विराटनगर, मंसिर २१
विराट आदर्श साहित्यिक मञ्चले शुक्रबार स्रष्टा र सिर्जना कार्यक्रम आयोजना गरेको छ । विएफएमसँगको सहकार्यमा आयोजित कार्यक्रममा कवि विवश पोखरेल र झापाकी गजलकार कल्पना आचार्यले ५–५ वटा कविता र गजल प्रस्तुत गरेका थिए ।
पोखरेलले कविताको बीचबीचमा मुक्तक पनि सुनाएका थिए । कार्यक्रममा वरिष्ठ गायक एलपी जोशी र चितवनका कलाकार मुकुन्द खलपात्रलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
उनीहरुलाई प्राज्ञ विवश पोखरेल, मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदित, हिसान मोरङका अध्यक्ष बलराम पन्त, मञ्चका अध्यक्ष कटवाल दीपक, संस्थापक अध्यक्ष विनोद दाहाललगायतले सम्मान गरेका थिए ।
जोशी ६ दशकभन्दा लामो समयदेखि गायन क्षेत्रमा सक्रिय छन् । उनको ‘रिटिङ–रिटिङ नबजाऊ बिनायो’ बोलको गीत चर्चित छ । त्यस्तै कार्यक्रममा गजल गायक राज सिग्देलले आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा मञ्चका नयाँ सदस्यहरुलाई सदस्यता परिचयपत्र वितरण गरिएको थियो ।