एजेन्सी,मंसिर २६
जारी च्याम्पियन्स लिग अन्तरगत सर्वियन क्लब रेड स्टारलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै पीएसजी नकाउट चरणमा प्रवेश गरेको छ ।
अग्रपङ्तीका तीनै फरवार्ड नेयमार, केलियन एमबाप्पे र एडिन्सन काभनीले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेडस्टारमाथि फराकिलो जित निकालेको हो ।
पीएसजीका मार्किनेसले गोल गर्दा रेड स्टारका मार्काे गावेजिकले एक गोल फर्काए । रेड स्टारको मैदानमा मंगलबार राति भएको खेलमा पीएसजीले १०औं मिनेटमा एडिन्सन काभनीको गोलबाट खेलमा अग्रता बनाएको थियो ।
उनले केलियन एमबाप्पेको पासलाई सदुपयोग गरे । ४०औं मिनेटमा नेयमारले गोल गरेपछि पीएसजीले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा पीएसजीले थप दुई गोल गर्दा एक गोल खाएको थियो । ५६औं मिनेटमा मार्काे गोवेजिकले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए । तर, त्यसपछि पीएसजी खेलमा फर्किदै थप दुई गोल गर्न सफल भयो ।
७४औं मिनेटमा एन्जल डि मारियाको पासलाई मार्किनोसले गोल गर्दै खेललाई ३–१ को अवस्थामा पुर्याए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ४–१ को जित दिलाए ।
जितपछि पीएसजी समूह ‘सी’ को विजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुगेको छ । पीएसजीले समूहको ६ खेलमा ३ जित, २ बराबरीसँगै १ हार बेहोर्दै ११ अंक जोड्यो । रेड स्टार भने यसअघि नै समूह चरणबाटै बाहिरिसकेको थियो ।