ईपीएलको तेस्रो संस्करण भव्यताका साथ सुरु हुँदै, यस्ता छन् प्रत्येक टोलीका खेलाडी

काठमाडौं,मंसिर २१
नेपाली घरेलु क्रिकेटमा सर्वाधिक लोकप्रिय प्रतियोगिता टिभीएस एभरेष्ट प्रिपियर लिग (ईपीएल) को तेस्रो संस्करण शनिबार देखी काठमाडौँको टीयू क्रिकेट मैदानमा सुरु हुँदैछ ।

प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाएका छन् । १९ खेल हुने प्रतियोगिता १५ दिनसम्म चल्नेछ । यस पटक दक्षिण अफ्रिकी ओपनर ब्याट्सम्यान रिचर्ड लेभी, नेदरल्यान्ड्सका रायन टेन डोस्काटे, स्कटल्यान्डका काइल कोट्जर र आइरिसद्वय पल स्टरलिङ र केभिन ओ ब्राएनसम्मका स्टार क्रिकेटर ईपीएल खेल्दै छन् । त्यस्तै विदेशी कमेन्टर, वेलायती चियरलिडर्ससँगै दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न कार्यक्रम आयोजना गरिनेछ ।

दर्शकहरुका लागि लक्कि ड्र मार्फत हरेक दिन विभिन्न उपहार साथै छक्काको बल एक हातले क्याच लिए रु ५० हजार पाउने छन् । त्यसैले पनि ईपीएल विशेष हुने छ । ईपीएलको उपाधि राशी भने घोषणा गरिएको छैन । आयोजकले केहि दिनमा सार्वजनिक गर्ने बताएको छ ।

ईपीएलमा काठमाडौं किंग्स इलेभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारीयर्स, भैरहवा ग्ल्याडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोज गरि ६ टिम रहेका छन् । राउण्ड रोविनका आधरमा हुने प्रतियोगितामा शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउने छन् । शनिबार उद्धघाटन खेलमा कप्तान पारस खड्का रहेको विराटनगर वारियर्सले ज्ञानेन्द्र मल्लले सम्हालिरहेका ललितपुर प्याट्रियट्सको सामना गर्ने छ । खेल दिउँसो १ वजेपछि टियू मैदानमा सुरु हुने छ ।

यस्ता छन् ईपीएल खेल्ने टीम र खेलाडी :

विराटनगर वारीयर्स

वारियर्सको कप्तानी पारस खड्काले गर्ने छन् । विराटनगर गर्त वर्षको विजेता टोली हो । फाइनलमा भैरवाहलाई १ रनले हराउँदै उपाधि जितेको थियो । यस पटक पनि विराटनगरको पुख्य लक्ष्य उपाधि जित्ने नै रहेको छ ।

विराटनगरमा हङकङका पुर्व कप्तान तथा ब्याटिङ अलराउण्डर बावर हायत, नेदरल्यान्डका पाउल भेन मिकरेन, पूर्व दक्षिण अफ्रिकी तथा हाल डच खेलाडी रोलोफ भेन डर मर्वलगायतका विदेशी खेलाडी छन् । त्यस्तै आशिफ शेख, अनिलकुमार शाह, करण केसी, वसन्त रेग्मी विराटनगरका मुख्य हतियार हुन् ।

भैरहवा ग्ल्याडीयटर्स

शरद भेषवाकर भैरहवा ग्ल्याडीयटर्सका कप्तान हुन् । घरेलु लिगमा सर्वाधिक लक्की मानिने भेषावकर गतवर्ष ईपीएलको उपाधि चुम्न १ रनले चुकेका थिए । यस वर्ष भैरवाहले विदेशी खेलाडीको रुपमा नेदरल्यान्डका ब्याटिङ अलराउण्डर रायन टेन डोस्काटे, यूईका तीव्र गतिका बलर मोहम्मद नाविद र भारतीय ब्याट्सम्यान रवि इन्दर सिंहलाई टोलीमा भित्र्याएको छ । डोस्काटे एसोसिएट स्टार खेलाडीको रुपमा चिनिन्छन् । त्यस्तै भैरहवामा युवा खेलाडी हरिशंकर शाह, आरिफ शेख, रोहित कुमार पौडेल, प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, भुपेन्द्र थापा जस्ता खेलाडी छन् ।

काठमाडौं किंग्स इलेभेन

यस वर्ष इलेभेनको कप्तानी सोमपाल कामीले गर्ने छन् । विदेशी खेलाडीको रुपमा आयरल्यान्डका केभिन ओ ब्रायन, यूएइका कप्तान रोहन मुस्तफा र आईपीएल खेली सकेका भारतीय प्रदीप साहू छन् । प्रदीप जिम्बावेका सिकन्दर राजाको स्थानमा आएका हुन् । त्यस्तै काठमाडौमा अमित श्रेष्ठ, सागर पुन, नरेश बुढाएर, सिद्धान्त लोहनी, राजु रिजाल, अमरसिंह राउटेला, बिक्रम भुषाललगायत रहेका छन् ।

पोखरा राइनोज

पोखराको कप्तानी स्कटल्यान्डका काइल कोट्जरले गर्ने छन् । दक्षिण अफ्रिकाका ओपनर रिचर्ड लेभी पनि पोखराबाट खेल्ने छन् । ईपीएलमा यस वर्ष लेभी सर्वाधिक ठूला नाम अर्थात उच्च स्तरका खेलाडी हुन् । पोखरामा लेभीसँगै इङ्ल्यान्डका अलराउण्डर पाउल कोग्लिन र हङकङका सन्नी भिमसारिया छन् । त्यस्तै अस्ट्रेलियन कोच नाथन डोडले पोखराको प्रमुख प्रशिक्षक सम्हाल्ने छन् । शक्ति गौचन, सुनिल धमला, विनोद भण्डारी, सौरभ खनाल, सुसन भारी, विक्रम शोब, राजेश पुलामी मगर पोखराका मुख्य खेलाडी हुन् ।

चितवन टाइगर्स

चितवन टाइगर्सको कप्तानी पुथु बास्कोटाले सम्हाल्ने छन् । विदेशी खेलाडीको रुपमा चितवनले इंग्ल्यान्डका जोन सिम्पसन, जर्ज स्कट र टेस्ट राष्ट्र आयरल्यान्डका विष्फोटक ओपनर ब्याट्सम्यान पाउल स्टर्लिङलाई भित्र्याएको छ । दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ, भिम सार्की, ललितसिंह भण्डारी, साहव आलम, कमलसिंह ऐरी हाल चितवनमा रहेका छन् ।

ललितपुर प्याट्रियट्स

ललितपुरको कप्तानी राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले गर्ने छन् । ललितपुरबाट भारतीय सन्नी पटेल, जय किशन कोल्सावाला र गौरभ तोमर विदेशी खेलाडीका रुपमा रहेका छन् । त्यस्तै सन्दीप लामिछाने, पवन सराफ, ललितनारायण राजवंशी, कुशल भुर्तेल, राशिद खान, सन्दीप जोरा, सोनु तामाङ ललितपुरका मुख्य हतियार हुन् ।(हाम्रो खेलकुदबाट)