विराटनगर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च तिर्न नसकेका आफन्तलाई शव बुझाउन दिएको निर्देशनलाई नोवेल मेडिकल कलेज विराटनगरले अवज्ञा गरेको छ ।
उपचार खर्च तिर्न नसकेको भन्दै तीन दिनदेखि कटहरी गाउँपालिका– ३ निवासी ३२ वर्षीय दिपक मिश्रको शव अस्पतालले उठाउन दिएको थिएन ।
मन्त्रालयले बिहीबार अस्पताललाई शव आफन्तलाई जिम्मा लगाउन निर्देशन दिएको थियो । तर, अस्पतालले उपचार खर्चमा ५० प्रतिशत छुट दिएर बाँकी रकम लिई शव आफन्तलाई जिम्मा लगाएको हो ।
दुर्घटनामा परी गम्भीर घाईते भएका मिश्रको विगत पाँच महिनादेखि नोवेल मेडिकल कलेजमा उपचार भईरहेको क्रममा मंगलबार दिउँसो ११ बजे मृत्यु भएको थियो ।
मिश्रको उपचारमा लागेको खर्च बुझाउन नसक्दा अन्तिम संस्कारका लागि अस्पतालले शव नदिएको समाचार प्रकाशित भएपछि मन्त्रालयले अस्पताललाई शव जिम्मा लगाउन निर्देशन दिएको थियो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।