एजेन्सी, मंसिर २८
जारी युइएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले अजरबैजानको क्वारावाग एफसीमाथि १–० को कठिन जित निकालेको छ । इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलमा एलेक्स लाकाजेट्टीको एकमात्र गोलमा आर्सनलले क्वारावागमाथि झिनो जित निकालेको हो ।
लाकाजेट्टीले खेलको १६औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । उनले मेसुट ओजिलको पासमा गोल गरेका थिए । दुवै टोलीले केही प्रयास गरेपनि त्यसपछि थप गोल हुन नसक्दा आर्सनल विजयी हुन सफल भयो ।
यससँगै आर्सनलले युरोपा लिग फुटबलको समूह चरणमा अपराजित रहँदै समूह ‘ईं’ को विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा पुग्न सफल भयो भने क्वारावाग ३ अंक जोडेर पुछारमा रह्यो ।
यही समूहको अर्काे खेलमा स्पोर्टिङ लिस्वनले भोर्सकालाई ३–० ले पराजित गर्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भयो । स्पोर्टिङको जितमा फ्रेड मोन्टेरो र मिगुइल लुइसले गोल गर्दा एक गोल उपहार पाएको थियो ।स्पोर्टिङले ६ खेलबाट १३ अंक जोड्यो भने भोर्सका ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।