काठमाडौं,मंसिर २३
नेपालका लेग स्पिनर सन्दीप लामिछाने चर्चित अष्ट्रेलियन लिग बिग ब्यास लिग (बीबीएल) मा भाग लिन आज अष्ट्रेलिया प्रस्थान गर्दै छन् ।
सन्दीप आज राति ९ बजेर ५५ मिनेटमा सिल्क एयरबाट अष्ट्रेलिया प्रस्थान गर्न लागेका हुन् ।यो सँगै सन्दीपले घरेलु प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको बाँकी सबै खेल गुमाउने छन् ।
सन्दीपकै उत्कृष्ट बलिङमा ललितपुर प्याट्रिएटसले आज चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको थियो । सन्दीपले ३ विकेट लिएका थिए । सन्दीपले उद्घाटन खेलमा विराटनगर वारियर्सविरुद्ध शनिबार दुई विकेट लिएका थिए ।
बिग ब्यास लिगको टिम मेलर्बोन स्टार्समा आबद्ध सन्दीपले जनवरी पहिलो साता फेरी बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश आउने छन् ।
बंगलादेश प्रिमियर लिगमा सन्दीपले सिल्हेट सिक्सर्सबाट खेल्ने छन् । बंगलादेश प्रिमियर लिग क्रिकेट सकेपछि पुनः सन्दीप बिग ब्यास खेल्न जाने छन् ।