्मत सुधार शिर्षकका लागि कार्यक्रम स्विकृतका लागि मन्त्रालय पठाएको थियो ।
कार्यालयले क्रमगत योजनाका लागि ४ करोड ९५ लाखको चक्रपथ र मोरङ तथा सुनसरी दुई जिल्लामा कार्यालय मर्मतका लागि भनेर ३५ लाख रुपैयाका कार्यक्रम मन्त्रालयबाट स्विकृत हुने चरणमा रहेको छ । प्रदेश सरकारले कार्यक्रम कार्यान्वयका लागि भखरै मात्र संरचना निर्माण गर्ने क्रममा रहेको छ ।